~अनन्तप्रसाद वाग्ले~
पत्रकारहरुको एक टोलीले त्यस गाउँको अध्ययन भ्रमण ग¥यो । जस्ता पाताको टिलिक्क टल्कने छानोको रहर बोकेका गाउँलेहरु छोरी जन्मदा औधी खुशी हुन्छन् भन्ने समाचारले सर्वत्र सनसनी फैलिएको थियो ।
बुद्धिजीवीहरुले बहसको विषय पाए । गैर–सरकारी संस्थाहरु आकिर्षित भए । तारे होटलहरुमा गोष्ठी र सेमिनार चले ।
सचेतन कार्यक्रम लिएर गाउँ पसेका गैरसरकारी संस्थाका हाकिमहरुलाई पूmलमालाले स्वागत गरियो । गाउँमा जाने पत्रकार, बुद्धिजीवी, व्यापारी, नेता, सबैलाई गाउँलेहरुले पूmलमालाले स्वागत गरे, अभिवादन गरे ।
गाउँलेहरुलाई चेतना दिइयो । शिक्षा र सन्देश दिइयो । आयमूलक सीप सिकाइयो । गाउँ जागृत, शिक्षित भएको ठहर गरियो । चेटीबेटीको स्थिति सकारात्मक रहेको घोषणा गरियो ।
कार्यक्रमको सफलतामा गाउँमा एक भव्य समारोहको आयोजना कार्यक्रम स्थलको नजिकै एउटा चार्टर हेलिकोप्टर रोकियो । सुनै सुन र गहनाहरुले झकिझकाउ श्यामल र पुष्ट अधबैंशे नारी समारोहस्थलतर्फ बढिन् । नरनारीहरुले तालीको करतल ध्वनि दिए । पूmलमाला र सगुनले स्वागत गरे । आफ्नो यौवन नफक्रँदै गाउँबाट हराएकी डोल्मा थिइन् ती । ‘खोलो थुन्ने पैसा कमाएकी छ रे’ गाउँमा यस्तै सुनिन्थ्यो उनको बारेमा ।
डोल्माले नेतालाई बोलाइन् र गोप्य–मन्त्रणा गरिन् । गैर–सरकारी संस्थाका हाकिमलाई चन्दा सहयोग गरिन् । पत्रकारसँग सामान्य भलाकुसारी गरिन् । व्यापारीसँग कानेखुशी गरिन् । बुद्धिजीवीसँग खासखुस गरिन् र बिदा भइन् । आधादर्जन गाउँले किशोरीहरु उनीसँगै हेलिकोप्टर चढे । हेलिकोप्टर दक्षिणी आकाशतर्फ हुइँकियो । गाउँलेहरुले हेरिरहे । मञ्चमा आसीन महानुभावहरु एकापसमा मुखामुख गर्दै थिए ।
(स्रोत : NepaliLaghukatha.com )