मनिषाले डिभोर्सको पेपरमा दस्तखत गर्दै गरिन । पेपरसहित कैले को कैले को नातेदारहरुलाई फकाउन पठाइरहेको छ महेशले पनि लगातार । चारपटक च्यातिसकी डिभोर्स पेपर मनिषाले । तर पनि महेशले कोशिस छाडेको छैन । महेशसित अर्को विकल्पै पनि छैन । कान्छी सुस्मिता आइसकी । कान्छी आएपछि जेठी, न निल्नु न ओकल्नु !
सामाजिकरुपले महेशले परिवारहरुबिच भने सुस्मितालाई पत्नी स्थापित पनि गरिसक्यो । न त सुस्मिता नै सजिलै महेशलाई छाड्ने बिचारले पसेकी हो, यो जन्जालमा ! मनिषालाई पनि चिनेकी नै हो । झन्डै मर्नै लागेको महेसलाई मनिषाले नै पुनर्जीवन दिएको पनि थाहा थियो । लोग्नेस्वास्नीबिच कुनै समस्या या झगडा समेत छैन । तैपनि आई नै त हाली, सुस्मिता ! आइमाइहरुको समस्या नै यै । जानीजानी भुङ्ग्रामा हाम्फाल्ने !
पछि हट्ने विन्दुभन्दा धेरै अघि सुस्मिता पुगिसकेकी छे । त्यसैकारण आफन्तहरु दुवै स्वास्नी कायमै राख्ने विकल्पमा सम्झौता गराउन अभैm कोशिसमा छन्् । केही नलागे डिभोर्स ! क्या सजिलो महेशपट्टीकालाई ! मनिषापट्टीको अर्थ के र, महेशपट्टिकालाई !
एक महिनादेखि अन्त फ्ल्याट लिएर बसेका छन् महेश र सुस्मिता । मनिषाको सामुन्ने पर्ने आँट भने महेशले गर्न सकेको छैन । नम्वर देख्ने बित्तिकै फोन पनि काटिदिन्छे । बीचकाहरु मनिषालाई सहानुभूति देखाउँदै वास्तविकता स्वीकार्न सुझाव दिएकोदियै छन् ।
– गीताको फोन आयो । महेशको लगोंटियाकी स्वास्नी । मनिषाको पनि घनिष्ट दोस्त भन्दा फरक नपर्ने । गिताले पनि महेशले अर्की ल्याइसकेको रियलिटी स्वीकार भनी । कि दुवै स्वास्नीहरु दिदीबैनी भएर एकै घरमा बस्नु, कि दुइटा घर गरेर व्यवहार चलाउनु, तर महेशलाई नछोड्नु भन्ने सुझाव आयो, गीताको ।
– मनिषाले सिधै भनी, ‘उसो भए, तिम्रो पोइसित म पोइल आउँछु । अथवा तिमी आफ्नै घर बस । म तिम्रो पोइलाई यो घरमा जोइल ल्याउँछु । मसित तिम्रो पोइ कति मख्ख छ, तिम्लाई भनिरहनु परेन । तिमी के गर्छाै ? कि सङ्गै बसम् । मलाई बैनी स्वीकार्छौ ?’
– ‘तिमी बहुला भै सक्यौ । सन्की कुरा गर्छौ … ।’ गीता पड्की ।
– ‘हो गीता, अरुलाई यो औषधि र त्यो औषधि भनेर प्रेस्क्राइब गर्न सजिलो हुन्छ । तर आपूmलाई चोट नपरेसम्म मात्रै हो, गीता ।’ नरम स्वरले भनी मनिषाले । चडकेर के अर्थ ? उ स्पष्ट छे, त्यति सजिलै मुक्ति दिनेवाली छैन । गाँठो बाँधिसकेकी छे, के गर्ने भनेर । बीचकाहरुसित रिसाएर कुन चैँ पो रौँ झर्ने हो र ?
– ‘रामराम मात्र भन्न सकिन्छ । काँध थाप्न सकिन्न । उसो भे देऊ न त डिभोर्स, मनिषा । फ्रि हिम । जव उसको मन अरुसितै गइसकेको छ भने ?’ महेशहरु साथै बसेर गीतालाई फोन गर्न लगाएको थाहा पाउन गाह्रे परेन । खासखुस सुनिई रहेकै छ । आपूmमा आँट छैन । आपूm बिगार गर्ने । अनि सँधै अरुलाई अघि सार्ने बानी थाहा छँदैछ ।
– ‘ओ के, आइ विल फ्रि हिम । तर मेरो सामान फिर्ता चाहियो । म डिभोर्स गर्दिन्छु । एक हातसे लेना, दुसरा हातसे देना ।’ मनिषाले स्पष्ट भनी ।
– ‘ओ के, फेयर डिल । तिम्रो सामान फिर्ता गराउने जिम्मा हामी लिन्छौँ । के हो त त्यो फिर्ता चाहिएको सामान ?’ गीताको आवाजमा राहत झल्कियो । उसले सोची, त्यसै पनि डिभोर्स गर्ने भएपछि महेशले मनिषाको सामान राख्ने कुरै भएन । फिर्ता त दिइहाल्छ नि ।
– ‘उसैलाई था छ उसलाई मैले दिएको सामान । हो त्यै सामान फिर्ता चाहियो । भनिहालेँ नि, लेना देना बराबर ।’
– ‘थाड्ढ्स, मेरो भनाई मान्देकोमा । महेशसित कुरा गरेर चाँडै तिम्रो सामान फिर्ता गराउने प्रोमिस गर्छु । डोन्ट वोरी । जत्ति महङ्गो भए पनि फिर्ता दिनै पर्छ उसले । श्रीमतीको प्रेसस सामान त राख्न पाइएन नि, डिभोर्स नै हुने भएपछि त !’ गीता एक्साइटेड् । मनिषा कठोर हाँसो हाँस्छे र भन्छे मनमनै, गर्लास् मोरी फिर्ता । मनिषाभित्र बुल्बुलाइरहेकोे घिन र पलाइसकेको हिँस्रकताको छनक भने गीताले बुझ्न सकिन ।
००
अचानक भाउजू नमस्ते भन्दै नन्द पसेकीले मनिषाले गीतासितको वार्ता टुङ्ग्याई । नन्दको यो सवारी किन ? राम्ररी थाहा छ । नन्द सुशीलाका हातको फाइलभित्र फेरि पाँचौपटक टाइप गरिएको डिभोर्स पेपर छ । यो पनि थाहा छ, मनिषालाई ।
चिया कुकिजसित नन्द सुशीलाले डिभोर्स पेपर टेबुलमा राखी । सकभर यस्तो नहोस भन्ने चाहना सबको छ । तर यदि भाउज्यूले सम्झौतै नगर्ने अवस्था नै हो भने, ढिलोभन्दा बरु चाँडो आआफ्नो बाटो समात्नु बेस भन्ने सुझाव आयो, नन्दको । अर्थात अपराध दाजूले, सम्झौता चैँ भाउजूले ? प्रस्तावहरु भने सुशीला र गीताहरुमार्पmत ! अर्थात महिलाहरु नै पुरुषका ‘शशक्त मार्पmत’ !
– नन्दले पुरानो कुरा स्मरण गर्दै सहानुभूति देखाउन थाली, ‘भाउजू, मलाई झलझली याद छ । दादाको दुवै किड्नी लास्ट स्टेजमा थियो । दुवै किड्नीले डायलिसिस नथेग्ने अवस्थामा दादा भरेभोलीमा थे । मेसिनले मात्रै ज्यान चलाई राखेको थ्यो । यौटै रगतनाताको फेमिलीको कसैको पनि किडनी म्याच हुन्छ भने पनि हाम्रा रक्त नातेदार कोही निस्केनन्, किड्नी डोनेट गर्न । दादाको मृत्यु निश्चित थियो । माँ र मैले त माया नै मारिसकेको नि । माँले त दश दान समेत गर्ने सामानको व्यवस्था गर्न गणेशबाजेलाई भनिसकेको । तपार्इंले आफ्नो यौटा किड्नी देर नै त नि, दादाको ज्यान जोगियो । दादाको यो जीवन तपाईंले दिएकै जीवन हो । तर परिस्थिति नै … खै के भो, के भो यो परिस्थिति, भाउजू ? ’
– यति बेरसम्म चुप बसेकी मनिषाले अचानक मुख खोली, ‘हो कुरोको चुरो पनि यही परिस्थिति हो, नानी । अँ परिस्थिति ? मैले उन्लाई जीवन दिएँ, त्यो परिस्थिति ! बदलामा उन्ले मेरो जीवन लिए, यो परिस्थिति ! किन यो भो परिस्थिति ? खै मै बुझ्न सक्दिन यो परिस्थिति । नानीसित किन अप्ठेरो मान्नु ? यौटा किड्नी झिकेपछि आफ्नो शरिरबाट केही घटेकोजस्तो चेत आएकै थियो मलाई पनि । नआएको हैन । तर आफ्नै पतिसित किड्नी छ भन्ने अर्को चेत पनि थियो । आखिरमा समिपै त हो नि किडनी ! यही भनेर मन सम्हालेकै थिएँ । चाहना पुरै घटेको पनि साँचो हो । तर मन नलागे पनि मैले बेडमा उहाँलाई कहिले कमी गरिँन । न त हेरविचारमै कमी गरेँ । न त कैले रिसाएँ, न झगडै गरेँ, न घोचेँ । मैले के गरिन, नानी ? तैपनि किन यस्तो गर्नु भो ?’ आँखा भरिए पनि चुहिन दिइन मनिषाले ।
– ‘हो नि, सबै एकएक था छ हामीलाई । त्यसैले माँ बा सबै तपाईंकै साथ छम् । तपाईंजस्ती पत्नी पाउनु, भाग्गे हो दादाको । तर के अर्नु, भाउजू ? भै त सक्यो । किडनी दिएर एक पटक स्याक्रिफाइस गर्नु भो, फेरि अर्को एक स्याक्रिफाइस …।’
– ‘ओ के नानी, आइ आयम रेडी टू स्याक्रिफाइस अगेन । स्याक्रिफाइस जत्ति सबै आइमाईले मात्रै गर्नु पर्छ भन्नु हुन्छ भने । ओ के, गर्छु सेकेन्ड टाइम नि स्याक्रिफाइस मै नै । तर मलाई मेरो सामान फिर्ता चाहियो नि त । त्यो नि तुरुन्तै । नानीले मेरो सामान फिर्ता दिन भन्नु प¥यो, आफ्नो दादालाई ।’
– सुशीलाले खुसी हुँदै भनी, ‘त्यो त भाउजूको सामान कान्छी भाउजू भा ठाममा राख्न त हामी पनि दिन्नौं नि । दादासित मै मागेर ल्याइदिन्छु नि भाउजूको सामान । अनि के नि, त्यो फिर्ता माग्नु भाको सामान चैँ ?’
– सहजरुपले मनिषाले भनी, ‘मेरो दायाँ किड्नी ।’
– सुशीला आत्ती, ‘के रे ? के रे ? किड्नी ?’
– मनिषाले स्पष्टै दोहराई, ‘हो, मलाई मेरो किड्नी फिर्ता चाहियो । एक हातले किड्नी दिनु, अर्को हातले डिभोर्स पेपर लि जानु ।’
सुशीला वाल्ल परी, भाउजूको मुखमा हेरिरही । मनिषाको अनुहारमा भने अलमल थिएन ।
– फेरि मनिषाले दोहराई, ‘मलाई मेरो किडनी फिर्ता चाहियो । कुन हस्पितलमा कैले झिक्ने र मेरोमा हाल्ने फिक्स गरेर खवर पाऊँ । खर्च छैन भने, मैं तिरुँला । तर फिर्ता चाहियो, फिर्ता चाहियो, मेरो किडनी । आई वान्ट माई किडनी ब्याक !’ हिस्टेरिकजस्तो भई मनिषा । आत्तिई सुशीला ।
– मनिषा केही बेर मौन रही । फेरि भनी, ‘नानी, भन्नुस् त, तपाईँ पनि आइमाई । मेरो किडनीले नै सुस्मिताको उपस्थिति सहला त ओक्ष्यानमा ? कति पीडा होला त किडनीलाई, आम्मामामा… ! मलाई त अहिले सम्झँदै नि रिङ्टा पो लाग्छ भननन । आफ्नोसामुन्ने आफ्नै ओक्ष्यानमा आफ्नो लोग्ने अर्की आइमाईसंग ! उफ ! कसरी सहला विचरो मेरो किडनीले ? त्यसैले मेरो किडनी फिर्ता चाहियो । उसैकी स्वास्नी सुस्मिताको किड्नी झिकेर उसलाई हाल्दे भै हाल्छ । हुन त अर्काको कुरा मेरो चासोको भेन । तर मलाई भने मेरो सामान फिर्ता चाहियो । चाहियो भनेपछि चाहियो ! मलाई मेरो सामान फिर्ता चाहियो, नानी, लु ल्याइदिनु ।’
०००
माघ २१ २०७० सरस्वती पूजा |
(स्रोत : राजेन्द्र थापा ज्यू को फेसबुकबाट )