(भुजंगप्रयात)
कतै यो हुरीले घरै लान्छ जस्तो
उडायो कि छानो मनै हान्छ कस्तो
डराएर आफू कुनामा छु काँप्दै
सबै झ्यालढोका थुनेरै सराप्दै ।।
धुलो मित्र पैले घरैभित्र आए
कुना कन्दरासम्म आफैँ रमाए
जहाँ दृष्टि नै पर्न सक्दैन जस्तो
त्यहीँ मौन बन्दै बसेरै बिताए ।।
कतै छिस्किनीले तमासा बनायो
उडाएर पर्दा कुनामै पुर्यायो
यही नै छ मौका भनेझैँ हुरीले
सतायो मलाई सँगै त्यो झरीले ।।
असाध्यै छ चाँडो न ता सोच्न भ्याएँ
यता छोप्न खोज्दा न ता छोप्न भ्याएँ
सबै बाछिटाको जहानै छिरायो
घरैभित्र पानी पसेरै सतायो ।।
घना मेघ देख्ता कतै क्रोध गर्दै
परेको छ पानी निकै उग्र बन्दै
सँगै हुन्डरीको कुनै नृत्यजस्तो
िवचित्रै तमासा बनेको छ कस्तो ।।
कतै ताण्डवी नृत्य गर्दै हिँडेझैँ
कुनै दुष्ट मार्ने गरी तम्सिएझैँ
नरोक्ने खुलेरै लडेरै जितूँ झैँ
बढेको छ आजै हुरी उर्लिएझैँ ।।
कहाँ युद्ध कस्तो कताको छ यात्रा
नबुझ्दा नबुझ्दै घरैभित्र जात्रा
कतै भित्रभित्रै हुरीले उडायो
घरै उड्न लाग्दा झरीले सतायो ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको ।)