मेरी आमा,
मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म पुग्छ कि पुग्दैन। मलाई यो पनि थाहा छैन आमा मेरो मृत शरीर पनि तिमीसम्क्ष पुग्छ कि पुग्दैन? यो युद्धमा मजस्ता कति शरीरमा गोली लागेपछि यसै कुहिएर गएका छन्। तर आमा, म सपनामा आएर भए पनि तिमीसँग बिदा माग्नेछु। तिमी र बाबालाई मेरो लास नदेखे छोरो फर्किहाल्छ कि भन्ने आश रहिरहन्छ होला। म अन्तिम यात्रामा जानुभन्दा अघि हावालाई यो पत्र उडाएर तिमी समक्ष पुर्याई दे भन्नेछु। ओहो, आमा यो दुखाईसँगै तिम्रो सम्झना बढ्दै गइरहेछ। मेरो टाउको दुखेको बेलामा तिमीले तोरीको तेल तताएर खुट्टामा र टाउकोमा लगाइदिँदा मेरो दुखाई कम भएर निद्रा आइहाल्थ्यो। त्यो तिम्रो न्यानो हातको स्पर्श अहिले याद आइरहेको छ। तिम्रो स्पर्श पाएको भए मेरो गोलीको दुखाई पनि कम हुन्थ्यो कि? आमा, मलाई निद्रा त लागिरहेछ तर म सकेसम्म तिमीलाई यो पत्र सिध्याएर मात्रै आँखा चिम्लिन खोजिरहेछु।
यो गोली कसको हो थाहा छ आमा, हाम्रो घरको तल्लो गरामा काइला बाजे थिए नि उनको छोरो श्याम थियो नि जसलाई म झगडा गर्दा श्यामे, चामे ढामे भन्थें। हो उसैको गोली मलाई लागेको थियो। आमा श्याम र म बन्दुक लिएर जब अगाडि पर्यौं हाम्रो आँखा जुधेपछि, एकछिन त बन्दुक पनि काम्यो। उसको अनुहारमा पनि एउटा मुस्कान आउन खोज्यो तर हातको बन्दुक कस्दाकस्दै उसको मुस्कान हराएर अनुहारमा घृणा भरियो।
तर आमा मैले त्यति बेला श्यामसँग खेलेका दिनहरू सम्झें। सँगै स्कुल जाँदा भागेर पोखरीमा पौडी खेलेको र बाबाले देखेर कान समातेर घर ल्याई सिस्नो लगाउँदा, मैले र श्यामेले रुँदै नाकबाट सिंगान निकाल्दा, तिमीले आएर बाबाको हातबाट हामीलाई छुट्याएको सम्झें। एकदिन श्याम र म उसको घरमा आँटीमा चढेर काकीले बनाएर राखेको आलुको अचार चोरेर सँगै खाएपछि, बिरालोले अचार खायो अनि जुठो भयो भनेर फ्यालिदियौं भनी काकीलाई ढाँटेको सम्झें। आमा श्यामलाई गोली हान्ने साहस नै आएन। हामीले बाबाको पैसा चोरेर मेलामा काँचो नरिवल खाएको देखि गुच्चा खेल्दाखेरी र डण्डीबियो खेल्दाका एकएक दृश्य सम्झें। ती सबै सम्झेपछि मेरो हात काम्यो। अनि उसको गोली मलाई लाग्यो।
स्कुल पास गरेपछि श्याम र मेरो बाटो छुट्टिए पनि गाउँमा फर्केर आउँदा हामी कती कुरा गर्थ्यौं। काम सिद्धिएपछि गाउँमा आएर बस्ने भनेर सल्लाह गर्थ्यौं। श्यामको छोरी भएको चिठ्ठी पाएपछि मैले चाँदीको प्लेट र चम्चा पठाइदिएको थिएँ। श्यामले त्यो पाएपछि कस्तो मीठो चिठ्ठी लेखेको थियो। मेरो टीनको बाकसमा अझै त्यो कतै छँदैछ। आमा यी सबै कुरा सम्झदै गर्दा मेरो बन्दुक काम्यो, निधारमा पसिना आयो। युद्ध भूमिमा शत्रुलाई हान्ने मेरो काम हो, तर आमा श्याम त मेरो गाउँले साथी काइँला बाजे र काकीको छोरा हो। मैले कसरी उसलाई गोली हान्न सक्थें र? ओहो, तर त्यही बेला एउटा गोली आएर मेरो टाउकोमा लाग्यो। मेरो हातबाट बन्दुक खस्यो र म अन्तिम यात्रातर्फ म हिंड्न थालें। आमा, तिम्रो चाउरी परेको अनुहारबाट खसेको आँसु कतै गालामा अड्किएला, त्यो आँसु म नै हो भन्ने ठान है। अन्तिम विदा आमा, तिमी बुहारीलाई पनि सँगै पत्र छ देऊ है।
मेरी प्रिय,
तिम्रो सिउँदोको सिन्दुर मैले तिमीलाई सोद्धै नसोधी आज युद्धभूमिमा चढाएँ। मैले युद्धभूमिमा अन्तिम निद्रा लिँदा कसैले ठीक गरिस् भन्लान्, कसैले गलत भयो भन्लान्। प्रिय, तर मैले मेरो विवेकले देशको लागि केही गरौं भन्दा यो बाटो देखें। प्रिय, मेरो लास तिमीसम्म पुग्न पनि सक्छ, नपुग्न पनि सक्छ तर तिमी म तिमीसँगै छु भन्ठान्नु। सपनामा म आइरहन्छु। तिमीलाई तिम्रो जिन्दगी जसरी मन लाग्छ त्यसरी बाँच। समय समयमा आमालाई सान्त्वना पनि देऊ है।
प्रिय, विवाह पछि केवल ४–५ चोटी मात्र तिम्रो र मेरो भेट भएको छ। तर तिम्रो कोमल हाँसो मेरो दिलमा यसरी बसेको छ कि चिर निद्रा निदाउने बेलामा पनि त्यही मुस्कान सँगै लिएर जाँदैछु। यो जिन्दगीमा लामो समयसम्म सँगै बिताउन नपाए पनि, प्रिय म तिमीसँग वाचा गर्छु, अर्को जन्ममा फेरि तिमीसँग भेट हुनेछ। त्यो बेलामा म हातमा बन्दुक होइन कलम बोक्नेछु। मलाई गोली हिर्काउने श्यामलाई पनि खुसुक्क त्यही भन्न खोज्दैछु। श्याम तिमी बन्दुकको सट्टामा हलो समात। म पनि त्यही गर्छु। खेत खनेपछि थकाई मार्दा प्रिय तिम्रो हातको दही खाने इच्छा हुनेछ मलाई, ल्याऊ है। म यहाँ लड्नुभन्दा अघिदेखि श्याम पनि कसैको गोली लागेर लड्यो। मेरो टाउकोबाट निस्केको रगत र उसको छातीबाट निस्केको रगतको धारा यही धर्तीमा मिल्दैछ। हामीले चाहिँ शत्रु भएर एकअर्कालाई मार्यौं।
प्रिय मेरी, मेरो मृत्युपछि तिमीले जब आँसु बगाउँछ्यौ त्यो आँसुले मलाई पुनः पुनर्जन्म लिन प्रेरित गर्नेछ। मेरो लागि तिम्रो आँसु नै तपर्ण हुनेछ। ओहो! प्रिय यो दुखाइसँगै मृत्युको क्षण नजिक आउँदैछ र यो क्षण तिमी, आमा र घरको पाखोको सम्झना पनि एक साथ आइरहेछ। तिमीलाई सान्त्वनाका शब्द दिन सक्दिन। सम्झनाका शब्द पनि दिन सक्दिन। सक्छु त केवल म तिमीलाई अन्तिम समयसम्म माया गर्छु भन्ने वाचालाई चाहिँ पूरा गरें भन्ने शब्दहरु।
प्रिय, श्याम प्रति कुनै दुराग्रह नराख है। ऊ पनि जन्मभूमिकै लागि लडेको म पनि जन्म भूमिकै लागि लडेको हो। हाम्रा बाटा फरक परे। तर इच्छा त एउटै थियो। हामी र हाम्रा सन्तान फलुन् फुलुन्।
ओहो! प्रिय ल मेरी बुढी आमा पनि तिम्रै जिम्मा। तिमीले म पछि जुन निर्णय लिए पनि मेरी आमालाई साथ राख है। अन्तिम बिदा, प्रिय।
तिम्रो पति।
(स्रोत : Dainikee.com)