~चन्द्र सिंग गुरुङ~
एउटा दुर्भाग्य
जो नचाहँदा–नचाहँदै पनि
समयको पांग्रामुनि जेल्लिएर आईपुग्छ र
आफुसँग लगेर
असंख्य अबला द्रौपदीहरुलाई
विशाल र भब्य दरबारहरुमा,
अँध्यारो गल्ली–गल्छेंडीहरुमा र
सडकको पेटीहरुमा
कौरवहरुको माँझमा उभ्याईदिन्छ ।
जहाँ असंख्य दुशासनहरु
नारी अस्मिताको साडी तान्ने ताकमा छन् ।
यहाँ
द्रौपदीहरुको सतीत्वको रक्षार्थ
कुनै श्रीकृष्णको पदार्पण हुन्दैन
यहाँ त सम्पूर्ण दरबारी, व्यापारी र ग्राहकहरु
जीवनदान होईन
वीर्यदान गर्न आतुर देखिन्छन् ,
यौवनका दुई पहाडहरुमाथि
अमानवीय हातहरुले टेक्न खोज्छन् र
गुराँसझैं कोमल गालाहरुलाई
निष्ठुर शुल्क ओंठहरुले चुम्न खोज्छन् ।
यहाँ
शकुनी मामाहरुले छल गरेर
द्रौपदीहरुको मुटुभित्र धड्कनको साटोमा
लघुताको एउटा आभास उत्पन्न गरि सकेको छ
जो मुटुको स्रोतबाट निस्केर
शिरा र धमनीको बाटो हुन्दै
सरीरको कुना–कुना सम्म पुग्दै छ र
कौरवहरुले बलपूर्वक द्रौपदीहरुको गर्भमा
असहायपनको एउटा बीउ प्रत्यारोपण गरिसकेको छ
जो सलक्क हुर्किन्दै छ ।
यहाँ
धेरै चोटी द्रौपदीहरुको आत्मसम्मान
यौनाचारको शिकार भई सकेको छ र
यौनाङ्गहरु असंख्य पटक
कामुक आँखाहरुको बाणले
रगत पच्छे भई सकेका छन् ।
अब त
यी द्रौपदीहरुले नीरव रातहरुमा
ताराहरु माँझ पीर–व्यथाको थुप्रो लगाई
जून भित्र आफन्तहरुका
अनुहार खोज्न पनि छाडी सकेका छन् ।
चन्द्र सिंग गुरुङ्ग ,
गोर्खा हाल साउदी अरब
(स्रोत : Pardesh.com)