~नगेन्द्र ईङनाम ‘आठराइली’~
विशाल आकाश वजन विहीन
पानीका कणहरु मिस्सिएका छन
आकाश मुनिको बादल गह्रुंगो,
क्षितिजसम्म फैलिएको धर्ती वजन विहीन
आजकाल धर्तीमाथिका मान्छेलाई मान्छे गह्रुंगो
सयौं पानाले भरिएका किताब वजन विहीन
किताबभित्रका प्रत्येक पाना पानाहरु,
पानाभित्रका सबै अक्षर अक्षरहरू
अनि ती अक्षरका शब्दहरु गह्रुंगो
आजकाल पानाभित्रका तस्वीरहरु झनै गह्रुंगो
साथीहरुबाटै ईमान्दारहरु साथी विहीन
लुरे लेङ्ग्रेहरु बन्न खोज्छन आफैं गह्रुंगो
बेइमानहरु जता मल्खु उतैतिर ढल्कु
चाँजो मिलाएर तीनै हुन्छन ढोकाभित्र
आजकाल स्वाभिमानहरु बाहिरै लाग्छन टुंगो
शीर नझुकाउने योग्यहरु चाहिं सम्मान विहीन
चाटुकारीका ठेकेदारलाई मिल्छन सम्मान गह्रुंगो
शुद्धिकरण गह्रुंगो मुल्याँकन हुन जान्छ गह्रुंगो
लेख्न जान्ने तर लेख्न नसक्नेहरुलाई त
आजकाल अरु अरुको लेखाई पनि गह्रुंगो
सिङ्गो वृक्ष यहाँ वजन विहीन
हाँगालाई फलफूल र पातहरु गह्रुंगो
चित्त नबुझ्दो बढ्दो विडम्बना यहाँ
जन्मजात शिकारी बाघहरु घाईते
आजकाल फ्याउराहरुलाई शिकार गह्रुंगो
संख्यात्मकमा परिणित सबै गुणात्मक विहीन
एउटा व्यक्तित्वको आसन अर्कोलाई साह्रै गह्रुंगो
उपस्थिति गह्रुंगो, बोलि बचन पनि हुन्छ गह्रुंगो
साँचो बोल्ने मान्छेको भाषा र भाषण पनि गह्रुंगो
आजकाल बढ्दैछ विचलन विधिको शासन गह्रुंगो
(स्रोत : Dobato)