कथा : सलिम र भदौ १८

~स्वप्निल नीरव~swpanil nirav_1

कसैबाट क्षणिकका लागि अंगालिएर त्यागिनु भन्दा अर्को पीडा शायदै होला । त्यसो त कसैबाट त्यागिएर पनि मेरो अर्को पुर्ण जीवन छ । अभावको कुनै नामो निशान छैन । शिवाय-सलिम । इन्टरनेटमा भेटिने झुण्डका झुण्ड मित्र,सम्हाली नसक्नु कृत्रिम/अकृत्रिम आत्मियता । तर यस बीच सलिम छैन । सट्टामा छ सुमन ।तर पर्खाइ छ-सलिमकै ।

काठमाडौको एक्लो जीवन,यद्यपि एक्लोपनको आभास छैन । दिनै जसो घर माइतीसँग टेलिफोन हुन्छ,अधिकांश साथीभाई रात परेपछि अनलाइनमा पर्खिरहेका हुन्छन्।तर म जानी जानीकनै अफलाइन हुन्छु । अचेल साथी भाईसँग घण्टौ कुरा गर्ने रहर पनि मर्दै गएको छ । बिहे अघिसम्म त ल्यापटप साथमा नहुँदा पनि साइबर गएर घण्टौ साथीभाईसँग च्याट हुन्थ्यो । अहिले मसँग प्रशस्त समय छ,सुबिधा छ र पनि किन किन लुकेर साथीभाईले पठाएका गुनासोले पूर्ण ईमेल पढ्नमै आनन्द आउँछ ।
२ बर्षदेखि काठमाडौँमा छु-कसैको छेकबार,तारबेर छैन ।तर निकै संकुचन हुन्छ आफैभित्र ।ट्राभल एजेन्सीमा रिसेप्सनिष्टको जागिर खानु,कोठामा फर्कनु,हप्तामा २ दिन सामान्य बजार गर्नु,मुड भएछ भने साथीभाईसँग साँझ फेर यसो कोठा बाहिर निस्केर १/२ कप चिया कफी पिउनु बाहेक अरु कुनै उपलब्धी छैन ।साथीभाई डिग्री गर्ने सुझाब दिन्छन्।तर त्यसपट्टि पनि मेरो रुचि छैन ।
आज भदौ १८ गते । आज म अरु दिन भन्दा बढी बेचैन छु, उदास छु र भावुक छु । सलिम र भदौ १८ मेरो जिन्दगीको सबैभन्दा जटिल बिषय । जटिल यस अर्थमा कि,यी २ बिषय मेरो चाख र रुचिको बिषय हुँदा हुँदै पनि म यसको पाना खुलेआम पल्टाउन सक्दिन ।
सलिम कट्टर मुस्लिम समुदायको मान्छे । र म अलिकति खुल्ला हिन्दु संस्कारमा हुर्किएको मान्छे । ७ कक्षासम्म ऊ मदरसामा पढ्यो । र कक्षा ८ बाट आम नेपाली सरह सरकारी स्कुलमा पढ्यो । त्यहीबाट हाम्रो मित्रताको शिलशिला सुरु भ्यो ।ऊ हरेक शुक्रबार मस्जिद जान्थ्यो ।सानो ठेस लाग्दा पनि हामीले भगवान पुकारे जस्तै ऊ अल्लाह भन्थ्यो ।
स्कुले जीवनका ३ बर्ष खासै सम्झन योग्य रहेनन्। म एस एल सी सकेर उच्च शिक्षा अध्ययनका लागि बुटवल झरे र ऊ बिराटनगर गयो । ऊ जस्तै अधिकांश मुस्लिम युबकहरु पढ्नका लागि बिराटनगर जान्छन्। र अधिक भन्दा अधिक छोरी मान्छे त १५/१६ बर्षको उमेरमा आमा नै बनि सक्छन्। एस एल सी उत्तिर्ण गरेर उच्च शिक्षा हासिल गर्ने त नगन्य नै हुन्छन्।
चैत मास , तराईको ठाऊँ, साथी संगातीहरु जम्मा भएर सडकमा निस्केर पानीका लोला र रङ छ्याप्दै रमाइलो गर्दै थियौ ।साथीहरुसँग त म निर्धक्क रङ पानी खेल्थे । तर सडकमा हिँडिरहेका निर्दोष यात्री र गाडीमा सवार यात्रुहरुलाई रङ पानी छ्याप्न भने निकै डर लाग्थ्यो । तर आखिर होली न हो,डर सर चपाएर,आँखा चिम्लेर होटलको बरण्डामा उभिएर रमिता हेरिरहेको युबकलाई ताकेर पानीको लोला हाने । मज्जैले लागेछ ।त्यसैमाथि साथीभाईका तर्फबाट पनि एक दुई लोला बर्सियो ।
‘ए,साले पख ।’
एक्कासी रङले रङ्गिएको त्यो युबक चिच्यायो । हामी झनै मज्जाले हाँस्यौ र एकैसाथ चिच्यायौ-ए साथी! आऊ सँगै होली खेलौ ।
हामी रङ खेल्दै,गोला हान्दै छिल्लिदै थियौ । होटलको गेटबाट एउटा युबक हामीतिर हेर्दै निस्क्यो । लुगाहरु पुरै रङ्गिएको तर चेहरा भने भर्खरै धोइएको त्यो युबकलाई म उसको नजिक पुगेर चेहरामा रङ लगाइ दिदैँ भने-Happy Holi Salim.
ऊ एकछिन त असमजस्यमा परेर हेरिरह्यो । र फेरि मेरो चेहरा थम्याउने बित्तिकै भन्यो-छिः तिमीले मलाई रङ लगाइ दियौ ?
‘अँ लगाइदिए । किन की आज फागु पूर्णिमा हो । बरु भन न तिमी बुटवलमा कसरी ? तिमी त बिराटनगर बस्छौ हैन?’
ऊ जबाफै नदिइ फन्केर होटलभित्र छिर्यो । यो घटनापछि होली रमाइलो भएन । म खुरुखुरु कोठामा फर्केर रङ पानी नपखालिकन रङपानीले भिजेका लुगा फुकालेर बिछ्यौनामा पल्टिए । सलिमको सानो चित्त दुखाइले म आफु भित्रभित्रै पिरोलिए । उसको रुचि बेगर रङपानी लोला छ्यापेकोमा निकै ग्लानी भयो ।द्वितिय बर्ष सकिए लगत्तै गाऊँ फर्किए । सलिम पनि बिराटनगरबाट फर्किएको रहेछ ।
एकदिन मुस्लिमहरुको चिहानघारीमा बसेर एक्लै एक्लै टोलाइरहेथेँ। सलिम त्यही आइपुग्यो । तर मलाई देख्ने बित्तिकै ऊ चेहरामा पुरै क्रोध भरेर भन्यो-तिमी बुटवल झरेपछि त अर्काको भावना र मर्यादाको ख्याल गर्नै छाडिछ्यौ नि!
‘अँ त्यो त हो नि!शहरिया जो परे ।’थोरै ठट्टा गरे । तर उसलाई मन परेनछ ।
अलि गम्भिर भएर भन्यो-अघिल्लो दिन बिराटनगरबाट आएर बुटवल बसे । भोलि पल्ट होलीको दिन त्यस्तै उछृङ्खल मान्छेले उधुम मच्चाउलान भनेर बुटवलमै बसेथे । तिम्रै चर्तिकला देख्नु रैछ र पो ।
‘अनि मलाई के थाहा त त्यो तिमी हौ भन्ने ।
”लोला हान्दा चिनेनौ । रङ लगाउने बेला त चिन्यौ नि!’
‘त्यति रङले रङ्गिदा तिम्रो कुन चाहिँ जातै गयो नि?’
ऊ निकै गम्भिर देखियो ।र थोरै आक्रोशित पनि । यद्यपि ऊ बोलेन । परपर आँखाले भेटेसम्मका चिहानघारी हेर्दै रह्यो । त्यो त्यही चिहानघारी हो जहाँ भोलि सलिमलाई पनि यही गाडिनेछ मुस्लिम परम्परा अनुसार ।
फेरि त्यस्तै घटना दोहोरियो । होलीको रङ्गिन माहोल थियो ।यद्यपि अघिल्लो वर्ष जस्तो होलीको जमात थिएन । घरमै थिए त्यसैले पनि तराईमा जस्तो उत्साह पहाडमा हुने कुरै भएन । एकदमै एक्लो महशुस भैरहेको बेला सलिमले टेलिफोन गर्यो । ऊ पनि गाउँ आएको रहेछ । ऊ आएको चाल पाउने बित्तिकै मैले उसलाई तत्काल भेट्ने उत्सुकता ब्यक्त गरे ।ऊ हामी दुबैले एस एल सी उत्तिर्ण गरेको सीताराम मा बिको पछाडिपट्टि रहेको खुल्ला चौरमा भेट्न राजी भयो ।
ऊसँग टेलिफोन भएको ५ मिनेट नबित्दै म त्यहाँ पुगेर उसलाई पर्खन थाले । झण्डै १५/२० मिनेट जति नै फर्किए । तर ऊ आएन । मनै खिन्न भएर फर्कन लाग्दैथे -पछाडिबाट कसैले मेरो दुबै गालामा खस्रो हातले चरप्प समायो । मैले प्रतिकृया ब्यक्त गर्दा नगर्दै ती हातहरु मेरो दुबै गालाबाट घाँटी हुँदै पुरै टाउकोमा सल्बलायो । म ती दुबै हातहरु पक्रेर मान्छे चिन्ने कोशिस स्वरुप टाउको मोडे । अचम्म, हल्का रङले रङ्गिएर सलिम मुस्कुराई रहेको थियो ।
सुकिलो र कसिलो जिऊ, हँसिला ती दुई आँखा,मुस्कान पूर्ण ओंठ,गोरो अनुहार,सेफ नगरिएको तर निकै आकर्षक दाह्री । र त्यसैमाथि सजिएको हल्का होलि । त्यतिबेला सलिम सलिम थिएन। ऊ त हरपल मेरो कल्पनामा आइरहने अनाम पात्र थियो ।
उसले पहिल्यै पछाडिबाट अदृश्य मलाई रंगाई सकेको थियो । रैपनि फेरी रंगहरु उठाएर मेरो गाला,नाक,कान घांटी कतै पनि बाँकी नराखेर रंगायो । प्रतिक्रिया स्वरूप मैले पनि एक मुठी रंग लिएर उसलाई रंगाईदिए । र चुपचाप घर फर्केर धोका थुनेर पल्टिरहे ।
फागुको रंग जस्तै त्यो दिन मेरो मन पनि रंगिन थियो । एउटा मुस्लिम युवकले आफ्नो धर्म बिरुद्दमा गएर रंगाई दिएको त्यो नाथे रंगले मेरो जिन्दगीमा यति ठुलो प्रभाव पार्छ भनेर मैले सोचेको नै कहाँ थिए र ?
साँझ टेलिफोन आयो-सलिमको । त्यहि होली काण्डलाई लिएर घरमा ठुलो कलह मच्चिएछ । दिउँसो को संग होली खेल्यो त्यसको खोजी पनि भएछ । तर उसले मेरो नाम लिएनछ । परिणाम उसको बावुको ३ जना सौतेनी आमाको ५ जना दाजु भाइ मिलेर पाली पालो मस्त चुटेछन । मैले चुपचाप सुनि मात्र रहे । एकोहोरो आधा घन्टासम्म रुँदैरुँदै उसले सबै दुखेसो पोख्यो । र भोली नै बिराटनगर फर्कने निर्णय सुनाएर फोन राख्यो ।
म एकदमै शिथिल बने । फागुका रंगहरु सबै सबै अनायास पोखिएको महशुस भयो । लाग्थ्यो-ती फागुका रंगहरु संधै संधैका लागि ममा समाहित होउन । तर मैले भुले कि,त्यो रंग हो जुन कुनै बेला पनि पखालिन सक्छ-नचाहेरै पनि ।
सलिम बिराटनगर फर्क्यो । फर्कनु अघि उसलाई भेट्नुको कुनै औचित्य थिएन । र भेटिन पनि । ३ दिनपछि म पनि बुटवल झरे । स्मृतिमा घरिघरि सलिम झुल्कंथ्यो- हातमा रंग लिएर । रंग सलिमका लागि बन्देज थियो जान्दा जान्दै पनि मेरो स्मृतिमा झुल्कने सलिम हातमा रंग लिएर आउथ्यो । मलाई रंगाउथ्यो अनि आफु पनि रंगिएर जान्थ्यो ।
स्नातक दोस्रो वर्षको परिक्षा सकिए लगत्तै सलिम आकस्मिक बुटवल आयो । त्यस्तै स्निग्ध,हँसिलो त्यस्तै आकर्षक दाह्री-सेफ नगरिएको । तर पहिलेको तुलनामा धेरै आँटिलो ।
ऊ एक हफ्ता बुटवल बस्यो । एक हप्ताका बीच १७ पटक सिद्दबाबा पुग्यौ । रिक्सामा बसेर बुटवलका चोक गल्लि गल्ली चहारी हिड्यौ,सिद्दबावाको मन्दिर छेउमा बसेर अल्लाहाका कुरा गर्यौ,भगवानका कुरा गर्यौ र थोरै मात्र प्रेमका कुरा गर्यौ । र कति पटक त सलिम र मैले एकै साथ देउताको पाउ छोएर चुपचाप चुपचाप प्रेमको प्रार्थना गर्यौ ।
जब जब हामी प्रेमका कुरा गर्थ्यौ, शव्दहरु घाँटीमै अड्किएको महशुस गर्थ्यौ । भित्र शव्दको भण्डार छ तर ब्यक्तिन नसकिरहेको त्यो असहज घडीमा ऊ टाउको कन्याउथ्यो,म भूइ कोट्याउथे । यसो उसोमै बेअर्थ समय घर्कंथ्यो,मलाई मेरो दाइको दाइको फोन आउथ्यो,उसलाई उसको साथीको । अनि हामी चुपचाप चुपचाप उठेर गन्तव्य तताउथ्यौ ।
ऊ बिराटनगर फर्क्यो । जानेबेला मेरो कानै नेर आएर भन्यो-तेस्रो वर्ष सकिए लगत्तै हामीले बिहे गर्नु पर्छ ।
त्यो एक वाक्य सुनेर मन त्यसै त्यसै हावामा उड्न थाल्यो । प्रेमका हजार हजार वाचा कबुल्हारू भएनन त के भयो । आखिर त्यो पनि त प्रेमनै थियो ।
तेस्रो वर्ष सकियो । त्यसपछि भने म निकै गम्भीर भए । आफन्त दाजु भाइ आमा बाबु सदाका लागि त्याग्नुछ,खुल्ला हिन्दु संस्कारबाट उखेलिएर जर्जर मुस्लिम संस्कार र मान्छेलाई अपनाउनुछ । हुन सम्मको पीर चिन्ता जति मेरै थाप्लोमै खनियो । एकातिर सलिम,अर्कोतिर मेरो आफन्त परिवार र अझै अर्कोतिर ऊ र मबीचको धार्मीक र सांस्कृतिक द्विवार । वास्तवमै अगाडी धेरै ठुला ठुला चुनौतीका पहाडहरु खादा थिए । त्यो पार गर्न त्यति सहज थिएन ।
तेस्रो वर्षको परिणाम पनि आयो । तर बिहेको चाँजो पाँजो मिलाउदा मिलाउदैसमय धेरै नै घर्क्यो । अब त मेरो घरबाट पनि बिहेको कुरा चल्न थाल्यो । आफु भन्दा माथिको दाजुलाई उछिनेर बिहे गर्दिन भनेर टारे । तर यता भने सलिमसंग सुटुक्क भाग्ने योजना बनिरहेको थियो । उसले र मैले पुरै गाँउ आफन्त त्याग्ने दिन थियो-भदौ १८ ।
पत्थरको मुटु लिएर म सलिमको हात समाएर एक चोटी पनि पछाडी नफ़र्किई उसको पछी लागे । म पछाडी फर्कनु भनेको मेरो हार थियो । र मलाई थाहा थियो-त्यो एक हार पछी मेरो जिन्दगीमा कुनै जीतहरु आउने छैनन् ।
१७ गते धरान पुग्यौ । र १८ गते बिहानै दन्तकाली मन्दिरमा बिहेको औपचारिकता पुरा गर्यौ । एउटी हिन्दु केटि र मुस्लिम केटाबीच हिन्दु परम्परा अनुसार भैरहेको बिहेको साक्षी थियो-अनुप । सलिमको हँसिलो साथी अनुपकै कृपाले यी सब असम्भव कुराहरु सम्भव भैरहेका थिए ।
लमतन्न बसेको धरान,बि.पी कोइराला मेमोरियल अस्पतालको त्यो बिशाल प्रांगण-जहाँका प्रत्येक धूलाका कणले पनि हाम्रो माया अनुभूत गरेका थिए । हामी बीच कुनै बाधाहरु थिएनन । दुबैका मोबाइल अफ थिए । घरि घरि अनुप र उसैका २/४ साथी हाम्रो प्रेममा बाधा पुर्याउथे । तर पनि मलाई त्यो कुनै बाधा जस्तो लाग्दैनथ्यो । बरु लाग्थ्यो-हाम्रो प्रेमको संकुचित संसारमा फैलिएको परिधी हो-सम्बन्धको । अपरिचित त्यो सहर पनि किन किन परिचित र आत्मीय लाग्थ्यो । अनुपको परिवार,परिवारबाट मिलेको अथाह माया र अनुपको सानो संसार-जहाँ कुनै अभाव थिएन माया र मित्रको,निकै प्यारो प्यारो लाग्थ्यो । एक दुइ दिनको भेटमै अनुप र अनुपको सम्वन्धित हरेक नाता सम्बन्धले हामी दुइलाई सहर्ष स्विकार्नु नै हाम्रो प्रेमको जीत थियो ।

पाँचौ दिनको दिन सलिमको दाइको फोन आयो । सलिमलाई खोज्दै वहाँ बिराटनगर आइसक्नु भएको रै’छ । त्यहि दिन हामी बिराटनगर पुग्यौ । बिराटनगर खै किन किन मलाई पटक्क मन परेन । बिराटनगर मलाई कुनै कैदी गृह जस्तै लाग्यो । सबै केरकार भए । दाइले हिन्दु परम्परा अनुसार बिहे भएको कुरा चाल पाउनु भयो । आफ्नो भाइले आफ्नो धर्मको धज्जी उडाउदै एउटी खुल्ला हिन्दु केटीको सिउँदोमा सिन्दुर भरेको कुरा थाहा पाउनु भयो । त्यो भन्दा ठुलो अपमान वहाँका लागि के हुन सक्छ ? सलिमबाट वहाँलाई ठुलो आसा थियो । आफ्नी आमा मुनि ३/३ जना सौतेनी आमा भित्र्याएपछी दाजुले गर्नु परेको संघर्ष र सलिमलाई मान्छे बनाउन दाजुले गर्नु भएको मिहनेतदेखी सलिम र म दुवै अनभिज्ञ थिएनौ । अतः ऊ दाजुलाई आदर गर्थ्यो-जति आफ्नो बावुलाई घृणा गर्थ्यो ।
छैठौ दिन बिहानै म ब्युँझदा सलिम छेउमै बसेर टोलाईरहेथ्यो । म ब्युँझेको चाल पाउने बित्तिकै ऊ मलाई आलिंगनमा बेस्मारी कस्यो । लाग्यो ऊ मलाइ अंगालीरहेको छैन । कुनै आवेशमा आएर झम्टिएको छ-मायाको भ्रम पालेर । सलीमको आलिंगनमा जवर्जस्ती च्यापिएर बसेको बेला मैले तातो आँसुको स्पर्श महसुस गरे काँधमा । उसको आलिंगन बाट फुत्केर मैले उसलाई हेरे । ऊ झनै असंयमित भएर मलाई अंगालेर रुन थाल्यो ।
सलिमको आँसु आँसु थिएन । उसलाई थाहा थियो त्यो सावने झरी हो । र त्यो झरिपछी पहिरो निश्चित छ-सम्बन्धमा ।किन कि झरी पर्नु अघि अंधेरिमै सलिम रुपी बादलले पहिरोको सम्झौता गरि सकेको थियो-दाजुसँग ।
म एकदमै हतोत्साहित भए । केहि सुझबुझ भएन ।दाजुलाई फोन गरे । वहाँ पनि मेरो खोजीको लागि बुटवलबाट गाँउ जानु भएको रहेछ ।मैले फोनबाटै सत्य भनिदिए-दाइ मैले सलिमसंग बिहे गरे ।तर आजै राति उसले दाजुको करकापमा परेर अर्को मुस्लिम केटीलाई बिहे गर्यो । ऊ चाहन्छ कि,म ऊसंगै बसु । तर मैले के गर्ने सुझिरहेको छैन ।हजुर जे भन्नुहुन्छ म त्यहि गर्छु ।
पर्सिपल्ट साँझ ३ बजेतिर दाइ आइपुग्नु भयो । त्यो साँझ उसको र मेरो सम्बन्धको अन्तिम दिन थियो ।सलिमलाई कोहि पराइ स्त्रीको आलिंगनमा छाडेर म जाँदैथें-सदा सदाका लागि । छुट्ने बेला मेरा आँखा रसाएनन ।सलिमको हातमा मायाको गहिरो चुम्वन छाडेर म मेरो दाइको हात समाएर लम्किए-जीवनको अनिइच्छित गन्तव्य भेटन ।
मन मस्तिष्क पुरै खाली खाली थियो । दाइले जता भन्नु हुन्छ त्यति डोरीइरहे । दाइको झर्काइ फर्काइ रिस आवेग सबै सबै सहदै पर्सिपल्ट बिहान ८ बजे काठमाडौँ भित्रिए । बिल्कुलै नयाँ शहर ,नयाँ परिवेशका विच म मुढो शरीर जता लडायो त्यति लडिरहे । कुनै चेतना कुनै भावना थे’न ममा ।
काठमाडौँ भित्रिएको छैठौ दिनको दिन मैले थाहा पाए-सलिमको स्थान सुमनले लिदैछ । कुनै आनाकानी,विरोधको नामै निस्केन मबाट । तर जब एउटा संवेदनशील घडी आयो तब सलिम मोह एकाएक जागे । सुमनका बालिष्ठ पाखुरा पन्छाउदै हप्ता दिनदेखि अफ रहेको मोबाइल अन गरे । आकाशबाट असिना बर्सेजस्तो भटाभट एस एम एस का लर्को लागे । १२१ ओटा एस एम एस र एस एम एस भित्र अभिव्यक्त सलिम….। १२१ ओटा एस एम एस ले अघाएन । फोनै गरे । मैले त्यति बेला बिर्से कि,सुहागरातको रंगिन कल्पनामा कोहि मेरो पर्खाइमा छ । म यी सबै कुराको बेवास्ता गर्दै धारा प्रवाह बोल्न थाले-सलिम,म आज फेरी सुहागरातको गम्भीर घडीमा छु । प्रेम बिना पनि सुहागरात हुन्छ यो जानेर तिमीलाई अचम्म लाग्ला । तर बिश्वाश गर सलिम तन सामेल होला सुहागरातमा,मन हैन । र यो पनि जानी राख,सुधाको हरेक रातको ढोका सलिमका लागि बन्द छ ।
उताबाट कुनै आवाज आएन । मलाई थाहा थियो-ऊ मलाई सुन्दैछ ।म एकोहोरो बोलीराहे-जसरी तिम्रो प्रेम तिम्रो दाइको अघि झुक्यो,त्यसै गरि मेरो पनि झुक्यो । फरक यत्ति हो,तिम्रो प्रेम धर्म बचाउका लागि झुक्यो र मरो प्रेम अस्तित्व बचाउका लागि झुक्यो । त्यस रात तिमी मलाई छाडेर अर्की कुनै बेदाग केटीलाई अन्गाल्दैनथ्यौ त म प्राप्तीको खातिर विद्रोहको तुफान मच्चाईदिन्थे । तर अब त्यो पनि जरुरी छैन । म तिमी बिना अधुरो हुन्छु-जानी जानी तिमीबाट अलग्गिए । अतः मैले अब तिमी बिना बाँच्ने बानी पार्नु पर्छ ।
‘सुधा तिमी कति सजिलो कुरा गर्छौ । तिम्रो मसंग बिहे भैसकेको छ । तिमी मलाई माया गर्छौ र म तिमीलाई माया गर्छु । फेरी भन्दैछौ-मैले सुमनसंग बिहे गरे ।’
उताबाट आद्र स्वरमा सलिम बोल्यो ।
‘अनि म चाही के गरु त ? तिमी त मेरो जिन्दगीबाट गइसकेका छौ । तिम्रो यादमा तड्पी तड्पी बाँच्थे हुँला,तर यसरि म बाँचेको देख्न मेरो आमा बुवा दाइले सक्नु हुन्न । र सबै भन्दा महत्वपुर्ण कुरा त म यो दलदलबाट निस्केर धेरै अघि बढ्न चाहन्छु-सुमनसंगै ।’
‘सुधा तिमी यसो गर्न कसरी सक्छौ ? हेर उसले हाम्रो वास्तविकता थाहा पाएपछि ऊ टुक्रिनेछ,तिमीलाई उसले खुब यातना दिनेछ । बरु तिमी त्यहाँबाट जति सक्छौ चांडो भाग । म तिमीलाई पर्खिरहेछु । तिमी पराइको काखमा तड्पी तड्पी बाँचेको म देख्न सक्दिन ।’
‘सलिम,सुमन मेरो अतितसंग पूर्ण परिचित छ । ऊ पनि विवाहित पुरुष हो म जस्तै । बिहे गरेको एक हप्तामै उसकी श्रीमतीलाइ उसका आमा बाले ऊबाट छुटाएर अन्तै बिहे गरिदिएछन । अतः तिमी ढुक्क होउ सलिम,हामीले आ-आफ्नो अतित सहित एक अर्कालाई स्वीकारेका छौ ।
उताबाट रोएको आवाज आयो । यता म पनि आँसुले भिजिसकेको थिए । मोबाइल फ्यात्त फालेर घोप्टो परेर एकोहोरो रोइरहे । रुंदा रुँदै थाकेर त्यतिकै निदाएछु । ब्युँझदा भोलि भैसकेको थियो । सुमन ल्यापटपमा झुण्डीसकेको थियो । म ब्युंझेको चाल पाउने बित्तिकै ल्यापटप छोडेर म नेर आयो । र भन्यो-सुधा हामी आ-आफ्नो अतित भुलेर अघि बढ्नु पर्छ । गाह्रो छ तर म पुरा पुर् कोशिश गर्नेछु मनदेखि तिमीमा समाहित हुन ।
‘सुमन म पनि हजुरमा हराउने कोशिश गर्नेछु ।’
भन्न त भने तर त्यो वाक्य बोलिरहँदा आफैभित्र कस्तो कस्तो संकुचन भैरहेको थियो ।
त्यहिदिन हामीमा अलिखित सम्झौता भयो-एक अर्काको अतित नकोट्टाउने र एक अर्काको इच्छा बेगर शारीरिक रुपमा एक नहुने ।
बिहेपछि सुमन र म काठमाडौँ नै रहन थाल्यौ । उसका आमा बाबुले पनि त्रिशुली आएर बस्न कर गर्नु भएन ।

बिहे गरेको तीन महिनापछि बैदेशिक रोजगारका लागि क्यानडा गयो । ती तीन महिनाका बीच हामी बीच केहि पनि भएन । जुन हरेक लोग्ने स्वास्नी बीच हुने गर्छ । जब जब हामी एक अर्कामा डुब्न खोज्थ्यौ तब सलिम हाम्रो अगाडी ठिंग उभिएको पाउथे म । सुमन पनि हामी बिचको दुरी मेटिन नपाउदै लामो लामो सास फेर्थ्यो र अर्कोतिर कोल्टे फर्कन्थ्यो । उसलाई पछाडिबाट हल्लिएको देखेर म अनुमान गर्थे-ऊ रोइरहेको छ । म उसलाई आफूतिर फर्काउथे । ऊ झनै अधीर बन्थ्यो र एकोहोरो रुन्थ्यो । उसको रुवाईले मेरो पनि मुटु निचोरिन्थ्यो । अनि दुवै जना एकै ठाउँमा घोप्टो परेर रुन्थ्यौ-मनभरि /

ऊ क्यानाडा गएपछि म एक्लै भए । परिवारसंगै त्रिशुली गएर बसौ कि,भन्ने नसोचेको पनि हैन । तर खै किन किन एक्लै बस्न मन लाग्यो । हरेक पटक फोनमा उसले(सुमन) सम्झाउदै भन्ने गर्थ्यो-त्यसै नबस । डिग्री join गर । त्यसै खाली बस्दा मानसिक तनाव बढ्छ । तर मलाई अगाडी पढ्न पनि मन लागेन । ऊ गएको ४ महिनादेखि ट्राभल एजेन्सीमा रिसेप्सनिष्टको रुपमा काम गरिरहेछु । सुमन संग दिनमा झन्डै १ घण्टा च्याट हुन्छ । भौतिक रुपमा टाढीएर पनि मनको दूरी घटाउने कोशिसमा छ ऊ । प्रयास म पनि गरिरहेछु । तर प्रयास व्यर्थै खेर गैरहेछ ।

ऊफ! झनै बेचैन छु । साँच्चै मेरो मन मस्तिष्कबाट सलिम मोह किन मेटिदैन ? सलिम र भदौ १८ ले मरो जिन्दगीमा यति साह्रो किन अड्डा जमाएर बसेको छ? प्रिय सलिम, म तिमीलाई भुल्न चाहन्छु । तिम्रो त्यो साथ,प्रतिबिम्व अनि ती विषाक्त यादहरु सबै सबै बाट मुक्ति चाहन्छु । म आफैलाई पलपल ढाँटेर सुमन कि पत्नी हुँ भन्ने झुटो ढों रचेर दुनियाँ सामु बाँच्न चाहन्न । सलिम, ए मेरो अतित ! म तनमन सम्पूर्ण रुपमा सुमनको हुन चाहन्छु । यसरी मुटु चुँडाउन,पागल बनाउन याद बनेर मेरो सामु न आऊ-अबदेखि कहिल्यै कहिल्यै न आऊ ।

(स्रोत : Shabdahar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.