विश्व शान्तिको लागि
मौनधारण गर्दा-गर्दै
मैले सोचें –
कती लामो छ समय!
एक मिनट
विध्वंश गर्नेहरुका लागि
काफी हुन्छ एक मिनट
सिर्जना गर्नेहरुका लागि
छोटो हुन्छ।
कयौं जन्मन्छन्-एक मिनटमा
कयौं मर्छन्-एक मिनटमा
एक मिनट
छोटो हुँदा हुँदै पनि लामो छ
प्रकोपको लागि धेरै हुन्छ
एक मिनट
प्रकृतिको लागि छोटो हुन्छ
बुझ्नुपर्छ समय
कसैलाई ‘बिताउन’ मुस्किल पर्छ
कसैलाई ‘नपुग’ भएर मुस्किल पर्छ
एक मिनटमा
कयौं गोलिका पर्राहरु छुट्न सक्छन्
कयौं बस्ती खरानी हुन सक्छन
तर गाह्रो हुन्छ
एक मिनटमा
हजारौ चुलाहरु बाल्न
हजारौ आङहरु ढाक्न
एक मिनटमा
विउ उम्रिदैन
फूल लाग्दैन
यती बुझ्नुपर्छ
एक मिनटमा
राम्रो कामको शुरुवात गर्न सकिन्छ।
“आकाशमाथिको देवता” कबिता संग्रह- २०५९
(स्रोत : Shabdahar )