” बौलाही !” तत्कालको अवस्थाले जुराई दिएको मेरो नाम l प्रिय अप्रिय जे भए पनि मलाई राखिएको नामसँग मेरो कुनै गुनासो छैन l बिहानको झिसमिसे देखि यो शहर ननिदाउदासम्म मलाई यही नामले पुकार्छ l बडो गजब छ यो शहर l सम्साझै उज्यालोको लागि बत्ती बाल्छ तर आफू भने बत्ती मुनिको अँध्यारो भएर बस्न रुचाउछ l म बोल्न चाहन्न यो शहरसँग र पनि तारन्तार बोलाइरहन्छ यही नामले l मैले रात बिताउने पाटि पौवाका भित्ताहरूमा ठोक्किएर मेरै कानैमा आएर मलाई गिज्याउछ मेरै उपनामले l
म कहा जन्मिए कसको कोखमा हुर्किए, मेरो अस्तित्व, मेरो नाम र ठाउ ठेगानसँग यो शहरले कहिल्लै वास्ता राखेन l म जहा जान्छु,जहा बस्छु त्यही पुग्छ र गिज्जाएर बोलाउछ – “बौलाही!”
फिस्स हासी दिन्छु कटकटिएका मेरा ओठहरू चलाएर l मेरा शरीरमा बेरिएका थोत्रा लुगाहरू देखेर मेरो शरीरको चालढाल देखेर यो शहर पनि खिसिट्युरीमा हास्छ मसक्क मस्किएर l हरेक रात यो शहर रमाउछ कोखिलाभरि प्रेम च्यापेर अनि खुल्ला झ्यालबाट आफ्नो चोरी औलाले म तर्फ देखाएर भन्छ – “ऊ बौलाही!”
खुल्ला आकाशमुनिको पौवाको एउटा कुनामा बसेर आजभोलि हरेक रात मैले यो शहरमा देखिने ठुला महलका अँध्यारो कोठामा विच्छाइएका यौवनताका बिछौनाहरू सम्झन्छु अनि धिक्कार्छु म र म जस्तै पागल बनाइएका विवश महिलाहरूका जिन्दगी देखेर l
मनभरी आशाहरू जगाएर तारे भिरका अप्ठ्याराहरूमा चुएत्रो र ऐसलु बटुल्दै मैले मेरो बालापन हुर्काए l कसैले पुरानो भनेर दिएको रातो रिबनको फुर्को सजाएर लहलाउदो कपाल सम्हाले l खाएर बढी भएको आटो ढीड़ो र खोलेको साग हासिखुसी खाएर मैले आफूलाई हुर्काए l मेरो यही स्वच्छ मनलाई देखेर कसैले मेरो नाम जुराइदियो-” मनमाया ”
आमाको न्यानो कोख मैले जानिन,बाबुको वात्सल्य माया मैले बुझिन र पनि मेरो श्रमलाई माया गरेर मेरो पेट भरिदिने सबै गाउले मेरा आफन्त भैदिए l सूर्य उदाएदेखि नअस्ताउदासम्म सबैकी मनमाया l पानी पधेरो देखि स्याउलिपाखाको जंगलसम्म सबैकी मनमाया l आखिर बिक्ने मन रहिनछ बिक्ने त श्रम पो रहेछ l तर पनि मेरो नाम श्रममाया जुरेन l मनमाया जुर्यो अनि म पनि भैदिए” मनमाया ” l
हरेक दिनको उज्यालोमा सूर्य उदायो अनि हरेक साझमा अस्तायो l सूर्य उदाउनु र अस्ताउनुको कहिले पनि मैले हिसाब किताब राखिन l तर मेरो जीवनले मसँग हिसाब किताब राखिरह्यो l मेरो बालापनमा क्रमस यौवनताहरू भरिदै गए l एक दिन- दुई दिन गर्दै मेरा यौवनताहरूलेनै मलाई जिस्काउन थाले l हिजोसम्म मेरो श्रमलाई माया गर्नेहरू अब मेरो यौवनतालाई माया गर्न थाले l म फुर्किए यौवनताले ल्याइदिएको मेरो रुपरंग देखेर l कुत्कुताउदो बैशले सुस्त सुस्त म आफै लाखेटिन थाले l हिजोसम्मको आफ्नो फूल जस्तो हलुङ्गो शरीर आफूलाई नै भारी लाग्न थाल्यो l कसैका दया माया र जडौरी बापत पाएका लुगाहरूले अब मैले आफ्नो बैश ढाक्न नसक्ने भए l म बात्तिए हवासरी अनि उड्न थाले बेगबान आकाशमा उड्ने चरी सरि l उन्मुक्तिको उडान भरेर संसार घुम्ने मेरो बैश अचानक कुनै पुरुषको दिलमा गएर उम्कनै नसक्ने गरी ठोक्कियो l पुरुष गन्धको मिठासमा बैशका मेरा सारा पेवा सम्पत्तिहरू एकएक गरेर बुझाए l नारी प्रेममा आशक्ति भएपछि मैले पुरुषबाट फेरि नया नाम पाए मनमायाबाट ‘दीलमाया ‘ l यात्राका हरेक पाइलाहरूमा उसले मलाई पच्छ्यायो र साथ दियो अनि पुकार्यो – दीलमाया l हृदयकी रानी दीलमाया l जसरी समयहरू बित्दै थिए त्यसै गरी मेरा बैशका शृंगारहरू पनि भरिदै थिए l प्राय:एक्लो हुदा यिनै बैशसँग जिस्किएरआफ्नै बैशलाई हेरेर भन्थे -” हेर मनमाया यिनै गहनाहरूले सजिएर आज त दिलमाया पनि भइस ” l
झरी बादलले ढाकेको रात मेरा उन्मक्त बैशसँग एक्लै खेल्दै थिए l अचानक अपरिचित लोग्ने मान्छे कोठामा पसेर मलाई अंगालोमा राख्दै भन्यो – ” अर्काको दिल बेचेर धन कमाउनेहरु कहिल्लै आफ्नो हुदैन मनमाया l ”
म निस्सासिए चिच्याय तर मेरो केहि लागेन l उर्लदो बैशबाट मात्तिएर चम्किएको बिजुलीको गडयाङ्ग गुडुङ्गको आवाजमा मेरा सालिन र शिथिल आवाजहरु कोठाको चार दिवार भित्र कैद भएर तिनै अपराधीहरुलाई समर्थन गर्न पुगे l निर्दोष निष्कलंकित एउटी नारीलाई धन र दौलतको आडम्बरबाट प्राप्त भएको बैशको तातो रापमा पोल्दै अट्टहास हासो हासेर नारीको इज्जत र सम्मानको धज्जी उडाइ रहेकका पापीहरु गमक्क फुलेर आफ्नो बहादुरीमा गर्ब गरि रहेका थिए l नारीलाई खेलौना ठानी बस्तु सरह बेचेर आफ्नो पेट भर्न लाज नमान्ने लोग्ने भनाउदो रक्सीको मातले लठठिएर कोठाकै ढोकामा उत्तानो परेर डङ्गरंङ्ग पल्टिएको थियो l गुहार मागु यो शहरले चिन्दैन l भागौ पुरुष शक्तिको अगाढी मेरा प्रयास केवल लाचारिता सिबाय केहि हुने छैनन l
लोग्ने भनाउदो पुरुषलाई उठाएर उसको मुखभरी थुकिदिए l यहाभन्दा बढी यो एकान्त घरमा अनि बाहिरको यो अत्यासलाग्दो मौसममा मैले के नै गर्न सक्थे र l मेरो बिबस्तामा खेलेर मजाक गर्ने पुरुहहरु बाट म घेरिएको थिए lरोए धित मरुन्जेल मेरो आफ्नै मन संग l
” मनमाया तँ अब नत मनमाया रहिस नत दीलमाया नै l हो म तेरो लोग्ने बनिदिए यो शहरसम्म आइपुग्नको लागि l मेरो यो पेसा थियो मैले गरे l अब तैले पनि तेरो पेसालाई बुझेर यो शहरमा बाच्न सिक l धन बिना तैले बोलाउदा पनि यो शहर बोल्ने छैन l बरु आइज मसँग सम्झौता गर ताकि हामी दुवै मिलेर यो शहरसँग खेलेर बाच्न सिक्नेछौ l” कति खुलस्त भएर निर्धक्कका साथ उसले आफ्नो इच्छालाई व्यक्त गर्यो l
नारीको इज्जत र प्रतिष्ठालाई उसले कौडीको भाउ पनि ठानेन l उसले सोचे होला नारी यो धर्तीमा केवल पुरुषको खेलौना बन्न भनेर जन्मेकी हो l उसको आफ्नो मूल्य र मान्यता भन्ने कुनै चिजनै हुदैन l ऊत यो धर्तीमा जन्मिन्छे केवल आफ्नो रुप र बैशलाई बेच्न भनेर l उसका अव्यक्त मनका भावहरू उसको अनुहारभरि छरपष्ट भैरहेका थिए l नचाहेर पनि मैले उसको अनुहारमा लिपिबद्द भएर नारीको अबमूल्यन गर्ने पुरुषभावहरू पढिरहेकी थिए l म त्यहा केही बोलिन l बोल्नुको कुनै तुक पनि थिएन l पैसाको बिटोले मेरो मुखमा हानेर ऊ गर्भले छाती फुकाएर बाहिर निस्कियो l कोठाभरी फ़िजारिएका काला धनका नोटहरूले मेरो कमजोरी मेरो अवस्थाअनि म नारी भएर जन्मिएकोमा ब्यङ्ग गरिरहेका थिए l
आँधी तुफान सहितको कालो रातले अब मलाई दीलमायाबाट धनमायामा परिणत गराएको थियो l.मैले मेरो बालापन सम्झिए अनि सम्झिए ती चुएत्रा र लालीगुराँस फुल्ने पाखा पखेराहरू l कति मस्त भएर स्वतन्त्र रुपमा मैले मेरा बनपाखा र तारे भिरलाई लोक भाकामा गीतहरू सुनाउथे l खै कहिल्लै मबाट कुनै प्राप्तिको आशा गरेनन l मेरो शरीरका फोहोर समेत पखालिदिने ती ढुंगे धारा अनि नागबेली जस्तै बग्ने खोलाहरूले पनि कहिल्लै पनि मसँग सट्टाभर्नाको माग गरेनन l तिनै गाउ बस्तीको स्वच्छ हावामा हुर्किएका मेरा निष्कलंकित आफन्तहरूले जुराइदिएको मेरो मनको नाम मनमाया आज बदनाम भएर धनमायामा परिणत भएको छ l
बिहानको उज्यालोमा मैले उसको घर छोडिदिए l अपरिचित यो शहरका हेरेक गल्लीहरूमा मेरो भोको पेटको लागि गुहार मागे l अँह यो शहरले कहिल्लै मेरो भोको पेटको अंतरनादलाई बुझेन l पाइला-पाइलाहरूमा अपमान र बेइज्जतिका थुप्रै धारिला काढाहरू बिझेर रगत मुच्छेल भएका पैतालाका नमेटिने डोबहरू यिनै शहरका फराकिला सडकहरूमा बनिरहदा एउटी नारीको अस्मिता जोगाइ माग्न बिन्तीभाउ बिसाउदै हिडे l अँह कहिल्लै यो शहरले मेरो वेदनालाई मलहम पट्टि समेत गर्न चाहेन l उत्पीडनबाट थाकेर कसैका ढोका चाहार्दा जो कसैले पनि मेरो बैशको माग गरे l नथाक्दा सम्ममा कहिले यो गल्ली कहिले ऊ गल्ली चहारे l मैले श्रम बेचेर आफ्नो शरीर पाल्छुभन्दा पनि मेरो बैश र रुपलाई देखेर हासोमा उडायो यो जिउदै मरेको हुनेखाने पैसा वालाको शहरले l भोक मेरा सहयात्री भैसकेका थिए l यिनै भोकहरूसँग खेल्थे लड्थे अनि जिस्कन्थे l कहिले भोकले जित्थ्यो कहिले मैले l मैले जित्दा पनि भोकले कहिले दुख मानेन मसँगै रह्यो l उसले जित्दा पनि मलाई कहिल्लै छाडेन ऊ मसँगै रह्यो l
एउटी नारीको बैशलाई ब्यापारको सामान जस्तै पोष्टर बनाई टासेर ठुला ठुला विज्ञापनका बोर्डमा झुण्डाएर ब्यापार गर्न खप्पिस यो शहरमा मैले सुनेको नारी समानता र नारी अधिकारको कुरा केवल देखाइने दात मात्र हुदा रहेछन l ठुला ठुला महलमा बसेर गरिने यस्ता किसिमका ब्यापारले हामी जस्ता अशिक्षित गाउलॆ नारीहरूलाई समानता र स्वतन्त्रता नभएर कसरी बजारको बिकाउ माल बनाउन सकिन्छ भनेर निर्णय गरिदा रहेछन l त्यसैले त होला हरेक चोक चोकमा नारीका अश्लिल तस्वीर बनाएर झुण्डाइन्छ र हरेक गल्लीहरूमा मसाज केन्द्र र डान्स बारका अनेक नाममा नारीको अस्मिता माथिको ब्यापार गरिन्छ l
मेरो भोको पेटको बाध्यतालाई बुझेर यो शहरले मलाई पनि डोरायो ती नारी स्वतन्त्रताका नाममा गरिने अबैधानिक ब्यापारिक केन्द्रहरूमा l विवशताको डोरीले बाधेर मलाई पनि नचायो डान्स बारहरूमा l मेरो यौवनताको भरिलो रस हुदासम्म नानाथरी नामबाट घुमायो नचायो यो सहरले हरेक गल्ली गल्लीहरूमा l जब म निचोरिएर सकिए अनि फालिदियो निकम्मा बनाएर खुलेयाम रित्तो हात लगाएर l
हो म त्यही मनमाया अन्तत्वगत्वा धनमायाबाट पनि गल्हत्तिएर देवालयको बाससम्म आइ पुगेकी छु l गाउको चिसो पानी र स्वच्छ सितल हावाले हुर्किएकी त्यही मनमाया अहिले झुत्रे र झाम्रे भएर बेकम्मा साबित बनेको लाज ढाकेर यो शहारमा भौतारिरहेको छु l यहासम्म आइपुग्दा पनि हरेक रात यही शहरका अध्यारा गल्लीहरूमा मेरो बचे खुचेको अस्मितालाई कोपर्न छाडीदैन l
मैले बुझेकि छु यो शहरका ठुला ठुला महलका आत्मा कथाहरू l मैले देखेकी छु नारी स्वतन्त्रताको आडमा गरिएका काला धन्दाहरू l त्यसैले त यो शहरले जिस्काएर हास्दा पनि म यो शहरको भित्रि रुप देखेर यिनै फाटेका झुत्रे र झाम्रे लुगामा पनि कटकटिएका ओठ सल्बलाएर यो शहरको वास्तविकतामा फिस्स हासी दिन्छु l तर मैले बुझेर अरु म जस्तै विवश महिलालाई बुझाउनु पूर्व यो शहरले मलाई पागल करार गरी दिएको छ l आफैले सहेर बुझेका यथार्थहरू मेरा भावभंगीहरूबाट स्वस्फुर्त रुपले मेरा चालढालमा प्रतिविम्बित भैदिन्छन l यो शहर मजाक ठानेर हरेक क्षण मलाई गिज्जाएर आफ्ना कुकर्महरू ढाक्ने प्रयास गर्छ l हरेक रात विवशताको डोरीमा फनफनी बेरिएर आँशु पिउदै हास्न विवश म जस्तै नारीलाई कोखिलाभरि च्यापेर मेरो बासस्थान तर्फ फर्किएर चोरी औला देखाउदै भन्छ – ” ऊ बौलाही !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )