हराउने गर्छु आफ्नै संसारमा
नजिकिन चाहन्छु तिमीसँग
यो दुष्प्रयास सफल होला कि नहोला ?
केवल तिम्रो सामिप्यता पाउन
हरेक विम्बहरुसँग तर्सिन, झस्किन थालेको छु
‘अनिदो रात’ सँगै
निस्सार पौठेजोरी खेलिरहेको छु
सगर पाउने आशमा
यी पाइलाका वेगहरु लम्की रहेछन्
केवल तिम्रो सामिप्यता पाउन
कसरी भनुँ ? त्यो यथार्थ
आफैँ तर्सिन खोज्छु
सायद सक्दिन होला
व्यक्त गर्न यी प्रेममय वादहरु
अनायासै मुटु भारी हुने गर्छ
तड्पन हुन्छ प्रत्येक पल
केवल तिम्रो सामिप्यता पाउन
प्रिया, थाहा छैन मलाई
यो जवानीको प्रतिफल हो कि ?
या अतृप्त मुटुको वेग
भावनाका कान्लाहरुमा
पानी विनाको माछाजस्तै
छट्पटाई रहेछु
केवल तिम्रो सामिप्यता पाउन
कल्पिरहन्छु ती दिनहरुलाई
हामी एकअर्कामा समाहित भएका थियौ
समयका क्यानभासहरुमा
तर फुटेन यो मनको वाद
परैबाट एकटकले नियाँली रहे तिमीलाई
आज विष्फोटित भएर बसिरहेको छु
केवल तिम्रो सामिप्यता पाउन
समयको विम्बचित्रमा
अनायासै तिमीसँग जम्काभेट भयो
तर केही गर्नै सकिन
बस् नियाली रहेँ तिमीलाई
तिमी प्रेमका हातहरु हल्लाउँदै
मलाई विदा माग्यौ
तिमी गएदेखि आज
नितान्त एक्लो भएको छु
अनायासै लेख्दैछु कापीका पानाहरुमा
यी निस्सार कविताहरु
केवल तिम्रो सामिप्यता पाउन
(स्रोत : Tulasiram KC’s Blog)