भुइँचालो आयो
र पैसा गन्दागन्दै
पाँचौं तलाबाट हाम्फाल्यो ठेकेदार
भुइँचालो आयो
र बीचैमा मन्त्र छाडेर
चौरतिर दौडिए पण्डित बाजे
भुइँचालो आयो
र शपथ लिँदालिँदै भाग्नु भो
नयाँ मन्त्रीज्यू
भुइँचालो आयो
र घुस लिँदालिँदै कुदे
कर्मचारी
भुइँचालो आयो
र चोर्दाचोर्दै
एक्कासि साधु बन्यो चोर
भुइँचालो आयो
र आँगनमा नाङ्गै निस्किए नवदम्पती
भुइँचालो आयो
र दुनियाँको मनमा ढ्याङ्ग्रो ठटाएर गयो
भुइँचालो आयो
र सबैको सातो उडाएर गयो
मुत्युबोध गराउनलाई आइरहोस्
भुइँचालो
जीवनबोध गराउनलाई आइरहोस्
भुइँचालो ।
(स्रोत : Esamata)