कथा : अकथा

~बिनु “मुसा”~

चारैतिर बालुवा छ । बालुवाको रास, ठाँउ-ठाँउमा मेलो छाडेर उम्रिएका केही पौंधाहरु । कतै-कतै खजुरका बुँट्यानहरु, म गर्मी अड्कल्छु ४५ देखी ४८ डिग्रीसम्म हुनुपर्छ आजको गर्मी । शिशिरको अन्तिम घिडघिडोपछि सुर्यको फुर्ती बढ्दो छ । आगोको देश हुदै आइरहे झै लाग्ने हावाका तीव्र झोक्काहरुले बालुवाका कणहरु यता-उता उडाउँछ । मेरो सपानाहरुलाई जस्तैगरी सुर्यका तेज नजरले यीनीहरुलाई पनि तताईरहन्छ ।

परदेशी जीवन, म लगायत परदेशी साथीहरु परदेशी समय भोगिरहेछौ । पसिना औ परिश्रमलाई पैसामा रुपान्तरण गर्नु नै हाम्रो ध्याउन्न छ । तसर्थ सुर्यको रापिलो किरणसँग पौठेजोरी खेलिरहन्छौ हामी । यही नै हाम्रो दिनचर्या हो । घडीले जब नौ बजेको संकेत गर्छ, तब हामी कुनै खजुरको फेदमा हुन्छौ, खाना खान । पौने घण्टाको यो खाना खाने समयलाई उबारेर हामी केही क्षण सुस्ताउछौ पनि ।

जब हामी केही क्षणको बिश्राम पछी उठ्छौ तब हामीले छाडेको जुठापुठाका लागी भँगेराका सानो झुण्डले खजुरको फेद ओगट्छ, केही दिनदेखि म यिनै भँगेराका झुण्डसँग रमाइरहेकोछु । यस्ता सामान्य जस्ता लाग्ने कुरा पनि परदेशी समयका लागी खेल्ने साथी बन्दोरहेछ । पाँच भँगेरा छन् । पाँच भँगेराका बिचमा एउटी पोथी भँगेरा छे, भरखर रजश्वलाबाट उम्किएकी सुकुमारी झै देखिन्छे ऊ, सुरिलो औ तिखो आवाजमा कराउने उनी हामीले छाडेको सिता टिप्न मग्न हुन्छे । तर भाले भँगेरामा केही भिन्नता छ, उनीहरु राम्ररी चारा चर्न पाइरहेका छैनन् एक-आपसमा झगडा गरीरहने भाले भँगेराहरु सायद पोथी भँगेरालाई आफुतर्फ आकर्शित गर्न खोजिरहन्छन् ।

समय बितिरहन्छ, समयसँगै हामी रित्तिरहन्छौ । रित्तिनु सिद्धिनु हो । सिद्धिनु नै आखिर जिन्दगी हो । तर रित्तिरहने जीवनलाई अझ कञ्जुस तरीकाले रित्तनदिनु पूर्ण जीवनको परिभाषा नहुन पनि सक्छ, जसरी म रित्तिरहेछु, साथीहरु रित्तिरहेछन्, हामी परदेशीहरु रित्तिरहेछौ । निरही रित्याई…यस्तै यस्तै । अब भँगेराको झुण्डले प्रचण्ड गर्मीमा खानाको साथमा चिसो पानि पनि पिउँन पाएको छ, बिशेष उनीहरुकै लागि भनेर पुरानो प्लास्टिकको डब्बा काटेर पानी भरी दिने ठेक्का मैले लिएको छु । बस भँगेराका लागी भनेर अलिकति खाना उबारी दिनु पनि मेरो दैनिकी बनेको छ । ईश्वर बस्ने देशमा ठाँउ बनाउँन हैन । प्रचण्ड गर्मीमा छटपटाएका पंक्षी देखेर । कतिले गर्मीमा छटपटिएर प्राण त्यागेको कारुणिक दृश्य आफ्नै आँखा अघि देखेर कैयौ दिन आफु दु:खेको छु । दुख्नु आफैमा पीडा हुनु हो । जब आफुले आफुलाई पीडाबोध गराईन्छ तब दुखिन्छ आफु । दुख्न हृदय पनि चाहिन्छ । मष्तिष्कले पनि दु:खिन्छ यदाकदा तर मष्तिष्कले दु:ख्नु भनेको दुःखे जस्तो गर्नु पनि हुनसक्छ, यस्तो बेला म हृदयले दुखिदिन्छु ।

अब पोथी भँगेराले सुकेका नीम, खजुरका पात, प्लास्टिक एक एक गरी भेला गर्न थाल्छे । अस्थाई रुपमा बनाएको मानव निर्मित ‘क्याम’ को बलेसीमा आफु आट्ने गुँड बनाउन दुई-तीन दिन खर्चि त्यसले । यस बिच उसलाई भाले भँगेराले सहयोग नगरेको होइन तर एक आपासमा बाझिरहने स्वाभावका कारण पोथीले नै धेरै परिश्रम खर्चि । यसमा दुईमत छैन ।

गर्मी बढ्दो छ, लाग्छ गर्मी अब जवान बनेको छ । पोथी भँगेरालाई हेर्छु टिनको कापामा बनाएको उसको गुँड आगो लाग्ने त हैन ? काशऽऽऽऽ, काशऽऽऽऽऽऽ म उसको भाषा बुझ्दो हुँ त….

एक मनले सोच्छु उस्को गुँड भत्काई दिउँ ता कि उसले अरुनै ठाँउ आफ्नो गुँड बानाओस्, तर उसको त्यो लगन त्यो मेहनत एकै पलमा चकानाचुर बनाउने सहास ममा छैन । फेरि केही महिनादेखि चलिरहेको हाम्रो सामीप्यता टुट्ने डर पनि त छ ।

सप्लाई कम्पनीमा काम र साइडको कुनै अत्तोपत्तो हुँदैन समय भुमरीले मलाई कहिले यता कहिले उता फ्याँकिरहन्छ । तीन महिना अघि यी भँगेराहरुसँग छुट्टीनु पर्दा मनमा एकप्रकारको खिन्नताले साम्राज्य जमाएको थियो । कस्तो बिरोधाभास ! एउटा भँगेराको झुण्डसँग म कसरी झ्याम्मिएछु, सोच्छु प्रकृतिमा नियालियो भने यस्तो कुनै चिज नहोला, यस्तो कुनै प्राणी नहोला, जसलाई हामी प्रेम पोख्न नसकियोस्, उसलाई बुझ्न नसकियोस्, तर उसलाई बुझ्न उ नै बनिदिनुपर्छ हृदयले बुझिदिनुपर्छ उसको भाषा, मलाई यस्तै लाग्छ ।

टिनको कापामा उजाड देखिने पोथी भँगेराको गुँड । म गुँड नियाल्छु, कस्तो उराठ देखिएको यो भँगेरीको गुँड, खाली एकदम खाली देखिने उसको गुँडको प्रकृतिले स्पष्ट यो बताइरहेको छ कि यसबार भँगेरीको गर्भ तुहिएको छ, यो गर्मीले यसबार उसलाई आमाहुने सौभाग्य खोसेको हुनुपर्छ । म व्यग्र बन्छु, तातो फलामे खम्बा समाएर म भँगेरीको गुँड नजिक उक्लन्छु उफ….कस्तो बिदारक… ? केही अण्डालाई भँगेरीको कंकालले छोपिरहेको…हे ईश्वर ! यो कस्तो त्याग हो ? कस्तो परिक्षा हो यो ?

म हृयभरि भावविह्वल बन्छु, अफ्नो भ्रुण प्रति, आफ्नो बच्चा प्रति आफ्नो मोह त्याग्न नसकेर बिचरी भँगेरीले प्राण उत्सर्ग गरी छ, समर्पण गरिछ प्रकृतिलाई । म विक्षिप्त बन्छु, खजुरको फेदमा भाले भँगेराहरु उसरीनै बाझिरहेछन् सायद, सायद पोथी भँगेरालाई आफुतर्फ आकार्षित गर्न होला….!!

(स्रोत : Madhumas )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.