~एकराज भट्टराई~
दिनु पर्छ भनेर
या दिन नसकेर
प्रिय, किनकिन अशान्त छ मन
विगतले पोलेन हृदयलाई
सभ्यताले संझाएन कर्तव्यलाई
समयले पो निचोरिरहेछ ।
कहिले भान्सामा कहिले गोठमा
बगरमा गिटी कुटेका दिनहरु।।
छउपडीमा बितेका तिम्रा रातहरु
दाउरा,खेत र नुनका ढाकरमा अक्षरविहीन तिम्रो इतिहास
के यसलाई बदल्न सक्तिनौ ?
म मेरै कर्मले थाकिसकें
पुरुष हुनुको बोझले निउरिसकें
वशिष्ठ र इन्द्रले जे सिकाए परम्परा त्यही अपनाएँ
म कन्जुस छु प्रिय!
दिन सक्तिन
यो मेरो वर्तमान पनि हो
पुरुष हुनुको मेरो अहंलाई हेरेर
प्रकृति भन्दा , माथि उठेका मान्छेको कथालाई पढेर
अफ्नो भविष्यका लागि
नयाँ इतिहास लेख्न सक्तिनौ ?
के तिमी युगको अवाज बोल्न सक्तिनौ ?
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )