झुठा कुरा गुनेरै, फूर्सद भएन !
संधै उल्टा बुझेरै, फूर्सद भएन !
माला बुन्ने रहर, रहरै भैरह्यो
फूलहरु चुडेरै, फूर्सद भएन !
शिर ठाडो पारेर कहिले हिड्ने त ?
घुंडैबाट झुकेरै, फूर्सद भएन !
तिम्रा हर्जा, चाहना, पछि सोच्दै गरौं
आफ्नोलागि लुटेरै, फूर्सद भएन !
भात पाक्ने कुरामा शंका नै गरिन
चिसो चूल्हो फूकेरै, फूर्सद भएन !
मरे पछि मनग्गे बयान गर्दिएं
बांचुन्जेल जुधेरै, फूर्सद भएन !
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )