(वसन्ततिलका)
भूकम्पको अवधिले अवसान पायो
सन्त्रासजन्य क्षणमा मृदु हास आयो
बेचैन त्रास अब शून्य सबै बिलायो
जागेर बन्छ अब देश सबेर आयो ।।
भूकम्पका छ दिन ती अलि त्रासपूर्ण
विध्वंश वा क्षतिहरू करुणार्द्रपूर्ण
जेजे भए कुदिन चक्र चिराचिरामा
बिर्सेर जाग्छ अब देश नयाँ सिरामा ।।
निर्माण मन्त्र अब एक विकास मात्र
सेवा सहिष्णुपनको समभाव मात्र
नेपाल बन्छ अब नूतन शैलीबाट
निर्माण आँट मनको तटभित्रबाट ।।
बन्छन् नयाँ धरहरा दुनियासमक्ष
श्रीकृष्ण मन्दिरहरू नवनीत कक्ष
ती सम्पदा जति भए क्षति पूर्ण बन्छन्
नेपाल सान कहिल्यै अवसान हुन्नन् ।।
हो, मानवी क्षतिहरू मनभित्र गड्छन्
ती आपदा ब्रणहरू अलि दुःख दिन्छन्
हारिन्न हिम्मत कतै अब जाग्नुपर्छ
निर्माणमै अब सबैतिर जुट्नुपर्छ ।।
नेपाल हो प्रकृतिको अति दिव्य रूप
हुन्छन् कतै प्रकृतिका विपदा स्वरूप
सम्हाल्न सक्छ यसले अब देश बन्छ
हार्दैन हिम्मत कतै अब बन्छ बन्छ ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )