प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट भने निरन्तर थियो।
आशुतोस एकाएक विदेशिने भयो । यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो । तर कुनै साथीबाट गौरीलाई थाह भयो आशुतोस भोली नै उड्दै छ भनेर !
भोलीको उडान् आफ्ना सामान र सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो फोनको घण्टी बज्यो । आशुतोसले हेलो भन्न नपाउँदै “म तिमीलाई अहिले नै भेट्न चाहन्छु” गौरीको आवाज सुनेर आश्चार्य र मौनता दुबै छायो आशुतोसमा । “तर… तर…..तर गौरी अहिले त धेरै अवेला भइसक्यो”। ‘भयो होला तिम्रो लागि, तर मेरोलागि भएको छैन’ प्रतिउत्तरमा गौरीले भनी । गौरीको अस्वाभाविक र अप्रत्यशित चाहना ! उ नचाहेर पनि गौरीबाट टाढिनु त छदै छ त्यसमथि हृदयको खोपीमा बसेकी गौरीबाट विछोडिने घाउ उ भित्रभित्रै पिलिइरहेको थियो । त्यो पीडा उसले गौरीसामू व्यक्त गर्न सकेको थिएन।
तर…..गौरी किन यति अबेला, आखिर त्यस्तो के ? आशुतोस बोलिनसक्दै गौरीले भनि “त्यो पनि मैले भन्नु पर्छ तिमी पुरुष……….’।”
रात निक्कै छिप्पिसकेको हुनाले गौरीलाई मनाउने प्रयत्न गर्यो भोली भेट्ने बाचा गर्दै । गौरीले आशुतोसप्रति आवेश पोख्दै भनि “तिमी पुरुषहरु मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ ।” पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो “तिमी नारीहरु पनि त यसरी बेला न कुबेला ठाउँ न कुठाउँ अमिल्दा अप्ठ्यारा कुराहरुको अत्तो थाप्छौ र दोष चाहीँ पुरुषहरुलाई दिन्छौ ।”
“ल उसोभए विहान आठबजे होटल ग्रिनल्याण्डको ११ एघार नं कोठामा भेट ।” गौरीले फोन विसाई । “म पुरुषको भोको होइन । कर्णध्वजको अलावा लाखौं पुरुष छन् मेरा वरिपरि ! तर आशु नै किन उभिन्छ मेरा सामू…….? म मात्र प्रेमको भोको हुँ । मेरो त्यो भोकको उपज पनि आशु नै हो र भोजन पनि आशु नै हो । अनि मेरो प्रेमको पर्याया पनि आशु नै हो, अरुकोही हुन सक्दैन । मभित्र एउटा साम्रज्य बनाएको छ उसले । त्यो साम्रज्यमा आफैभित्र अधिनस्त शासित छु म । बाचाउँ भने कसरी बचाउँ अनि भत्काउँ भने कसरी भत्काउँ त्यो साम्राज्य…….!” यस्तै तर्क र तिस्रनाहरु तेस्याउदै गौरीले त्यो रातसँग रातभर वहसगरेर रात विताई।
आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे । आशुतोससामू आफूलाई रित्याउन चाहन्छे।
आशुतोस होटलको कोठामा छिर्ने वित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई । आशुतोस किंकर्तव्यविमुढ हेरिरन्छ एकहोरो गौरीलाई । निशब्द उभिएको छ एउटा सग्लो पुरुष ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष अपेक्षाकृत उभिएको छ मानौ कुनै मूर्ति जस्तो !
आशुतोस निमग्न छ गौरी निशब्द छे । हेरिरहेछन् एक अर्कालाई । एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी छ गौरी!
एकाएक सम्पूर्ण सीमा र बन्धनहरुलाई नाघ्दै गौरी आशुतोसमाथि यसरी विसर्जित हुन्छे मानौ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ।
स्तब्धता
February 17, 2009
(स्रोत : Dautari )