संस्मरण : गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु

~आचार्य प्रभा~acharya Prabha

सम्झना, संस्मरण, अतितको याद जे भने पनि आखिर बितेका समयका भोगाइहरु आँखामा झ्ल्झली हुनु, मानसपटलमा ती घट्नाहरु बिझिरहनु हो। ती सम्झनाहरुका भोगाइहरु बिभिन्न किसिमका हुन्छन। कुनै खुशी र उन्माद ल्याउने, कुनै मुटुभित्र बिझिरहने, कुनै संस्मरण गर्नसाथ मनै कुंडिदिने जस्ता हुन्छन। यस्तै संस्मरण मध्य म यहाँ एकजना ब्यक्तित्वसँगको मेरो भेट, वहाँसँग मैले बिताएका दिनचर्याहरु र वहाँसँग अनायस बिछोडिनु परेको पलका तीता भोगाइहरु बाँड्न चाहन्छु।

हुन त मलाई राम्रोसँग मिती र दिन त थाहा छैन, तापनि मलाई लाग्छ यस्तै ५६/५७ सालतिरको कुरो हो। म काठमाणडौ गीत रेकोर्डिङको सिलसिलामा आएकी थिएँ। त्यस समय म मेरी दिदिको घर लगनखेलमा बसेकी थिए। एक दिन एकजना गायक भाइ (भिम राइ) मलाई भेट्न भनी आए। आफ्नो क्षेत्र पनि गीत-सङीत भएकोले त्यही बिषयमा हाम्रो कुराकानी भयो। अन्त्यमा उस्ले मलाई आर्मी हेड क्वाटर जाउँ भनेर जिद्दी गर्न थाल्यो। मैले ‘”किन जानु म आर्मी हेड क्वाटर? म जान्न” भन्दा उस्ले मलाई भन्यो “दिदी तपाईं पनि गीतकार भएकोले म तपाईंलाई गीतकार आनन्द अधिकारिसँग भेट गराइदिन्छु। तपाईंहरु उस्तै उस्तै भावना पनि मिल्ने, कुरा पनि मिल्ने” भन्न थाल्यो। त्यो समयमा गीतकार आनन्दका गीतहरु “हीरा काट्ने हिरैमा राखेर”, “ओराली लागेको हरिणको चाल भो” जस्ता हिट थिए। मलाई अप्ठ्यारो महसुश भयो। त्यस्तो हिट गीत लेख्ने त्यही पनि आर्मीको मेजर जस्ता सँग मैले कसरी भेट गर्ने!, मलाई धेरै अप्ठ्यारो महसुश भैरहेको थियो ता पनि मैले भेट्न जाने सोंच बनाए।

म केही गाह्रो र अप्ठ्यारोकोको सामना गर्दै त्यो भाइको पछी लागें । हामी भद्रकाली सम्मको बसमा चड्यौं । भद्रकाली उत्रेर हामी आर्मी हेडक्वाटरको रेडियो शाखा भित्र छिर्‍यौं । हामी भित्र पस्दा पस्दै केही सिपाहीहरुले हामीलाई प्रश्न गरे कस्लाई भेट्न आउनु भएको भनेर? हामीले जवाफमा भन्यौ । ”हामी मेजर (त्यो समयमा आनन्द मेजर हुनुहुन्थ्यो )आनन्द अधिकारीलाई भेट्न आएका हौ भनेर । ”तर त्यो समयमा आनन्द त्यहा हुनुहुन्थेन । त्यो सिपाहीले भने ”मेजर साब रेडियो नेपाल सवारि हुनु भएको छ एकै छिनपछी आउनु हुन्छ त्यहा बस्दै गर्नु होस्” भनेर आनन्दको अफिस कोठातिर इङित गरे । हामी त्यो कोठाभित्र पस्यौ । मलाई एउटा कुर्शिमा बस्ने आग्रह गर्दै त्यो भाइले भन्यो कि ”दिदी आनन्द सर अहिले हुनुहुन्न रहेछ एकैछिन म बाहिर गएर आउछु हजुर बस्दैगर्नु होला” भनेर निस्क्यो। मैले पनि एकछिन छिन् त होला भनेर ” हुन्छ” भनें । त्यो भाइ पनि निस्कियो । म एक्लै त्यो कोठामा बस्न वाध्य हुनु पर्‍यो ।

मैले त्यो कोठाको चारैतिर आँखा दौडाएं, चारैतिर किताब र कपीहरु छरिएका थिए मानौ त्यो कोठा कुनै आर्मी अफिसरको नभएर कुनै एउटा कबी लेखको झै लाग्दथ्यो । म मन मनै सोचिरहेकी थिए । आनन्द सर कस्तो हुनु हुन्छ होला ?, की बोल्न नै गाह्रो पो मान्ने किसिमको पो हुनु हुन्छ कि ? म कसरी वहाँको सामु बोल्ने होला? यसरी म आफ्नै मन सँग कुरा गरिरहेकी थिए । अनायस मेरो दृष्‍टि भित्तामा झुन्ड्याएको आर्मिको सर्टमा पर्‍यो । त्यस्मा आनन्दको आइ डि कार्ड टासिएको थियो । आनन्दको आइ डि को फोटो देखेर म अचम्भित भएँ । मैले सोचेको र कल्पना गरेको आनन्द भन्दा त्यो फोटोको आनन्दमा धेरै फरक थियो । म त एक्छिन त किङ्कर्तब्यबिमूढ भएँ किन कि मेरो अड्कल र कल्पनामा आनन्द अलिक पाको हुनुहुन्थ्यो भने त्यो तस्बिरको आनन्द त सोचेभन्दा जवान लाग्यो । बल्ल मलाई अलिक राहत मिल्यो कि अब भने आनन्दसँग म सजिलै कुरा गर्न सक्छु भनेर । किन कि म जहिल्यै पनि जुनसुकै क्षेत्रको होस् आफ्नो समकालिन र आफुभन्दा सानो उमेरका हरुसँग नै सङत गर्दै आइरहेको बानिले गर्दा होला अलिक आफुभन्दा सिनियर सँग मलाई कुरा गर्न धक नै लाग्दथ्यो । तर आनन्दको फोटो हेरे पश्चात भने मेरो त्यो अप्ठ्यारोपन र धक भागी सकेको थ्यो । म आनन्दको प्रतिक्षा गरिरहेकि थिए । त्यो भाइ पनि कता हरायो । म केही लेखी पनि रहेकी थिए । त्यहा केही सिपाहीहरु आएर मलाई आश्वासन पनि दिरहेका थिए कि “आनन्द सर आइहाल्नु हुन्छ” भनेर । म केहीलेख्दै समय कटाइरहेकी थिएं। आनन्दको अफिस कोठामा मलाई पट्यार पनि लागिरहेको थियो तापनि गीतका केही हरफहरु कोर्दै समयलाई बुढो बनाइ रहेकी थिए यत्तिकैमा बाहिर जुत्ताको टक् टक् आवाज आयो, मैले अड्कल काटे पक्कै यो चाँही आनन्द नै हुनु पर्छ । म संयमित भएर बसे । त्यो आवाज म भएतिर नै पस्यो । मैले आनन्दको प्रवेशलाई मन भित्रबाट नै स्विकार गरिसकेकी थिए ।

त्यो जुत्ताको आवाज आनन्दको नै रहेछ । वहाँ कोठाभित्र पस्नुभयो म पनि अलिक संयमित बने किनकी म पनि नौलो नै थिए। वहाँ अलिक अन्कनाउदै मेरो अगाडि बस्नु भयो। मैले नमस्कार गरेँ र मेरो परिचय दिए। वहाँ जुरुक्क उठेर मलाई नमस्कार भन्दै “दिदी मैले तपाईंलाई नमस्कार गर्नु पर्छ किनकी तपाईं म भन्दा सिनिअर लेखक हुनुहुन्छ। म सानो हुँदा नै तपाईंका रचनाहरु पढ्ने गर्दथें”। भने, मानौ त्यो समय आनन्दको हाउभाउ यस्तो लाग्दथ्यो कि म वहाँभन्दा कुनै सिनिअर अफिसर हुँ । हुन त सेनाका मान्छेहरु जत्तिपनी मसंग नजिक थिए मैले सबै नै अनुशासित भेटें। मलाई आनन्दको म प्रतिको सद्भावले यस्तो लाग्यो आनन्दभित्र अहमता र अभिमान भन्ने रहेनछ । मलाई पनि वहाँसँग बसेर कुरा गर्न अप्ठ्यारो भ्एन। अब हाम्रा भावनाहरु आदन प्रदान हुन थाले । हाम्रा कुराहरु गीत, सङीत बारे नै भए।

लगभग दुई घण्टा सम्म हाम्रो कुराकानी हुँदा पनि त्यो भाइको अत्तोपत्तो भएन । म भने अब अलिक अत्तालिन थालिसकेकि थिए। हुन त त्यत्रो समय बित्दा पनि समय गएको पत्तो भएन। केही छिन पछी आनन्दले नै भन्नु भयो “ठिकै छ दिदी म बाहिर सम्म छाडि दिन्छु नि अब मेरो पनि ड्युटी अफ हुने बेला भयो”। मैले पनि हुन्छ नि त भनेर पाँच बजेको प्रतिक्षामा बस्न बिचार गरें। त्यही बिचमा आनन्दलाई फोन आयो त्यो फोन राम्रकृष्ण ढकालको रहेछ। आनदले यत्ती भनेको मैले सुने की “भाइ आचार्य प्रभा दिदी अहिले मसँग हुनुहुन्छ तिमी चाडै आउ” त्यहा बाट पनि हुन्छ भन्ने नै जवाफ आयो। त्यस्को केहीक्षणमा नै रामकृष्ण पनि त्यहा आइपुगे। अनी फेरी हाम्रा कुराकानी गीत संगीत पट्टी नै ढल्किए । रामकृष्णको ”आरोह” अल्बमको बिमोचन दुइदिन पछाडि रहेछ त्यसको बिमोचनको निमन्त्रणामा उनले मलाई पनि बोलाए। हुन त उनले मेरो गीत पहिला नै फिल्ममा गाइसकेका थिए, तर म झापामा नै धेरै बस्ने हुनाले मेरो कसैसँग त्यती भेट हुँदैन थियो । मेरो उपस्थिले रामकृष्ण पनि खुशी भए। यसरी पहिलो भेट नै मेजर साहबसँग रमाइलो र खुलस्तसँग बित्यो। म सपनामा नै छु जस्तो पनी महसुश भैरहेको थियो। किन कि आनन्दको भद्रपन र सहज स्वभावले म ज्यादै प्रभावित भैरहेकि थिए। यस्तै कुराकानीको प्रसङमा नै दिनको पाँच बजिसकेछ । हामी सबै निस्कनलाई तयार भयौ । रामकृष्ण र आनन्द्ले सहिद गेट सम्म छाडिदिए । फेरी रामकृष्ण्को बिमोचनमा भेट्ने बाचा गर्दै हामी त्यस्दिन छुट्टीयौ ।

त्यसदिन हामी छुट्टीए पश्चात हाम्रो फेरी रामकृष्णको अल्बमको बिमोचनमा भेट भयो । हामी सँगै बसेर कुराकानी गर्दै त्यो समारोहमा रमाइलो गर्‍यौं । जे होस, आनन्दसङको भेटले म ज्यादै आनन्दित भैरहेकि थिए । मलाई यस्तो महसुश भैरहेको थियो कि मैले बल्ल मात्र एउटा सशक्त, बिद्वत अनी आदर्श ब्यक्ती पाइरहेकी छु जस्को मनमा न कुनै स्वार्थ छ, न कुनै घमण्ड, न त अहमता नै छ न त बनावटि अभिनय नै छ । हुन त मैले यस्तो कुरा गर्न नहुने हो तर मेरो भोगाइमा सबै भेटिएका मान्छेहरु आनन्द जस्ता स्वभावका भेट्न सकेकि थिइन । आनन्दले मलाई जत्ती आदर गर्नुहुन्थ्यो त्यो आदरमा छुटै बिशेषता थियो । नत्र त त्यती ठुलो पोस्टमा बसेको मान्छेले मलाई त्यती सम्मानको साथ ब्यवहार गर्न जरुरी पनि थिएन । तर त्यही ब्यवहार नै त वहाँको बिशेषता भएर मैले आज यती टाढा आएर पनि ती क्षणहरुलाई संस्मरणमा अनुवाद गर्दैछु । त्यो दिन साङितिक परिवेशमा हाम्रो समय बित्यो । छुट्टीने बेलामा मैले आनन्दलाई मेरी दिदिको घरमा आउने आग्रह गरें । वहाँले पनि हुन्छ भन्नु भयो किन कि आनन्दको बोलिमा शायदै ‘हुँदैन’ भन्ने शब्द मैले सुने होला । मैले बोलाएको दिन र समय ठ्याक्कै आनन्द त दिदिको ढोकामा हाजि र! । म त छक्कै पनि परे कि बाटो नचिन्ने पो हुन कि जस्तो लागेको थियो त र आर्मीको जवान त्यही पनि आनन्द । साचै मैले पत्याएँ ।

त्यो दिन दिदिको घर लगनखेलमा आनन्दसँग कुराकानी भए । अब हामी झन नजिकियौं । झन धेरै गीत, सङीतका बारेमा छलफल भए । मलाई झन लेखन क्षेत्रमा अझ हौसला मिल्न थाल्यो । यत्ती सम्म कि हामी भेटे पछी कुराकानीमा समय बितेको पत्तो नै हुन छाड्यो । हामीलाई न कसैको कुरा गर्न नै थियो । न कसैलाई केही भन्नु नै थियो । यस्तो लाग्दथ्यो आनन्द एउटा आर्मी अफिसर भएर पनि वहाँमा कसैप्रती दुश्मनीको छनक नै थियो । न कसैलाई शँका गर्नु नै थियो, न कसैलाई बद्ला लिनुको भावना नै थियो । थियो त केवल आफ्नो ड्युटीमा बफादारी र साङीतिक मोह । शायद यस्तै स्वभाव भएकोले पनि म झन नजिक भ्ए हुँला किन कि कुरा र भावना नै नमिल्ने मान्छेसङको संगत त्यती गाडा र अमीट पनि त हुन्न नि । हुन त संगत धेरै सँग भए । बिर्सन नसक्ने क्षणहरु पनि धेरै छन तर मान्छेको गुण र स्वाभावको आकर्षणले गर्दा पनि होला । आनन्दसङको भेट र क्षण मेरालागी लाभप्रद र एउटा प्रेरणामयी बनेकोले म त्यो क्षणहरुलाई आफ्नो संस्मरणमा अनुवाद गर्ने अनुमती दौतरिसँग मागिरहेकी छु । सबैलाई पाच्य नहुन सक्छ, तर खाली यस्लाई मीठो प्रेरणा मात्र सम्झिदिनु भएमा म पाठकहरु प्रती अनुग्रहित बन्नेछु । कसैको साथ, प्रेरणा कत्तिको सम्झन लायक हुन्छ भन्ने तथ्यलाई एउटा भावना सम्झना बनाइ यहाँरुलाई पस्कने प्रयास गरेकी छु । अझै घट्नाहरुलाई शब्दमा उन्ने काम बाँकी राख्दै फेरी अर्को अंकमा भेट्ने बाचा सहित् मीठो संस्मरणको बिट यही मार्दै बिदा चाहन्छु ।

January 28, 2009

(स्रोत : Dautari )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.