यो देश एउटा चिहान घर हो
र हामी मरेका लाशहरु
यहाँ जुनको उज्यालो मध्य रातमा खस्छ
सडक पेटीमा सुत्ने भोका नानीहरुको अनुहारमा
र सहरका घरहरुको भित्तामा चम्कन्छ
तिनका मलिन अनुहार लिएर
यहि सहरमा हामी निसंकोच निदाइरहेका हुन्छौ
यहाँ मध्य रातमा कानुनको लामो हातले
एकहुल वेश्याहरुको चुल्ठो समात्छ
र बतासिएर गुड्छ प्रहरी भ्यान
तिनका बाध्यताहरु कुल्चिएर सडकमा धुलो उडाउँदै
थोरै कमिसनको रेट बढाउने सम्झौता हुन्छ
र बिहान उनिहरु मलिन अनुहार लिएर र्फकन्छन् डेरा
जहाँ हामी कुरीरहेका हुन्छौ महिना बिते पछि घर बहाल उठाउन
यो देश एउटा चिहान घर हो
र हामी मरेका लाशहरु
यहाँ न्याय पाउन नसकेका थुप्रै बृद्द बा आमाहरु छन्
हराएको छोरो खोज्दै न्याय आफै हराएको सहरमा,
जन्मकैद पाएकाहरु खुलेआम हिडिरहेछन् सडकमा
अपराध हाँसीरहेको सहर नुहाइरहेछ मदिराले रात भर
विहानीपख गन्हाउने मुखले
एक मुठ्ठी पानी पिच्च थुक्छ न्यायालयको घर अघिल्तिर
यहाँ कालाकोट लाउने एकहुल मानिसहरु छन्
यो मुर्दाघर हो यहाँ थुप्रै मुर्दा,मलामीहरु छन्
यो देश एउटा चिहान घर हो
र हामी मरेका लाशहरु
विधुवाहरुको सिउँदो पखालिएर
रातो भएका झण्डाहरु
चिल्लो गाडीमा दौडीयर हात हल्लाइरहेछन्
अझै पनि एक हुल मानिसहरु लाम लागिरहेकाछन् भोकै
फुलमाला लिएर सडकका पेटी पेटीमा
घामको उज्यालो उनिहरुलाई हेरेर फिस्स हाँस्छ
सँगै त्यही कतै सडकको पेटीमा झुण्डीरहेकाछन् तिनका सपनाहरु
तुर्लुङ्ग रुखका हाँगाहरुमा
यति खराब दृश्यहरु पनि आत्महत्या होईन
यि अघोरी जस्ता मानिसहरुले
सपनाहरु कुल्चिएको पनि दुर्घटना होइन
मात्र मलामीहरु फर्किन कुरीरहेका
यति धेरै अघोरीहरुले पर्खिरहेको
यो देश एउटा चिहान घर हो
र हामी मरेका लाशहरु
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
September 26, 2013
(स्रोत : Tej Bikram’s Notes )