हा ! भूकम्प गयो यहाँ दिनमहाँ, उड्यो धुलो वेसरी ,
हल्लायो जमिनै , पहाड समतल् , मानौँ भुसुन्ना सरी ।
मान्छे जो घरमै थिए मरिगए , ढल्दा ति आफ्नै धन ,
दौडे बाहिर वा ढलेन घर ती , वाँच्यो उहीँ जीवन ।।१।।
हाहाकार भयो जहाँ सबदिशा, गाऊँ र वस्ती परे ,
मान्छेमात्र कहाँ मरेर दुनिया, पन्छी पशू ती मरे ।
खाध्यान्नै पुरियो उसै भवनमा, ईट्टा र माटो मुनि ,
बाँच्नेले पनि के गरेर रहला , ध्वस्तै छ बाटो पनि ।।२।।
आशा गो घरका जहान कतिका, आमा र बाबा गए
सानैमा परिवार् गुमाइ टुहुरो , छोरा र छोरी भए ।
हुर्कँदो वयका उमेर कतिका , छोरा मरेका थिए ,
वैंशै थ्यो कमलो जहाँ रहरका, छोरी परे देखिए ।।३।।
कोही पत्नि वियोगले छटपटी , एक्लै बसेका पति ,
फेरी यै सुनियो अगाडि पतिगो, एक्ली भईन् श्रीमती ।
बाँचेछन् ति सबै जहान कतिका, भत्क्याछ बस्ने घर ,
कोही मानिस घाइते कति अझै, पागल् सरीका नर ।।४।।
बस्ति नै वगिगो गएछ पहिरो , डाँडा र पाखा भरी ,
गुम्वा मन्दिर चर्च भो धरहरा , मस्जिद् समेतै गरी ।
दर्वार् औ महलै ढले ढलिमली , नेपाल ध्वँशै भई ,
स्वर्गैको सरि यो भुमी छिनमहाँ, देख्दै खरानी झईं ।।५।।
सारा मानिस जुटेर छिनमा , लागे ति उद्धारमा ,
आए राहत ली सबै मुलुकका, ती विज्ञका साथमा ।
झट्का कम्प यहाँ सयौँपटक नै, साना र ठूला गए ,
बाँकी सम्रचना अझै ति पनिता, ढल्दै थपीँदा भए ।।६।।
लाग्यो वर्ष नयाँ बहत्तर यहाँ , वैशाखको वारको ,
कालो काल सरी रहेछ समयै , धिक्कार नेपालको ।
यस्तो विघ्न कतै नगर्नु धरती, यो विश्वमै केवल ,
हल्लाउन्न भयो भनी भनन लौ , नेपालको भूतल ।।७।।
विग्रीयो पहिले त राजनितिले , नास्यो तहीँ कम्पले ,
नेपाली दुखमा नपार भगवान् , गाल्दै छ भूकम्पले ।
माथीजानु कहाँ धसिन्छ तलनै , नेपालको विम्व हो ,
मेरो देश रहन्न अझै दुखमहाँ , लाग्दैछ रे शान्त भो ।।८।।
लागौं हामि मिलेर देश भरकै , ऊँचो बनाइ शिर ,
नेपाली सब नै डटेर वलियो , यो राष्ट्रका खाँतिर ।
आधा पेट भरौँ बनाउँ खुशिले , यो देश झन् सुन्दर ,
फर्की आउ युवा विदेश नभनौँ, बन्ला नयाँ आखिर ।।९।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )