‘उनी मेरी बहिनी– विनिता। पद्मकन्या क्याम्पसमा आईए पढ्दैछिन्।’
मदन दाइले अपरिचित साथी ल्याउनु भएको थियो, घरमा। बिहानीको क्लास सकेर घरमा पुग्दा दुवै जना खाना खाएर कौशीमा घाम ताप्दै थिए। बिहान सखारै क्याम्पस हिड्नुअघि मैले नै दाल तरकारी पकाएर छाडेकी थिएँ। दाइलाई खाना पकाउन त्यति आउदैन, अल्छी लाग्दो हो। साथी घरमा आएको मौकामा भने भात पकाएर ख्वाउनु भएछ।
‘ऊ मेरो साथी निकेश। हामी सँगै काम गर्छौँ अखबारमा। आज छुट्टीको दिन मेरै करले यहाँ आएको हो।’ दाइले साथीको परिचय गराउनासाथ मैले थाहा पाइहालेँ– ऊ त्यही व्यक्ति हो जसको दाइ फ्यान हुनुहुन्छ। मैले उसका समाचार टिप्पणीहरु धेरै पढेकी छु, तिखो लेख्छ, क्रिटिकल भएर। आलोचना सायद पत्रकारिताको धर्म हो क्यारे!
दाइ अक्सर उसको नाम लिइरहनुहुन्छ र भन्नुहुन्छ– साँच्चिकै क्षमतावान युवा छ त्यो। समकालीन पत्रकारहरुमा उसलाई भेट्टाउने दोस्रो मैले भेटेको छैन। मैले लेखेको समाचार उसको हातमा पर्नुपर्छ मेरो बाइलाइनमा छापिँदा गौरव गर्न पाउछु म। तर मान्छे अली घमण्डी छ, कसैलाई टेर्दैन। सायद क्षमता हुनेहरु यस्तै हुने होलान्!
ऊप्रति दाइको बखान धेरैपटक सुनेकी छु, मैले। उसको अनुहार मात्रै अपरिचित हो मेरा लागि। उसको घर, डेरा, काम, व्यवहारसँग म यति परिचित छु कि मानौँ ऊ पनि हाम्रै परिवारको सदस्य हो।
…
म सानै थिएँँ। गाउँको स्कूलमा कक्षा आठमा पढ्दै। त्यतिबेला गाउँमा समाचार र मनोरञ्जनको माध्यम एउटै थियो, रेडियो नेपाल। अहिले जस्तो टेलिभिजन र एफएमहरुको नामोनिसान थिएन। लाग्छ, विहीबारको दिन हुनुपर्छ, साँझ नौं बजेको समाचारपछि एउटा कार्यक्रम बज्थ्यो– हाम्रो गाउँ। म रेडियोको मधुर आवाजमा गृहकार्य गर्दै थिएँ। रेडियोले मेरै छिमेकी गाउँ ‘मैनडाँडा’को बारेमा कार्यक्रम सुरु ग¥यो। मेरो छिमेकी गाउँ तर अलि टाढा पुगेको बेला परिचय दिनुपर्दा आफ्नै गाउँ भने पनि हुने। यो गाउँको बारेमा रेडियोले यति मिठो वर्णन ग¥यो कि म त सुनेको सुन्यै भएँ। हुन पनि हो, मेरा बा आमाको जीवनशैली, गाउँको स्कूल, स्कूल बनाएर हाम्रो भविष्य बनाइदिने गाउँले भद्र भलाद्मी, गाउँलाई हरियालीभित्र लुकाएको जंगल ‘भिर’ र त्यो तल बग्ने रिडी खोला…। वास्तवमा मैरै जीवनशैलीलाई टपक्कै टिपेको थियो, रेडियोले। कार्यक्रमको अन्त्यमा रेडियोले नाम फुक्यो, यसका लेखक हुन्– निकेश। मनमनै धेरै धन्यवाद दिएँ मैले, निकेशलाई। मेरो जन्मभुमिलाई जीवन्त बनाइदिएकोमा।
अहा मैले पनि यस्तै लेख्न सक्ने भए! कस्तो होला निकेश? मेरो बालशुलभ मन, मस्तिष्कमा अमिट छाप बन्यो उसको नाम।
आज मेरै अगाडि थियो, त्यो लेखक। मैरे हातले पकाएको दालतरकारी खाएको थियो त्यसले। तर उसलाई के थाहा? दाइले पक्कै पनि भन्नुभएन होला, बहिनीले पकाएकी हुन् भनेर। मेरो मनले सान्त्वना खोज्यो।
भर्खर टिनएज सकिएको, दुब्लो पातलो र अग्लो। अलि गम्भीर मुडमा देखिएको छ ऊ। मेरो नमस्कार फर्काउँदै मुसुक्क हास्यो र मलाई गहिरिएर हे¥यो–शिरदेखि पाउसम्म। ‘ए तिम्री एकमात्र प्यारी बहिनी यिनै हुन्?’ दाइतर्फ फर्किएर सोध्यो उसले। मदनदाइ हाँसिमात्र रहनुभयो। अब भने मलाई पक्का भयो, दाइले मेरोबारे उलाई भनिसक्नु भएको छ।
‘कुन लेभलमा पढ्दैछयौ नानू?’ निकेशले यति प्रेमपूर्वक सोध्यो कि मैले उसको प्रश्न नसुनेझै गरेँ, फेरि यही प्रश्न दोहो¥याओस् भन्ने चाहनामा।
लजाउँदै जवाफ दिएँ– ‘आइए सेकेण्ड इयर।’
‘कुन बिषय पढ्दैछयौ?’
‘नेपाली र पपुलेसन।’
रेडियोमा सुनेर मनमा नाम कुदेको त्यो पात्रले मेरो बारेमा यति गम्भीरतापूर्वक सोधिरहेको थियो– मानौं मैले राम्रो बिषय पढ्नुपर्छ। र, असल मानिस बन्नुपर्छ। अझ मैले त कसरी बुझेँ भने उसले भनिरहेको थियो– विनी! यदि तिमी मेरो मान्छे हुनुछ भने आजैदेखि असल मान्छे बन्ने बाटोमा हिँड्नुपर्छ। मेहनत गरेर पढ्नुपर्छ। भोलि तिमी मेरो मान्छे हौ भन्न पाउदा मलाई गर्व हुनुपर्छ। खै किन हो! मैले त यसरी नै बुझेँ। तर उसले त यसरी सोचेको पनि थिएन होला ?
‘विनी तिमीले हामीलाई भोगटे साँधेर खुवाउँछयौ होइन? निकेशले आज भोगटे खान पाएन भने त फर्केर नआउला हाम्रो घर।’ दाइ गाँसमा ढुंगा बनेर प्रकट हुनुभयो निकेश र मेरो बीचमा। दाइले बिचैमा प्याच्च नबोलेको भए हुने नि। निकेशले केके सोध्ने थियो मलाई!
‘तिमी भविष्यमा के बन्न चाहन्छौ’ भनेर सोध्थ्यो होला। भन्ने थिएँ– के मलाई पनि तपाईले जस्तै लेख्न सिकाइदिनुहुन्छ?’ अनि जिस्क्याउँथ्यो पनि होला! ‘दाइले त अब बहिनीको बिहे गरिदिने भन्दै छन् नि। कस्तो केटा हेरौँ तिम्रा लागि?’ मैले जवाफ दिने थिएँ– ‘म कहाँ विहे गर्छु अहिले।’ लजाउँदै संकेत गर्ने थिएँ, ऊप्रति– तिमीले नै बिहे गर्ने हो भने त भोलि नै पनि गरुँला। तर मैले त मौकै पाइनँ। बोल्न नसके पनि संकेत त पक्कै गर्ने थिएँ होला। हत्तेरी! म त कहाँ पो हराएछु, कल्पनाको कोशेझाडीभित्र।
मंसिरको उत्तरार्धमा कति प्रिय थिए ती घाम। हामीले छतमा बसेर भोगटे साँधेर खायौं। साँच्चै भन्नु भएको रहेछ दाइले– निकेश भोगटेप्रति भुतुक्कै हुँदो रहेछ। केटीमान्छे जस्तो! मेरो भागको आधा भोगटे पनि उसकै प्लेटमा खन्याइदिउँजस्तो लाग्यो। तर, मैले कसरी हिम्म्त गर्न सक्थेँ र? सायद बच्चादेखि साँधेको भोगटेको स्वाद उसको जिब्रोमा झुण्डिएको थियो।
पसिना चुहाउदै भोगटे खाएपछि निकेशको अनुहारमा नयाँ चमक आयो– भर्खर सुनारले धोएका सुनका गहनाजस्तै।
मैले हलुवा बनाएँ। आलुको अचार साँधे। र, दूधचिया पकाएँ। मलाई आजसम्मकै सबैभन्दा मिठो चिया बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो। दूधमा पानी राखिन। चिनी धेरै राखेँ।
‘लौ, निकेशकै स्वादको चिया बनेछ नि। बिनी तिमीलाई कसरी थाहा भयो निकेशलाई धेरै गुलियो चिया मनपर्छ भनेर?’ दाइको यो प्रश्नको उत्तर दिइनँ मैले। लजालु हँसाइमा टारिदिएँ। मनमनै खुसीले गद्गद् भएँ– जे होस् पहिलो पटकमै उसको स्वादमा चिया बनाएँ। लाग्यो, निकेश आज हाम्रै घरमा बसोस्। विहान उसले मैले पकाएको दाल, तरकारी त खायो तर मैले उसका लागि पकाएको थिएन। मिठो थिएन। साँझ ऊ यहीँ बसिदिए मैले चियाजस्तै उसको स्वादको ग्रेभी मटन, चुकौनी अनि घिउ हालेर पकाएको भात खुवाउने थिएँ। तर, उसको हतारो उत्ति नै बेला शुरु भइहाल्यो। मिटिङ छ रे अफिसमा। साँझ अर्को कार्यक्रममा पुग्नुपर्ने रे। कत्ति न बिजी हुनु परेको उसलाई।
गोरो अनुहार, गम्भीर स्वभाव, मभन्दा अलिकति अग्लो, अलिकति मोटाउने हो भने मेरो कल्पनाको राजकुमारभन्दा फरक थिएन निकेश। जेसुकै होस्, उसले मेरो मुटुमा राज गरेको छ। आज त सशरीर भेटेँ। उसको स्वादको चिया खुवाएँ। पाँच वर्षअघि वैशाख २० गतेको रातिदेखि ऊ मेरो मुटुमा बस्न थालेको हो। धन्य भगवान! तँ चिता, म पु¥याइदिन्छु भन्नुहुन्छ रे हजुर। साँच्चै हो रहेछ। रेडियोको तरंगमा भेटिएको त्यो मान्छेले मेरो हातले बनाएको खाजा खाएर गयो। मैले चिताएरै त आएको हो नि!
…
ल्यान्डलाइनमा घण्टी बजेपछि दौडिदै गएर उठाएँ। ‘बहिनी सञ्चै छौ? पढाइ कस्तो चल्दै छ?’ मैले जवाफ दिनै नपाई निकेशले आदेश दियो– ‘दाइलाई फोन देऊ न।’ एक महिनापछि टेलिफोनमा आवाज सुन्न त पाएँ तर उसले त मेरो मतलबै गरेन। खालि औपचारिकता पूरा ग¥यो, फोन उठाएकोमा। मेरो मनले आग्रह ग¥यो– निकेश प्लिज मसँग कुरा गर न। दाइ माथिल्लो तलामा पढ्दै हुनुहुन्छ, थाहा पाउने हैन क्यारे। मेरो मनको आवाज उसले कसरी थाहा पाओस्। तर, आफूलाई राम्रो पत्रकार ठान्नेले मेरो मनको कुरा पनि थाहा पाएर देखाओस् न!
‘हस्, एकैछिन है’ मैले दाइलाई खबर पु¥याएँ। पूरै आधा घण्टासम्म टेलिफोनमा मच्चिँदै, हाँस्दै गफिए उनीहरु। साथी साथीबीचमा कुनै औपचारिकता थिएन। मैले सुनिरहेँ, वास्ता नगरेजस्तो गरी। मनमनै मुर्मुरिदै निकेशलाई गाली गरेँँ– आखिर यति धेरैबेर गफिने फुर्सद रहेछ त। मसँग पनि पाँचै मिनेट बोलेको भए तिम्रो के बिग्रिन्थ्यो हँ?
…
बिए पहिलो बर्षको जाँच आउनै लागेको छ। रेडियोको मधुर आवाजमा पढ्ने मेरो बच्चैदेखिको बानी हो। काठमाडौं भए पनि रिङरोड बाहिरको हाम्रो घर वरिपरिको खेतमा भर्खरै धान रोपिएको छ। बाहिर भ्यागुताले पनि मेरो रेडियोको संगीत पछ्याइरहेका छन्। सायद फेरि पानी पर्ने छाँट होला! यो रातिमा रेडियोले आफुलाई सदावहार संगीतमा डुबाएको छ।
‘चिठी तिमीलाई लेखुँ भन्थेँ
मनको कुरा मनमै रह्यो …. ’
यो गीत बज्न थालेपछि मेरो मन साँच्चिकै थामिएन। भोल्युम अलि ठूलो बनाएँ। सिरानी काखमा लिएँ। रेडियोसँगै गुनगुनाउन थालेँ। रेडियोले अर्को गीत बजाउन सुरु गरेपछि होशमा आउदा पो थाहा पाएँ– मेरा आँखाबाट बलिन्द्र धारा बगिरहेका थिए। मेरो पीडा ब्यक्त गर्नकै लागि सायद यो गीत लेखिएको थियो कि? मलाई निकेशसँग भेट गराउने यही रेडियो थियो। आज उसको संझनामा रुवाउने पनि यही रेडियो भइदियो। थाहा छैन, रेडियोसँगको मेरो संगतले कति खुसि र कति आँशु दिने हो!
…
एक साँझ हामी खाना खाँदै थियौँ। मदन दाइले सोध्नुभयो– ‘बिनी बोर्डिङ स्कूल पढाउँछ्यौं त? चापागाउँमा मेरो साथीले बोर्डिङ खोलेको छ। बहिनीले पढाउँछिन् भने पठाइदिनु भनेको छ।’
म अलमलमा परेँ। काठमाडौंको बसाइ, सधैँ घरबाटै खर्च मागेर चल्नुपर्ने। दाइ पत्रिकामा काम त गर्नुहुन्छ तर कमाइ भने धेरै छैन भन्ने यसै थाहा हुन्छ। मैले सोधेँं– ‘कति पैसा देलान् र दाइ?’
‘पैसा त खासै हुदैन। तिमीलाई अनुभव हुन्छ नि। दिनभर घरमा एक्लै बस्न पनि त पर्दैन।’
मैले सहमति जनाएँ, अर्को सातादेखि पढाउने गरी। सायद २०५७, भदौतिरको कुरा होला यो। मैले प्रष्ट सम्झिन सकिन अहिले। म बिए दोस्रो वर्षमा पढ्दै थिएँ त्यतिबेला। पद्मकन्या क्याम्पसलाई केटाहरुले ‘ससुराली क्याम्पस’को संज्ञा दिएका थिए। हुन पनि त्यस्तै– नाम मात्रको कन्या क्याम्पस। ब्वाइफ्रेण्ड नभएका केटी साथी त पाउनै मुश्किल! मेरा मिल्ने साथीहरु सबै क्याम्पसको गेटभित्रका लागि मात्रै थिए। जब उनीहरुले क्याम्पसको गेट नाघ्थे, बाइबाइ गर्दै ब्वाइफ्रेण्डको मोटरसाइकल चढेर हुइँँकिन्थे। आफ्नी प्रियसीलाई लिन ती केटाहरु कति घण्टादेखि गेटमा कुर्थे कुन्नि? मेरा साथीले कसैले एक मिनेट ब्वाइफ्रेण्डलाई कुर्नु परेको मैले कहिल्यै देख्नु परेन। विवाह गर्नुअघि केटाहरुले गर्लफ्रेण्डलाई खुबै भाउ दिन्छन् भनेको यही होला!
म पनि ‘ससुराली’ क्याम्पसकी अपवाद थिइन। फरक के थियो भने मेरा साथीहरुका ब्वाइफ्रेण्डहरु गेटमा घण्टौँ मोटरसाइकल लिएर कुर्थे र गेटबाट भित्र चियाउँथे, कतिखेर गर्लफ्रेण्ड निस्किन्छिन् र हुइँकिदै चोभारका डाँडामा पुगौंला भन्दै। तर, मेरो ब्वाइफ्रेण्ड त थियो, मनमा मात्रै। प्रत्येक दिन जब म क्याम्पसको गेटमा निस्किन्थेँ, निकेशको यादले पागल बनाउथ्यो। अरु साथीका ब्वाइफ्रेण्डले कुरिरहेको देख्दा उसलाई गाली गर्थेँ– कति स्वार्थी छ है मेरो ब्वाइफ्रेण्ड। सधैँ नभए पनि कहिलेकाहिँ त गेटमा कुरेर बस्नु नि?’ तर यो माया, गाली र संवाद मेरो एक्लो थियो। कि मलाई थाहा थियो, कि भगवानलाई मात्र। एकैछिनमा सोच्थेँ– विचरा निकेशको यसमा के दोष थियो र मैले उसलाई मनमनै यति धेरै गाली गर्छु। दोष थियो त मेरो मात्रै, किनभने मैले यतिका बर्षदेखि प्रेम गर्ने आफ्नो मान्छेलाई कमसेकम एक पटक ‘आई लभ यु’ त भन्न सक्नुपथ्र्यो। यत्ति पनि भन्न नसक्ने मजस्तो हिम्मत नभएकी केटीलाई निकेशलाई गाली गर्ने के नै पो अधिकार रहन्छ हँ?
…
मैले निश्चय गरेँ– निकेशलाई मेरो प्रेमको कहानी सुनाउनै पर्छ। तर, मसँग उसको फोन नम्बर भए पो। आजकल जस्तो मोबाइल फोनको जमाना थिएन त्यो। राति दाइ सुतेपछि सुटुक्क उहाँको खल्तीबाट टेलिफोन डायरी झिकेँ। र, निकेशको नम्बर टिपेँ। अब भने मैले ऊ सग कुरा गर्न सक्छु जस्तो लाग्यो। अर्को दिन कलेज गइन। बिहान एक घण्टा अगाडि नै बोर्डिङ जान निस्केँ। बाटोमा सार्वजनिक टेलिफोन बुथ थियो जहाँ ढोका लगाएर अरुले नसुन्ने गरी कुरा गर्न सकिन्थ्यो। सरासर त्यही बुथमा छिरेँ र फोन डायल गरेँ।
‘हेलो, को बोल्नु भएको होला?’ निकेशले फोन उठायो। म भने अक्क न बक्क। स्वास फुल्यो। आवाज निकाल्नै गाह्रो। डराएको स्वरमा भने–
‘म विनिता, चिन्नुभएन र?’
‘ए! तिमी मदनको बहिनी होइन र? किन नचिन्नु नि। के छ बहिनी हालखबर? भन न कति कामले फोन ग¥यौ, दाइले केही भन्नुभएको थियो कि?’
अब भने मेरो वाक्य बन्द भयो। के बुझ्थ्यो मेरो कुरा त्यो अधर्मीले। मेरो बोलीको सट्टा आँखाबाट आँसु पो बग्न थाले। उसले मेरा आँस त देखेन तर आँसु बगेको भने थाहा पायो। भनिन्छ, आँसु कुनै तरल पदार्थ मात्र होइन, यो त भावना हो। मान्छेले बोल्न नसक्दा ब्यक्त गर्ने त्योभन्दा कैयौं गुणा शसक्त भाषा। मेरो त्यही भावना बगिरहेको थियो।
म सुँक्कसुँक्क रोइमात्र रहेँ।
‘तिमीले किन त्यसो गरेकी भन त?’
‘हजुरले मेरो कुरा कहाँ बुझ्नु हुन्छ र? मलाई कहिले वास्ता गर्नु हुन्छ र?’
‘त्यस्तो हैन विनी। मैले कहिले तिमीलाई वेबास्ता गरेको छु र? फेरि तिम्रो र मेरो केही कुरा नै कहिले भएको छ र?’
‘मैले हजुरलाई भेट्नु छ। भन्नुस् कहाँ आउँ म?’
मैले हिम्मत जुटाएर भेट्ने प्रस्ताव गरेँ। यतिन्जेलसम्म पनि ऊ अलिअलि बुझेजस्तो र अलिअलि नबुझेजस्तो अवस्थाबाट गुज्रिएको प्रष्ट बुझेँ मैले।
‘आऊ न त अफिसमा। म यहीँ त छु।’
‘हुँदैन,’ मैले जबर्जस्त आग्रह गरेँ, ‘मलाई हजुरसँग एकान्तमा भेट्नु छ। हजुरकै अगाडि आँसु बगाउनु छ।’
अब भने निकेश साँच्चिकै झस्कियो। सायद मबाट यस्तो प्रस्तावको अपेक्षा नै थिएन उसलाई।
‘म भोलि बिहान यति नै बेला फोन गर्छु। र, पर्सि शनिबार भेट्न आउनेछु।’
‘हुन्छ,’ अलि अलमलाएर जवाफ दियो उसले।
आज मैले संसार जितेकी थिएँ। म बर्षौँदेखि निकेशलाई माया गर्थेँ। तर एकोहोरो मात्रै– वान साइडेड लभ।
आज मैले उसलाई प्रष्ट पारिदिएँ कि तिमी मेरो बर्षाैँदेखिका प्रेमी हौ। हो, निकेश तिमीसँग प्रेम ब्यक्त गरेको त्यो दिनमात्रै पनि म यस्तो भावनामा डुबुल्की मारेँ मानौं म सातै महासागर माथि मस्तसँग तैरिरहेकी छु। विद्यार्थीलाई पढाउने नयाँ जोश थियो मसँग। मन प्रफुल्ल। मानौं म वर्षौदेखि बिरामी भएर अस्पतालमा लडेकी थिएँ र त्यो दिन मेरो रोग पुरै निको भएको थियो। म त्यसैगरि खुलेकी थिएँ जसरी पानी परेपछिको आकाश खुल्छ। सहकर्मी केटी साथीहरु आश्चर्यजनक भावले मलाई हेर्दै थिए। उनीहरुसँग पनि यस्ता दिनको अनुभव पो थियो कि!
अर्को दिन मलाई त्यही टेलिफोन बुथ पुग्न हतार थियो जहाँबाट मैले मेरो प्रेमीलाई म तिम्री प्रेमिका हुँ भन्न सकेँ। म सहजताका साथ बुथभित्र छिरेँ। फोन डायल गरेँ।
निकेशले प्यारपूर्वक सोध्यो–
‘बिनी, भोलि साँच्चिकै भेट्न आउने हो?’
मनमा कुनै द्विविधा भए पो। निर्धक्क भनिदिएँ–
‘हो, १२ बजे आइपुग्छु। भन्नुस् कहाँ आउँ?’
‘ठीक छ, रत्नपार्कको रातो घरअगाडि भेटौँ। कतै बसेर चिया पिउँला हुन्न?’
‘मलाई चिन्नु त हुन्छ हजुर।’ मैले उसको मन चोरेँ।
‘धत् लाटी चिन्दिन होला त। त्यति मिठो भोगटे साँधेर ख्वाउनेलाई पनि।’
‘बाइ।’ म बोर्डिङतर्फ लम्किएँ, भोलिको मिठो भेटको कल्पनामा तैरिँदै।
…
म पुग्नुअघि नै निकेश हाजिर थियो, रातो घर अगाडि। परैबाट देखेँ मैले। ब्ल्याक पाइन्टको खल्तीमा दुवै हात घुसारेर ऊ कसैसँग मस्त गफ दिँदै थियो। ऊ नजिक पुग्ने आँट आएन, परैबाट हेरिरहेँ। सल टाउकोमा हाले, मुख अलिकति छोपिने गरी। म लाजले भुतुक्कै गलेकी थिएँ, त्यतिबेला। उसले म आउने बाटोतर्फ नजर डुलाउँदै थियो। पर कम्पाउण्डमा टाँसिएर उभिएकी मलाई देख्न उसलाई दश मिनेट लाग्यो।
‘बिनी, कतिखेर आइपुग्यौ? किन यहाँ बसेकी त?
मैले लाजले टाउको झुकाएँ र मुस्काएँ मात्र।
मूल सडकमा मसँग गफ गर्न उसलाई अप्ठयारो भएको मैले सहजै अनुमान गरेँ। चिनजानका कसैले केटीसँग गफिएको देखे भने उसको इज्जत पो जान्थ्यो कि! ऊ आफूलाई शहरमा गिनेचुनेको पत्रकारमध्येको एक मान्थ्यो।
ऊ अगाडि लाग्यो, म पछिपछि। घण्टाघरबाट अगाडि लागेको मान्छे एकैचोटी कमलादी मोडमा पुगेपछि मात्रै मलाई फर्केर हे¥यो। त्यहाँबाट भित्र गल्लीको बाटो समायो र एउटा एकान्तको रेष्टुराँमा पुगेर अडियो। झुक्किएर कसैले पनि आफूलाई नदेखुन् भन्ने उसको आशय बुझ्न कुनै कठिन थिएन।
मेरो प्रेमी पहिलोपटक आफ्नै सामुन्ने मतर्फ फर्किएको थियो। अनुहारमा जति हेर्न मन लाग्यो धोको पु¥याएर हेर्न पाउने गरी। यो दिनका लागि मैले पाँच वर्षको कुर्बानी दिइसकेकी थिएँ। उसले चिकन मम मगायो। मैले असहमति जनाइनँ। कुरा उसैले सुरु ग¥यो।
‘ल भन बिनी, कति कारणले मलाई भेट्न चाह्यौ?
म निश्चिन्त थिएँ। आज कुनै कुरा बाँकी राख्दिन भनेर। एकान्त पाएपछि झनै सजिलो भएको थियो।
‘अब पनि शब्दमा केही कुरा भन्न बाँकी छ र? मेरो अनुहार पढ्न सक्नुहुन्न?’
गम्भीरतापूर्वक निकेशले भन्यो–
‘अर्काको अनुहार पढ्न सक्ने भइदिएको भए म ठूलै पत्रकार भइसक्थेँ।’
‘हजुरले अब पनि नबुझेझैं गर्न पाउनुहुन्न। म तपाईँको प्रेममा पागल भईसकेँ। मेरो हालतप्रति दया लागेर भगवानले तपाईँसँग भेट गराइदिनुभयो।’
मैले बेलिविस्तार लगाएँ, निकेशसँग मेरो प्रेमको। घरि आँशु पुछ्दै त घरि मुस्काउँदै।
‘मलाई विश्वास छ, हजुरले आफ्नो प्रेमलाई अस्वीकार गर्नुहुने छैन।’ यति भनेर म अडिएँ।
निकेशको अनुहार हेर्नलायक गम्भीर हुँदै गयो। प्रेम प्रस्तावको एक घण्टा लामो पृष्ठभुमि सुन्दासुन्दै उसको अनुहारलाई समुद्रको छालले धक्का दिइरहे।
‘तर बिनी, तिमीलाई मेरो बारेमा थाहा छैन,’ निकेशले बोल्न शुरु ग¥यो। तिम्रो प्रेम मेरालागि अतुल्य छ। म यति धेरै भाग्यमानी हुँलाजस्तो लागेको थिएन, जसले मलाई पाँच वर्षदेखि यति धेरै प्रेम गर्छ। तर थाहा छ, तिमीले रोजेको प्रेमीले तिमीलाई खुसी दिन सक्ने छैन।’
‘मैले अखबारका पाना त भर्न सक्छु। तर, हाम्रो पेट भर्नसक्ने सामथ्र्य राख्दिन भन्ने तिमीलाई थाहै छैन,’ उसले आफ्नो विवशता बुझाउने कोशिस ग¥यो र मलाई सम्झाउँदै भन्यो– ‘तिमी एक्ली छोरी, पुल्पुल्याएर हुर्काउनुभएको छ बाबाआमाले। दुःख के हो, तिमीलाई थाहा छैन। तर तिमीले यस्तो व्यक्तिलाई प्रेम गरेकी छ्यौ ऊसँगको जीवनमा तिमीले कहिले पनि सुखी जीवन नपाउन सक्छ्यौं।’
‘बिनी तिमीले मसँग प्रेम गर्ने कुरा दशपटक फेरि सोच्नुपर्छ है। फेरि तिमी अलि परिपक्व पनि त भएकी छैनौं। तर यो नसम्झिनू कि मैलै तिमीलाई प्रेम नै गर्दिन।’
प्लेटमा चिसिएको मममा मेरा आँशु पनि मिसिए। वास्तवमा मैले उसका धेरै कुरा नै बुझिनँ। तर, उसलाई के कुराका आश्वस्त तुल्याउन खोजेँ भने म तिम्रा लागि जस्तो सुकै दुःख भोग्न पनि तयार छु।
…
मेरो प्रस्ताव अस्वीकार गरेको थिएन उसले। तर, यस्तो प्रस्ताव नआएको भए नै जाती हुन्थ्यो भन्ने मनोदशामा देखियो। सायद उसका आफ्नै सोंचाइ थिए होलान्। विवशता थिए होलान्। अरु कसैलाई आफ्नो बनाउने वाचा पो गरेको थियो कि! तर मेरा लागि यी सब कुराको अर्थ थिएन। ऊ मेरै थियो र आजदेखि त झन् मेरैमात्र भएको थियो।
आज दाइको अनुहार मलिनो थियो। साँझको खाना खाँदै थियौँ। अप्ठयारो मान्दै भन्नुभयो– ‘हामीले एउटा केटो हेरेका छौँ। एमएस्सी गर्दैछ। मैले लामो समयदेखि चिन्छु। परिवार पनि राम्रै छ। तिम्रो भविष्य राम्रो हुनेछ। हामी परिवारका तर्फबाट ठीक छ भन्ने निर्णयमा पुगेका छौँ। तिमीले पनि नकार्नुपर्ने केही छैन।’
मेरा लागि योभन्दा अप्रिय कुरा अरु के हुन्थ्यो र? म अवाक भएँ र भने–
‘अहिले म विवाह गर्दिन। तपाईँहरुलाई केको हतार भयो?’
‘कुरा बेला भयो कि भएन भन्ने होइन। राम्रो केटा आएको छ। हामीले तिम्रो भविष्यका लागि यस्तो निर्णय लिएका हौँ।’
मेरो विवाह गर्ने फाइनल भइसकेको छ भन्ने प्रष्ट संकेत पाएँ मैले। म अश्रुधारासँगै कोठामा पुगेँ। आँखा अगाडि निकेश नै निकेश थियो। कति बेला उसलाई फोन गरुँ र मलाई विवाह गर्ने निर्णयमा पुगिहाल भनुँ भन्ने बाहेक केही सोचिन मैले। तर, रातमा मैले ऊसँग कुरा गर्ने कुनै उपाय थिएन।
बिहान हतारिँदै बोर्डिङ जानुअघि म त्यही बुथमा पसेँ जहाँबाट मैले निकेशलाई पहिलोपटक फोन गरेकी थिएँ। हतारिँदै सबै कुरा बताएर उसलाई मैले अनुनय गरेँ–
‘कृपया मलाई बिहे गर्ने निर्णय लिनुस्। म तपाईँबाहेक अरु कोहीसँग बिहे गर्न सक्दिन।’
‘तर बिनी! मैले अहिले बिहेको बारेमा सोच्ने त के कल्पना पनि गरेको छैन। स्नातकको पढाइ पूरा भएको छैन। राम्रो जागिर छैन। र, अलिकति पनि पैसा छैन। कुनै पनि दृष्टिले म बिहे गर्न सक्ने हालतमा छैन, अहिले।’
‘त्यसो भए मलाई अहिले एउटा मात्रै वाचा गर्नुस्, जुन दिन बिहे गर्ने वातावरण बन्नेछ, त्यो दिन मैले तिमीलाई बिहे गर्नेछु भनेर। प्लिज!’
‘हुन सक्छ, अर्को दश वर्षसम्म पनि म बिहे गर्न नसक्ने अवस्थामा रहनेछु। म तिमीलाई कहिलेसम्म कुराएर राखुँ। आज म पहिलोपटक तिमीसँग मनको कुरा राख्छु। हो, म तिमीलाई पनि त्यत्तिकै माया गर्छु। जति तिमीले मलाई गर्छर्यौ। तर, यसको अर्थ तिम्रो सुन्दर भविष्यलाई अन्धकारतर्फ धकेल्न म चाहन्न। परिवारले तिम्रा लागि जुराइदिएको व्यक्तिसँग विवाह नगरेर मलाई वर्षौँसम्म कुरिराख भन्न म सक्दिन। किनभने म तिमी खुसी र सुखी होऊ भन्ने चाहन्छु।’
‘म यो बिहे गर्न सक्दिन। तपाईलाई कुर्न तयार छु। तर, तपाईले मलाई धोका दिन भने पाउनुहुन्न, है।’ मैले उसलाई वाचा गराउन चाहेँ। तर, उसले मलाई रोक्न चाहेन। भन्यो– ‘तिमी अरुसँग बिहे गर्दैछयौ भन्ने सुन्नुपर्दा मेरो हालत कस्तो भइरहेको होला? तिमी आफैँ विचार गर्न सक्छ्यौ। तर, कुनै टुंगो नभएको मेरो भविष्यको पछि लागेर तिमीले आफूलाई सधैँका लागि दुखी नबनाऊ भन्ने मेरो अन्तिम सल्लाह छ। मेरा लागि तिमीले आफ्नो भविष्य बिगार्नु हुँदैन।’
म विचार तरंगको नदीको भुँमरीमा पौडी खेल्दै थिएँ। यता बिहेको तयारी सुरु भइसक्यो। परिवारको निर्णयमा विद्रोह गरौँ, निकेशको साथ छैन। नगरौँ, त्यो बिहे मेरा लागि छँदै थिएन। मैले नदीमा खियाउन छाडिदिएँ। जलप्रवाहले मलाई जता लग्नुछ लगोस्। जहाँ हुत्याउनु छ हुत्याओस्। न मेरो प्रेमीले मलाई साथ दिँदै थियो, न परिवारले नै। विवाह मेरो हुँदै थियो, तर मबाहेक परिवारका सबैजना खुसी थिए। उनीहरुले एकपटक मेरो इच्छा जान्न पनि जरुरी ठानेनन्। बस्, निर्णय लिए ममाथि लादे। उनीहरु सोच्दै थिए होलान्, विवाहको मामिलामा सबै केटीहरु अलिअलि नखरा त गरिहाल्छन् नि। तर म मेरो जीवनलाई बलिमा चढाउँदै थिएँ, विवाहको त्यो मण्डपमा।
मन जलेपछि मानिस पोखिन चाहँदो रहेछ। म पनि पोखिँदै थिएँ, मन मिल्ने साथीसँग। जन्ती आउने बेला हुँदै थियो, मैले बन्दनालाई कोठामा बोलाएँ र ढोकामा आग्लो लगाएर मेरा सबै पिंडा पोखिदिएँ। उसले निकै अमिलो मन गरी। आफैँ सम्हालिदै र उसलाई पनि सम्हाल्दै मैले भने– ‘बन्दना, म परिवारका लागि यो विहे गर्दैछु। बस्, आमा बुवा र दाइहरुको चित्त नदुखाउनका लागि। तर, मैले एउटा सन्तान चाहिँ निकेशबाटै उपहार लिनेछु। त्यति त देला नि उसले?’
मेरो कुरा सुनेर ऊ गलेर ढली। विवाह मण्डपमा मसँगै लोकन्ती बस्नुपर्ने ऊ कतै देखा परिन। मैले पनि बोलाइन। त्यो मण्डपमा आखिर मेरो को पो थियो र? बलिन्द्र धारा आँसु नै मेरा साथी, हितैषी थिए। ती आँसु माइतीघर छोडेर जानु पर्ने भो भनेर बगेका होइनन्। देख्नेका लागि मैले माइतीघर छोड्नु पर्दा कति धेरै चिन्ता मानेकी थिएँ। तर, ती आँसु त निकेशको सम्झनामा बगेका थिए। ऊसँगै जग्गेमा बस्न नपाउँदा, उसको हातबाट मेरो सिउँदो रंग्याउन नपाउँदा बगेका थिए। जुन मुटुमा निकेश थियो, त्यहाँबाट उसलाई जबर्जस्ती हटाइदै थियो। नयाँ मान्छेका लागि बस्ने ठाउँ खालि गराउन। हो, त्यो मण्डपमा मेरो विवाह होइन, मेरो मुटुको बाइपास सर्जरी गरिँदै थियो। मुटुको मेरो टुक्रालाई काटेर फाल्नुपर्ने थियो। र, त्यो ठाउँमा नक्कली सिरा, धमनी जोड्नुपर्ने थियो। धार्मिक विधिपूर्वक मेरो मुटुको शल्यक्रिया गरिरहेका थिए, पण्डित बाजेले, संस्कृतका श्लोकहरुको कैँची चलाउँदै।
…
ओहो! दश वर्ष पुगिसकेछ मैले विवाह गरिसकेको पनि। एक छोरी र एक छोराकी आमा बनिसकेँ म। सायद म यस्ती भाग्यमानी केटी हुँ जसले श्रीमानबाट असीम माया पाउँछन्। आजका दिनसम्म कुनै एउटा गुनासो छैन, बाबु आमाले खोजेर दिएको श्रीमान्प्रति। धनसम्पत्तिको अभावले ब्यहोर्नु पर्ने दुःखको इतिहास मसँग होला तर श्रीमानको मप्रतिको समर्पण र मायाको सुखद इतिहास पनि मसँगै छ। तर पनि मैले किन निकेशलाई बिर्सिन सकिनँ? किन ऊ पलपल मेरो दिमागमा घुमिरहन्छ? किन मेरो मनले उसलाई नै खोजिरहेको छ? वास्तवमा मलाई नै थाहा छैन। हो, मलाई असाध्यै माया गर्ने श्रीमान पाएपछि मैले मनमनै वाचा गरेकी थिएँ, अब निकेशलाई मेरो मन, मुटुबाट निकालेर फालिदिन्छु। त्यसले मलाई धोका दिएको हो। मलाई अपनाउन नसक्ने त्यो अधर्मीलाई मैले पनि बिर्सिदिन्छु। उसलाई भुलेर पनि सम्झिन्न म। तर मेरो वाचा मनमनै गुनगुनाउन्जेलसम्मका लागि थियो। त्यसपछि त ऊ फेरि मेरै वरिपरि आएर बसिहाल्थ्यो। साथमा एउटा असल साथीजस्तै श्रीमान छन्। छोराछोरी छन् तर पनि म खालिखालि छु। कोही आत्मीय मानिसलाई भर्खरै दाहसंस्कार गरेर फर्किए जस्तै। सबैथोक छ तर केही पनि छैन। उसलाई चिन्ने मेरा नजिकका साथीहरु भेट हुनासाथ नजानिँदो पाराले उसकै बारेमा सोध्न थाल्छु। के गर्दैछ होला ऊ? विवाह ग¥यो होला कि अझै गरेको छैन होला? एकदिन माघ महिनाको पहिलो साता यसैगरि सोच्दै थिएँ। उसलाई नजिकबाट चिन्ने मेरो साथीले भनी– केही दिनपछि उसले विवाह गर्दैछ। यही काठमाडौंबाट।
म फेरि बौलाएँ, अर्कोपटक। लाग्यो, उसले विवाह गर्ने केटी मबाहेक अर्की हुनै सक्दैन। त्यो जग्गेमा सिँगारिएर बस्ने दुलही ममात्रै हुनुपर्छ। उसले लिएर आउने कारमा अन्मिने बेहुली मैमात्र हुन सक्छु। उसले फेरि पनि स्वीकारेन भने म उसको विवाह भाडिदिन्छु। भन्छु– उसले वाचा गरेको थियो, जुन दिन विवाह गर्छु तिमीलाई नै गर्नेछु भनेर। ऊ मेरो हो, विगत पन्ध्र वर्षदेखि। के शारीरिक रुपमा सँगै बस्ने केटा मात्रै आफ्नो र मन मुटुमा बस्ने चाहिँ आफ्नो हुँदैन? कसरी आज अरुलाई सिन्दूर हालिदिन पाउँछ उसले? माघको चिसो मौसम मेरा लागि झरीमा परिणत भयो। माघ महिनाभरि घाम लागे वा लागेनन्, मैले थाहा पाइन। तर, जीवनको कठोर यथार्थ मेरो अगाडि थियो। सायद मेरा आँसु उसका लागि भाग्य लेख्ने मसी पो बनिरहेका थिए कि!
…
मलाई थाहा थियो, जब मन भरिन्छ नि पोखिनुपर्छ। म पहिलो पटक विवाहको दिन पोखिएकी थिएँ, साथी बन्दनासँग। आज उसैसँग पोखिन चाहेँ जसका कारण मेरो मन भरिएको छ।
‘हेलो!’ मैले निकेशको मोबाइलमा फोन गरेँ।
‘हेलो, को बोल्नु भयो होला?’ निकेशले उसैगरी सोध्यो, जतिबेला मैले टेलिफोन बुथबाट उसलाई फोन गरेकी थिएँ।
‘म बिनी। बिर्सिनु भयो है। मेरो आवाज पनि चिन्नु सक्नुहुन्न,’ म अलिअलि लजालु तर निर्धक्कसँग भनँे। मैले जे गुमाउनु थियो, गुमाइसकेकी थिएँ। अब के नै पो गुमाउनु थियो र?
‘ओ माइ गड! आई डण्ट विलिभ, यु आर कलिङ मी। विनी, चिनिहालेँ नि। कस्ती छ्यौ तिमी?’ एक सासमा सोध्यो उसले।
‘म ठिकै छु। हजुरलाई कस्तो छ?’
‘ठिकै छु। यस्तै त हो। चल्दैछ जिन्दगी।’
‘के हामी सँगै चिया पिउन सक्छौं?’ मैले भेट्ने प्रस्ताव राखेँ।
‘स्योर। मेरो अफिसमा आउन मिल्छ कि? यतै कतै चिया पिउँदै गफ गरौँला नि हुन्न?’ उसले सहर्ष निम्ता दियो।
हामी दश वर्षपछि फेरि आमुन्नेसामुन्ने थियौँ। मलाई यस्तो लाग्यो, मानौं विदेशमा पढ्न गएको मेरो लोग्ने दश वर्षपछि आज फर्किएको छ। शारीरिक रुपमा टाढा भएर के भयो त, आखिर ऊ मेरै त हो। र, म उसकै हुँ। मनभरि कुराहरु थिए, उसलाई भन्नुपर्ने। छोरी जन्माउँदा मैले कति दुःख पाएँ। सुत्केरी व्यथाले मलाई च्याप्दा तिमी किन नआएको भनेर सोध्न मन लाग्यो। पहाडका ‘रोचे गाग्री’मा पधेँराबाट पानी बोग्दा कतिपटक लडेँ भनेर तिघ्रामा लागेका घाउ देखाउन मन लाग्यो। विवाह गरेको दुई वर्ष पहाडमा बस्दा रिडी बजारतिरको बाटो हेर्दाहेर्दै मेरा आँखा कति पाट्टिए तर तिमी किन नआएको भन्दै झगडा गर्न मन लाग्यो। उसका काखमा बररर आँसु झारेर सारा पींडा व्यक्त गरुँजस्तो लाग्यो। आफ्नो मान्छेको सामिप्य पाउनु नै लाख रहेछ। मैले एक शब्द नै नभनी सारा कथाहरु उसलाई सुनाएँ। ऊ गम्भीर बनेर मलाई पढिरह्यो।
मैले दोस्रो र सायद अन्तिम भेटको निम्ता दिएँ उसलाई नगरकोटको डाँडोमा पुरै दिन सँगै बिताउने गरी। निकेशको कारमा हुइँकिदै हामी एकाबिहानै डाँडोमा उक्लियौं। क्लब हिमालयमा कफी पियौँ। टावर चढयौँ। किन ढाटुँ– त्यसदिन म सारा सामाजिक मर्यादा उल्लंघन गर्दै उसको काखमा लुटपुटिएँ। बच्चा बनेर खेलें। प्रेमिका बनेर स्पर्श गरेँ। निकेशबाट म जे जे चाहन्थें, सबै पूरा गर्नु थियो त्यो दिन। मेरा लागि त्यही एक दिन मात्रै बाँकी थियो, निकेशसँगै बिताउन। हो, म यसअघि पनि पोखिएकी थिएँ, तर पोखिँदापोखिँदै मन भरिएको थियो। तर, आज म यस्तरी पोखिएँ कि मेरो मन खाली भयो केही छिनका लागि भए पनि। पुरै खाली। भन्न त मन थियो– निकेश, तिमी त मेरो भएनौं तर मलाई एउटा सन्तान उपहार देऊ न प्लिज। तर, मलाई हतार भइसकेको थियो, प्रशान्त महासागरका छालहरुमा तैरिँदै अर्को महासागर भेट्न। अर्को दिनको सूर्योदयसँगै मेरो जीवनको नयाँ यात्रा सुरु हुदै थियोे– अमेरिकी नागरिकका रुपमा जहाँबाट म यो कथा लेख्न त सक्छु। तर, निकेशलाई स्पर्श गर्न पाउदिँन। सायद, यो जीवनभरका लागि।
प्रकाशित मिति: शनिबार, कार्तिक १५, २०७१ १४:४९:०१
(स्रोत : Setopati.com )