होश सम्हालेदेखि यता
लुगा सिउने त्यो मेशिन छ
कि रोबट दमाई साइँला छ
ऊ छ कि त्यो मेशिन छ।
सपना कसले देख्दैन र
भविष्य भरिलो बनाउने
चाह कसलाई हुँदैन र
सुखले जीवन सजाउने!
साइँली दमिनीसित
भित्र्याएका रङ्गीन सपनाहरू
थाहा भएन उसलाई
समयले कहिले बेरङ्ग बनाइदियो।
उसका भरिला चाहहरू कुल्चेर
थाहा छैन अनुहारभरि कसले
अमेरका धर्साहरू कोरिदियो।
सगरमाथा विजय गरेको
र मान्छे जूनमा पुगेको
मान्छे समुद्रभित्र पण्डुब्बी हिँड़ेको
र विमानमा अन्तरिक्ष डुलेको
मङ्गल ग्रह र खुल्ला अन्तरिक्षमा
शहर बन्न लागेको
र परमाणु सपन्न राष्ट्रले
परमाणु परीक्षण गरेको
मानव सभ्यताका ज्वलन्त कथाहरू
अर्थहीन छन् दमाई साइँलालाई।
यिनै हातहरूले सिलाएर
दौरा-सुराल र चौबन्दीहरू
कति-कतिको काया उसले फेरिदियो।
यिनै हातहरूले सिलाएर टोपीहरू
कति-कतिलाई स्वाभिमान ओड़ाइदियो।
जटिलताहरूसित जुझ्दै
अनुसन्धानरत् छ आफू भने
त्यही पुरानो प्रयोगशालामा
त्यही पुरानो मेशिनसित।
ऊ छ कि त्यो मेशिन छ
मेशिन छ कि ऊ छ।
नचाहेर हो वा फुर्सद नभएर
उँभो आकाशतर्फ ऊ हेर्दैन।
वरिपरिबाट घेरेका कङ्क्रिट घरहरू
उसको धमिलो आँखाले देख्दैन।
कुन ऋतु, कुन पर्व र उत्सव
उसलाई किञ्चित् फरक पर्दैन।
ढॉंड़-पाखा र गह्राहरूमा
परिश्रम रोपेर अरूलाई खुवाएका
अरूलाई माथि उठाएर आफू नुहेका
सहोदरहरू देखेर विपन्नताले कुटेका
आफू हुनुको वर्तमानसित
ऊ कहिल्यै असन्तुष्टि जाहेर गर्दैन।
जीवन-उद्यान्मा रोपिएका
चमेलीहरू फुलेनन् कहिल्यै
कल्पनाको बारीमा छरिएका
इच्छाका बालिहरू सप्रेनन् कहिल्यै।
उसको जीवन-वनमा कराइरहन्छन्
कर्कश स्वरमा अभावका कागहरू।
सधैं धुम्मिरहन्छ उसको आकाश
आङमा लागेन कहिल्यै सुखको प्रकाश।
बारम्बार घोचिइँदै नियतिका सियोहरूले
अनुसन्धानरत् छ दिन-रात
त्यही पुरानो मेशिनसित
आफ्नो कार्यशालाभित्र दमाई साइँला।
ओ, ग्रेगर मेण्डल!
कहिल्यै प्रस्फुटित नहुने हुन् कि
पोटिलो बन्ने उसका दमित दक्षताहरू?
कहिल्यै अभिव्यक्त नहुने हुन् कि
अग्लिन सक्ने उसका आन्तरिक स्वभावहरू??
(स्रोत : Tistarangit.com)