(अनुष्टुप्)
पढ्न जान्छौँ सबै हामी बस्दैनौँ अब पढ्दछौँ
खुला मैदानमा राखी पढाए पनि पढ्दछौँ ।
पाल त्रिपाल पाए झन् पढेरै सब छोड्दछौँ
जसरी सजिलो हुन्छ पढ्न पाऔँ पुकार्दछौँ ।।
घर बेघरको चिन्ता बिर्सिई अब पढ्दछौँ
पढेरै देशमा हामी सुनौलो काम गर्दछौँ ।
नयाँ पुस्तकको ज्ञान पाऔँ हे गुरु ईश्वर !
भुलिन्छ त्रासको पीडा ज्ञानभित्र बराबर ।।
नयाँ वर्षसँगै पढ्ने इच्छा केही गुमे पनि
निराशा साथमा छैन पढ्नेछौँ अब जे पनि ।
साहित्य ज्ञान होस् हाम्रो अंक भाषा सबै कुरा
विज्ञान पढेरै छाड्छौँ प्रविधिको त के कुरा ।।
मातापिता ठुला आफ्ना नडराई पठाउनू
हामी हिम्मतले पढ्छौँ शंका त्रास लुकाउनू ।
सतर्कता छ हामीमा पढ्न आतुरता पनि
जेठ मध्य हुनै आँट्यो पढ्न जान्छौँ अवश्य नि ।।
पराकम्पनको मात्रा हुनु राम्रो बुझी बुझी
नडराई पढिछाड्छौँ भित्रैबाट खुसी खुसी ।।
(स्रोत : रचनाकार स्वयम् ले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )