कथा : कथाकारको कथा – ए, को होस तँ ?

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो ।

ब्लग, टुइट या फेसबुक । डिजिटल भित्ता भरि उसरी नै छाएका थिए अंग्रेजी नयाँ बर्षका यी कामनाहरु – तस्विर, शव्द र चलचित्र बनेर । त्यही बर्ष थियो जो एक बर्ष अगाडी नयाँ थियो, यसरी नै आएको, अनेकौं कामनाहरु बोकेर , गुज्रिएर गयो । अब सम्झनामा मात्र रहनेछ । अगाडी घमाइलो सूर्य जस्तो उज्याला नयाँ दिनहरु थिए । जसको आगमनको खुसीमा समय एउटा उत्सव मनार्इ रहेको थियो ।

“नयाँ बर्षको हार्दिक मङ्गलमय शुभ कामना ….”
आफन्त साथीसंगी वा कुनै साइनोको परिचय बोकेर हिड्ने सबैका ओठओठ बाट पोखिईरहेका थिए यी शव्दहरु ।

“के तँ आज पनि कथा नै लेखिरहेको छस? ”
तन्मयतालाई भंग गर्दै कसैले सोध्यो । मेरै कथाको कुनै पात्र, कुनै चरीत्र मानौं त्यो म आफैं हुँ । उसको आवाज इनारबाट कोही चिच्याए झैं अस्पष्ट सुनियो ।
“कहाँ गए तेरा पात्रहरु ? तँ किन एक्लो छस? के लेख्दैछस ?”

म भन्छु- “मान्छेले लेख्न शुरु गर्नु पहिले के विधा थियो साहित्यको ? यदि लेखनमा विधागत विधान वा यसको परिधि अपरिहार्य हो भने म जे लेखिरहेछु त्यो आख्यानकै एउटा अंश हो, आत्मालाप, मनोभाव, गुनगुन या भावोपन्यासको कुनै प्रकरण .. कल्पनाको एउटा टुक्रा, एउटा फिक्सन .. एउटा कथा, जे भन, जसरी बुझ .. । अघिदेखि कोशिस गरिरहेछु लेख्न, कुनै पात्र खोजिरहेछु जसले मेरो कथाले माग गरेको भूमिका जीवन्त निभाओस” ।

मैले लेख्ने कथाका पात्रहरु विशेषत आफ्नै आँखा वरपरका हुन्थे, थाहै नपाई आउंथे र मेरा आख्यानहरुमा एक एक भूमिका लिएर बस्थे । यसर्थ पनि ती काल्पनिक घटनाक्रमहरुले यथार्थताको उद्घोष गर्थे र वास्तविक जीवनमा मेल खाने प्रबल सम्भावना हुन्थ्यो ।

कहिले भने अबेर सम्म खोज्दा पनि मेरो रोजाइको कुनै पात्र भेट्दिनथें र कथा अधुरै रहन्थ्यो । कहिलेकाहिँ आफै सँग बात गर्नु, आफै लेख्नु, आफै पढ्नु, आफै प्रश्न सोध्नु वा आफै त्यसको उत्तर दिनु ..आफ्नो कथानकमा आफै दोहोरो भूमिका निभाउनु बडो अनौठो अनुभूति हुदो रहेछ । नयाँ बर्षको प्रारम्भिक दिवस त्यस्तै भै रहेको थियो ।.. पात्रहरु मलाइ एक्लै छाडेर मबाट हराएका थिए । म थाहै नपाई एक्लिएको थिएँ । म संग बाँकी थियो, विदा नभएको जागीर, व्यस्ततालाई अझ व्यस्त बनाउन हरदम तयार एउटा ल्यापटप, एउटा टेबल, जहाँ सजिएका थिए केही फूलहरु जो ओइलाएर पनि कृत्रिम हाँसो छरिरहेका थिए, नया बर्ष जस्तै । छेउमा पाउलोको अल्केमिस्ट आधा पल्टिएको थियो ।

के हो नोस्ताल्जिया ? गृह-विरह.. के हो प्रवास ?
किन आउँछ तेरा सृजनाहरुमा त्यसको धमिलो गन्ध?

अरुकै नया बर्षको रंगले मनको घर पुरै रंगिएको बेला क्यानभासमा एकपछि अर्को जथाभावी रंगहरु पोतिए झैं उ प्रश्न माथि प्रश्न सोधिरहेको थियो ।
यतिखेर सम्म पक्कै सोचिसक्नु भएको छ, आज कृष्णपक्ष कुनै लेखक, कथाकार वा कल्पनाका यस्तै टुक्राटुक्री बटुलेर अमूर्त आकार बनाउने कुनै अपरिचित गुमनाम मान्छेको कहानी सुनाइ रहेछ ।

अनेकौं खोला, खहरे, खोल्सा मिसिएर आएको त्रिशुलीको तिर, पौडी खेल्नु, दुवाली छेक्नु वा टन्न माछा जम्मा गरेर टोलीका टोली बनभोज खान हान्निनु, यी वाल्यकालका सम्झनाहरु हुन् ।भूमध्यसागरको किनार पौडी खेल्न, बार्बिक्यु धुवाँउन र बिदा मनाउन जानु, यहाँ पनि त्रिशुलीको त्यो बनभोजको क्रम उस्तै छ । इजरायली संगीत जस्तो समुन्द्रको छालले किनारमा ठोक्किएर गाएको सुसेली शहरको कोलाहल चिरेर आउँछ, जसले ती पुराना स्मृतिहरु ताजा बनाउदै जान्छ ।

“तँ कहाँ छस? तँ को होस्, ?”
उ सोधी रहेछ ।

डायोस्पोरिक मनहरुले आफ्नो पहिचान र एइक्बद्धताको खोजीमा इन्टरनेटभरि फोरम बनाएका छन । यो प्रश्न “तँ कहाँ छस?” उता पनि ठेली दिन्छु ।

1.धर्ति र प्रकृति यदि सबैको साझा हो भने, यो कहाँ भन्ने प्रश्नको के औचित्य ? जहाँ जुन् भूमिमा उभिएको भएपनि उ यही संसारमा छ, यही पृथ्वीमा छ ।
2.हाइ गाइज, यो फलानो फलानो देश भनेर साँध, रेखा, बोर्डरको बार बार्ने नचाहिदो काम नेता र शासकहरुले आफ्नो स्वार्थको लागि गरेका हुन् र मान्छेलाइ उल्लु ।
3.ओइ दुइ नम्बरको ब्रो ! ओभर स्मार्ट हुने हैन है, बढी डेन्सी कुरा गरिस क्या… अलि नपच्ने । तँ जस्ताहरुले गर्दा त हो आज देश बिग्रेको ।
4.के त्यहाँ जस्तै यहाँ विहान घाम उदाउदैन ? के मौसम उसरी नै बद्लिदैनन , झरी पर्दैन या हावा बहदैन या जीवनको गीत गाइदैन् ? मेरो देशको कविता छ मेरो ब्लगमा पढ्नु — ( लिंक फलानो >> )
5….
6….
7…..
.त्यहाँ लेखिने संवादहरु प्राय यस्तै हुने गर्थे – बेतुकका र बकम्फुसे ।

तर “तँ को होस् ?” यो प्रश्नको उत्तर भने म आफै पनि बर्षौं देखि खोज्दै आइरहेको थिएँ – ” म को हुँ ? ” प्रश्नको गहिराइ यति सघन हुन्थ्यो जो गाढा रात जस्तो बनेर छाती भित्र भित्र भासिए झैं लाग्थ्यो ।

यो खोजलाई अबको बर्षमा अझ तीव्र बनाउँ, आफू र आफू हुनुको अस्तित्वलाई पहिचान गरूँ, एउटा कामना जस्तो, संकल्प जस्तो मनभरी उर्लिएर आयो । तर त्यो कामना हिजो पनि उस्तै थियो । लाग्न थाल्यो अधुरा कामनाहरुको लश्करले खेदिरहनु र हिजो नाघ्न नसकेका पहाडहरुमा पटक पटक ठोकिनु, यही हो मान्छेको नियति । मान्छे कुनै आख्यानमा सिसिफसलाई पात्र बनाएर उभ्याउछ र ढुंगो बोक्न लगाउँछ तर हरेक मान्छे यहाँ आफै सिसिफस बाँचेको छ जो समय, बर्ष र जिन्दगीको ढुंगो यसरी नै बोकी रहेछ, उकाली रहेछ र खसाली रहेछ । अनवरत … ।

ईमेल भरि शुभकामनाले भरिएका संदेशहरु थिए । यही पहिलो दिन, नेपालियनजीले कृष्णपक्षलार्इ दौतरीमा लेखक बनाउनु भएको खबर मुस्काई रहेथ्यो । देशबाट कसैले नया बर्षको एउटा कार्ड पठाएको छ , जसमा मेरै भावनाहरु कोरिएका थिए । २ बर्ष पहिले २००८ डिसेम्बर ३१ तारिख म आफैले बनाएर युट्युबमा राखेको भिडियोबाट शव्दहरु साभार गरिएका थिए । खुसि हुन्छु खुसीको चंगा तेल अभिभको शहर माथि माथि उडी रहे झैं लाग्छ । त्यो आकाश काठमाडौंको आकास जस्तो देखिन्छ । यी शहरहरुबिचको बिशाल दुरी मेटिएर अब एकै ठाउमा भेट हुन्छ । नोस्ताल्जियाको एउटा तरङ्ग फेरी कोठाभरी फैलिन्छ, जहाँ घुलेर मेरो कथा र पात्र दुवै फेरि एकपटक हराएझै लाग्छ ।

” ए तँ को होस् ? ”
कथाको पात्र एकतमास प्रश्न तेर्स्याई रहेछ । धुँवा जस्तो अनुत्तरित अवस्थाको एउटा सघन अँध्यारो म भित्र रङमङिन थाल्छ ।
साहस गरेर जवाफ फर्काउछु ।

संसारका हरेक प्राणी, मान्छे र सृष्टीका प्रत्येक अवयवहरु कसैले कसैलाई चिनेका हुदैनन् । समयले कोर्दै जाने परिचयको आकार भन्नु केवल भ्रम मात्र हो, जो कहिल्यै पूर्ण हुदैन । फरक दृष्टिमा फरक देखिन्छ – यो भ्रामक परिचय । यसर्थ तिमीले जति, जसरी चिनेका छौ त्यही हुँ म। अरु कसैको नजरमा त्यो तिमीले चिनेको “म” पटक्कै नहुन सक्छु ।

परिचय नै खोज्छौ भने मेरो अस्तित्व मेरा शव्दहरु हुन्, मेरा आख्यानहरु हुन्, मेरा आख्यानका कथानक या दृष्टान्तहरु हुन् जहाँ कुनै न कुनै रुपमा मेरो उपस्थिति भएको हुन्छ । मेरा भावनाहरु हुन् जहाँ म खेलिरहेको हुन्छु, जे लेखिन्छु म त्यही हुँ, त्यो भन्दा बाहेक मेरो खास परिचय छैन । मेरो परिचय यिनै शव्द र संकेतहरु हुन् र यिनैमा मलाइ खोज्नू ।

कथाकारको बेनाम पात्र अब मौन भयो । भूमध्य सागरमा छालहरु उसै गरी खेलिरहेका थिए । अब भने उसको सुसाइ रोदीमा गुन्जने भाका जस्तै सुनिन थालेको थियो । छालहरुले पर पर बगाउदै गरेको डुंगा जस्तै मन त्यसै त्यसै उद्धेलित भै रहेको थियो ।

(समाप्त)
कृष्णपक्ष, इजरायल

(स्रोत : Shabdahar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.