उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको दक्षिणतिर पनि दुईवटा बडेमानका भैरवका मूर्ति छन् । एउटा श्वेत भैरव, जसको अनुहार इन्द्रजात्रामा मात्र हेर्न पाइन्छ त्यस मूर्तिमा भैरवको टाउको मात्र रहेको छ । अर्को काल भैरव, जुन मूर्ति सशरीर उभिएको छ । इन्द्रचोकमा आकाश भैरव अर्थात् आजु द्य वा हाथु द्यःको मूर्तिमा पनि टाउको मात्र रहेको छ ।
आकाश भैरवलाई किराँतकालीन देवताको रूपमा मानिन्छ । नेवार समुदायले मूलतः आजु द्यःको रूपमा पूजिने यी देवताको वारेमा विभिन्न किंवदन्ती छ । एउटा किंवदन्तीअनुसार यलम्बर भन्ने – किराँती राजाले इन्द्रचोक अर्थात् वंघः मा आफ्नो राजघर बनाएर बसेका थिए । यो कुरा प्राचीन इतिहासमा पनि उल्लेखित छ । आजु द्यःलाई यलम्बरकै प्रतीकका रूपमा नेवारले मान्ने गर्दछन् । अर्को किंवदन्ती अनुसार महाभारतको युद्धमा जाँदा भगवान् कृष्णले छल गरी काटिएको भगवान् यलम्बरको शिर प्राचीन टेकुदोभान -हालको इन्द्रचोक) मा नदीछेउमा बसी काम गरिरहेको एकजना ज्यापूले देखेछ सो ज्यापूलाई सपनामा यलम्बर भगवानले भैरवको रुपमा दर्शन दिई मलाई यहीं नै एउटा छाप्रो बनाई राख र तिमीहरूले नै हेरविचार गर भनी भनेछन् ज्यापूले बिहान सबेरै सो शिर भएको ठाउँमा एउटा सानो छाप्रो बनाई यलम्बर भैरवलाई विराजमान गराई पूजाआजा गर्न थाले । त्यसैले हालसम्म पनि इन्द्रजात्राको दिन मन्दिरको तल चोक -सडक) मा एउटा छाप्रो बनाई श्री यलम्बर भैरवलाई बिराजमान गराउने चलन चलि नै रहेको डा. साफल्य अमात्यको ‘श्री आकाश भैरवनाथ’ पुस्तकमा उल्लेख छ ।
कतिपय विद्वानहरू काठमाडाँैका आदिवासी ज्यापुहरूलाई किराँतीहरूकै वंशजको रूपमा मान्ने गर्दछन् । साथै लिच्छवी राजाले विजय गरेपछि काठमाडौँमा रहेका सबै किराँतीहरूलाई ज्यापु बनाइदिएका थिए भन्ने विद्वानहरूको भनाइ छ । नेपालभाषामा आजुको अर्थ, बाजे, बराजु वा थकाली हो र द्यः को अर्थ देवता हो । अर्थात यो पुर्खौली देवता हो । काठमाडौंका नेवारहरूमा थकालीलाई मान्ने र पूजा गर्ने चलन अद्यापि छ ।
आकाश भैरवका पुजारी परम्परागत टोल वंघः -इन्द्रचोक) का ज्यापू हुन् । यसैले नित्य पूजा देखि वर्षेनी हुने इन्द्रजात्रामा समेत आकाश भैरवको पूजाआदि गरेर आकाश भैरवको मूर्तिलाई चाहिने विभिन्न फूलहरूको बन्दोबस्त गर्ने, फूलमाला गाँस्ने लगायत फूलमालाले सजाउने काम वंघः -इन्द्रचोक) टोलका ज्यापूहरूकै जिम्मामा रहेको छ ।
आकाश भैरवको मुख्य जात्रा, पूजाआजा इन्द्रजात्राको अवसरमा हुने गर्दछ । यसैले पनि विशेष गरी इन्द्रजात्रा पर्वमा आकाश भैरवलाई बाहिरको छाप्रोमा विराजमान गराएपछि नै आकाश भैरवको मूर्ति विशेष किसिमले सजिने गरेको छ ।
भाद्र शुक्ल एकादशीको दिनमा आकाश भैरवका गुठीयारहरू मिली भैरवको मन्दिरका तल एउटा खटनुमा छाप्रो बसाउँछन् । त्यही दिन आकाश भैरवका आठ जना गुठीयार मध्येका तर्फबाट आˆना नातागोता, छोरी, ज्वाइँ, भाञ्जाभाञ्जीहरूलाई ‘आकाश भैरवलाई छायेकेगु -पूजा गर्ने) अवसरमा प्रसाद ग्रहण गर्न निमन्त्रणा गरिन्छ । अर्थात् त्यो दिन सबै आफन्त, नातागोताहरूलाई बोलाएर विशेष भोज खुवाइन्छ । यही दिन नातागोटा, छोरी ज्वाईं आदिले विभिन्न फूलहरू ल्याउँछन् । यिनीहरू सबै मिलेर फूलमाला गाँस्छन् । द्वादशीका राति पुँ अर्थात् चित्रकारहरूले भैरवनाथको मुहारमा रङ्गरोगन गर्छन् । त्यसपछि गुठीयारहरू मिलेर सो मूर्तिलाई बोकेर बाहिर ल्याई एकदिन अगाडि बनाएको छाप्रोमा विराजमान गराइन्छ । ताम्राकारहरूले सो मूर्तिमा गरगहना लगाई दिन्छन् । त्यसपछाडि गुठियारहरूले एकदिन अगाडि गाँसेको फूलमालाहरूले मूर्ति सजाउने काम गर्छन् । इन्द्रजात्राभरि आठ जना पालाहरूले पालैसँग विभिन्न प्रकारका फूल, फूलमाला आदिले मूर्तिले सिँगारी बाजागाजा बजाई आकाश भैरवको पूजा गर्ने काम हुन्छ । हजारौँको सङ्ख्यामा चाहिने यी फूलहरू गुठीयारका नातागोताले ल्याउने र फूलमाला गाँस्न सहयोग पनि प्राप्त हुने भएकोले आठै दिन आकाश भैरव ताजा फूलमालाले सजिएका हुन्छन् ।
October 8, 2010
(स्रोत : हरिकृष्ण डंगोल ज्यू को फेस्बुकबाट )
नमस्कार । निकै पछि तपाईहरुकाे याे भित्र म प्रवेश गरे तर ढाेका कता हाे देखिएन । यसमा मैले धेरै कुरा भन्नु पर्ने रहेछ । यदि तपाईहरुको समय भए यसका केही कमी कमजाेरीहरुमाथि म अौल्याउने थिएँ । अहिले तपाँहरुबा^ बिदा लिएँ ।