~राम कुमार ‘दिल्लगी’~
जब म आफ्नै खुट्टामा उभिएर
यो रंगिन दुनियाँ हेर्न खोजे
समयले मेरो कलम चलाउने हातमा
बन्दुक राखिदियो
आजभोली मलाइ कलम भन्दा बन्दुक प्यारो लाग्छ
यो चिसो पानी भन्दा तातो खून पिउनमा मज्जा लाग्छ
रात फ्यालेर खुनले धर्ति लिपेर जब ओर्लिन्छ बिहानी
मलाइ झन् झन् यो मानिसहरु
यो समाजहरु र यो देशले अपराधी र खुनी बनायो
यो लामो पक्कि सडक
जहाँ मेरो बुवा र मेरो बुवा जस्तै हजारौं मजदुरहरुले
खुन पसिना बगाएर बनाएका थिए
अहिले हेर्दा खाल्डो खाल्डो बनेछ
खाल्डो भरि पानी जमेर घिसिङ्ग बाजेको असि बर्षे
चाउरी परेको गाला जस्तो कुरुप बनेछ
यो खेत बारीहरु
जहाँ मेरो आमा र मेरो आमा जस्तै हजारौं आमाहरुले
धान मकै कोदो र गहुँ फलाएर असंख्य मानिसहरु पालेका थिए
अहिले हेर्दा
ऋणको बोंझले निदाउन नसकेका भरियाहरु
राँकोको उज्यालो तोक्मा र खकनको भरमा
कहिले डाँडा माथि कहिले डाँडा मुनि गर्दा गर्दा
सिमेन्टको बोरा जस्तो बनेको शरीर
दिनाहूँ गाडी कुद्ने मोटर रोड बनेको थाप्लो
अनि चरचर चिरिएको पैताला जस्तो बनेछ खेतबारीहरु
यो ठुलो बिधालय
जहाँ मेरो दिदि भाइ र
मेरो दिदि भाइ जस्तै सयौं दिदि भाइहरु पढ्थे
अहिले हेर्दा भग्नावेषहरु मात्र बाँकी रहेछ
झारहरू उम्रेछ बनमाराहरु फुलेछ
भएछ त केवल भुतबिधालय
मैले आफुलाई जब चिन्न थाले
भोकले मेरा पेटमा सारंगी बजाइएको थियो
जाडोले मेरा यी हातखुट्टाहरु लक्लक काँपीरहेको थियो
मेरो भोक सपना र भविष्य
जुनकिरीको उज्यालो अनि शुन्य आवाज मात्र भयो
मलाइ ज्यादै डर लाग्छ
यो भजनहरु यो गीतहरुदेखि
किनकि मानौ यो भजनहरु यो गीतहरु
एक बेसाहारा टुहुरा बालकहरुको सालिन आवाज हुनुपर्छ
दिनाहाडै बालत्कार बनेकी दिदि बहिनीको अन्तिम चित्कार हुनुपर्छ
बिधालय गएका बिधार्थिहरुको
आफ्नै गुरुहरुले अपहरण गरेको हुनुपर्छ
कि त बिहानै खेताला गएका श्रीमान
साँझको अबेरसम्म नआउदाको अमिलो शंका हुनुपर्छ
म झन् झन् किन यति क्रुर बन्दैछु
किन बन्दै छु हँ यति क्रुर
मलाइ कसले बनायो यति क्रुर मान्छे
म त हिमाल जस्तो मान्छे पो
म त गुराँस जस्तो मान्छे पो
म त आँखामा राखेनी नबिझाउने मान्छे पो
मलाइ कसले बनायो यति क्रुर मान्छे
यो पानीको फूल जस्तो मान्छेहरुले
यो हजारौं बर्षको मैल फ्याल्न नसकेको फोहोरी समाजले
कि रातदिन धुँवा रक्सि र रण्डीबाजी गर्ने वेश्या शहरले
अँह म विस्वास गर्दिन तिनीहरु झुठा छैनन्
तिनीहरु निर्दोष छन्
अफसोच फेरी कसले बनायो त यति क्रुर मलाई
कि देउताहरुले बनाए
कि छिमेकीहरुले बनाए
कि बर्षेनी लाखौं मुग्लान जाने युवाहरुले बनाए
कि आफ्नै गरिबीपनले बनायो
कि आफ्नै अज्ञानताले अरुको देखासिखिमा बनें
खुबै घिन लाग्छ मलाई
झन्डा बोकेका जुलुसहरु
सिसाका देवालहरुमा टाँगिएका ठुला ठुला
होर्डीङ्बोर्ड देश द्रोही अनुहारहरु
युध्दामा हारेर भाग्ने सिपाहीहरु
हातमा तलवार बोकेर पुस्तकालय जलाउने
अन्धा बिधार्थिहरु
यति गल्ति बोलेछु भने
तिमीहरु मलाइ सजाय दिन सक्छौ
मेरो आँखाहरु झिकेर उपहार दिनु
कसैको जन्मदिनको उपलक्ष्यमा
मेरो हाड मासु छाला छिलेर
भोक गिध्दाहरुलाई खुवाउनु
जब म आफ्नै खुट्टामा उभिएर
यो रंगिन दुनियाँ हेर्न खोजें
समयले मेरो कलम चलाउने हातमा बन्दुक राखीदियो।
(स्रोत : संगम साहित्य चौतारी)