हल्लिनु भूइँचालोको धर्म हो-
ऊ सधैं जड भएर पनि हल्लिन्छ ।
हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई,
ऊ जीवित नभएरै पनि हल्लिन्छ ।
हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई,
ऊ सासै नभएर पनि हल्लिन्छ ।
भूइँचालो त यमदूतजस्तै छ-
उ कुनै साइत जुराएर आउँदैन ।
दिन, बार, समय र ठाउँको
उ कुनै निम्तो दिएर आउँदैन ।
थाहै नदिई सुटुक्क,
जब आउँछ भूइँचालो,
ढाल्नुपर्नेलाई भन्दा नढाल्नेलाई बढी ढाल्छ ।
फाल्नु पर्नेलाई भन्दा जोगाउनेलाई बढी फाल्छ ।
आततायी भएकोले होला भूइँचालोले,
सधैं-सधैं मान्छेका सपनाहरू खान्छ ।
सधैं-सधैं मान्छेका सम्भावनाहरू खान्छ ।
Õ Õ Õ Õ
भूइँचालो त कुटिल पनि छ ।
भूइँचालो झन् कपटी पनि छ ।
र भूइँचालो अझ कर्कस पनि छ ।
ऊ आफ्ना सकुनी पासाहरू-
मान्छे निदाएको बेला पनि हान्छ-
र द्रौपदीलाई नङ्ग्याउन खोजेकै भारी समूहमा-
मान्छेहरूलाई नङ्ग्याउन खोज्छ,
सत्य लुकाउनुपर्ने केही छैन-
सभ्यतालाई कुरुप बनाएर
श्रृङ्गारहरू खाएको छ भूइँचालोले ।
फूलहरू लथालिङ्ग पारेर-
कोपिलाहरू किचेको छ भूइँचालोले ।
र निर्माणहरू बिथोलेर
भग्नावशेषहरू जितेको छ भूइँचालोले
अन्यथा सोच्नुपर्ने पनि केही छैन-
सिर्जनाहरू कसैले नास्न पाउनु हुन्न भने,
सृष्टिको नाममा सन्ताप हुनर्ुपर्छ भूँइचालो ।
सम्पदाहरू कसैले मास्न पाउनु हुन्न भने,
श्रृङ्गारको नाममा समाप्ति हुनर्ुपर्छ भूइँचालो ।
Õ Õ Õ Õ
खबरदार !
भूइँचालो अब मान्छेसँग खेल्न अभ्यस्त भैसकेको छ ।
ऊ मृत्यु झैं कुनै पर्ूव सूचनाविना नै आउँछ-
आउँदा हल्लिएर आउँछ ।
र जाँदा,
भूइँचालोले सधैं-सधैं मान्छे लान्छ ।
भूइँचालोले सधैं-सधैं मान्छे खान्छ ।
(स्रोत : Dobato)