हात्तिछाप चप्पल पड्काउँदै
पानी परेको साँझ
डिल्लीबजारको उकालो लाग्यो ऊ
सिंहदरबार अगाडि पुगेर रोकियो
आफ्नो सपनाजस्तै सुन्दर लाग्यो दरबार उसलाई
जो देख्न सकिन्थ्यो, तर प्राप्य थिएन ।
बिक्रम टेम्पो चड्यो लगनखेल जाने
भाडा तिर्न खल्ति छाम्यो
तीन रुपिँया रहेछ
साथमा बैनीले पठाएको दुईपाने चिठी पनि सम्झ्यो-
“घरमा बा बिरामी छन् छिट्टै उपचारको चाँजो मिलाउनुहोला।”
टेम्पोबाट ओर्लियो मङलबजारमा
पानी रोकियो
कपडा चिसा थिए उसैको जीवनजस्तै
सडकको दुरी नाप्न लाग्यो
गन्तव्य भेटिएन ।
बसापार्क पुग्यो लगनखेलको
लोडसेडिङ्ले गाँजेको रात पर झ्यालमा जुनकिरी बत्ति देखियो
सम्झियो, कलेजको रात्रि कक्षा
कोही रेडियोमा गाउँदै थियो “झरेको पात झै भयो . . . ”
आज ऊ त्यही बाटो आफ्नै गाडी चढेर
त्यही सिङ्हदरबार अगाडि पुग्यो
रातो बतीमा रोकियो गाडी
सिङ्हदरबार उस्तै रहेछ ब्यबस्था फेरिए पनि
त्यो उसकै अगाडि निरीह र पुड्के लाग्यो
लगनखेल पुग्यो ऊ, पुल्चोक हुँदै
साँझ त्यस्तै थियो
तर, पुसको जाडो उसलाई न्यानो नै लाग्यो
सडक उस्तै अन्धकार थियो तर हेडलाइटले उसको बाटो देखाउँथ्यो
सम्झियो रश्मिले भनेको, ” भरे क्याण्डिल लाइट डिनर जानुपर्छ है, मैले भन्दिया छु नि !”
कतै फेरि रेडियो बज्दै थियो “म त लालि गुराँस भएछु . . . ”
सोच्यो, साच्चै ऊ आज गल्लि गल्लिमा फुलेको छ
पाखा पखेरामा फुलेको छ
को चिन्दैन उसलाई काठ्माण्डौमा !
तिब्र बेगमा हुइकियो मारुति
सडकको खल्टामा जमेको पानी उछिट्टियो छरिएर
सडकपेटिमा श्यामे बिउझियो
हिलो अनुहार भरि परेछ
पुछ्यो थोत्रो ज्याकेटको बाहुलाले
सम्झियो ढुन्खर्कको छाप्रो
बुढी आमा
खोक्दै गरेको बुढो बाउ
अनि बहिनिले ऊ घरबाट हिद्ने बेला भनेकी-
“मलाई श्याम दाइले काठ्माण्डुबाट मोबिल ल्याइदिन्छ अनि म दोहोरी सुन्दै घाँस काट्न जान्छु, फुटो पनि खिच्छु, फेस्बुकाँ हाल्छु। ”
सायद ऊ सोच्दै थी “अनि त मेरो भक्तेको कति लाइक आ उँछ होला”
यतिबेला कर्णाली रेष्टुरेण्टमा क्यान्डिल लाइट डिनर चल्दै थ्यो।
श्यामे सुत्नै सकेन
आकासतिर हेर्यो,
रात अझै धेरै बाँकी थियो ।
(स्रोत : Umesh Chapagain’s Facebook )