हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए l यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए l जुनबेला उसको भर्भराउदो जवानीको रापले तातिएर उम्लिएको थियो l आज त्यही मान्छे मलाई देखाएका सपनाहरू; मलाई बाडेका आश्वासनहरू अनि मलाई दिएका भरोसाहरूलाई बिर्सिएर चिसाम्मै भएर पल्टिएको छ l उसले नाबिर्सोस मेरा भरोसालाई आगामी भेटसम्म र साचेर मैलाई बुझावस भनेर आँशुसँगै पठाएका मेरा विश्वासका कोसेलीहरू पनि नफर्काइ निर्जीव भएर काठको बाकसमा लम्पसार परेर आएको छ l म रुन्न हे ! प्राण मेरो यौवनतालाई लुटेर किन जुठो बनायौ भनेर l म रुन्न मेरो विश्वासको पोखरी किन धमिल्यायौ भनेर l बरु मलाई भन्न मन लागेको छ -” मेरो प्राण ! तिमी कायर हौ मेरो जवानीसँग डरायौ l ” बरु मलाई भन्न मन लागेको छ – “तिमी विश्वासघाती हौ मेरो विश्वासलाई लत्यायौ भनेर l ” तर म भन्दिन किनकि ऊ सुन्दैन l ऊ निदाएको छ चिर निद्रामा स्वतन्त्र रुपले सुरक्षित कवचभित्र लम्पसार परेर l
“जीवन र जिन्दगी देखि थाकेर नाभाग्नु है” हाम्रो मिलनको पछिल्लो रात यसै भन्दै मेरो कोखमा लुटपुटिदै भक्कनिएको थियो l
“छि लाछी! लोग्नेमान्छे भएर पनि आइमाई मान्छे जस्तै कोमल मन बनाएर रुन हुन्छ त!” सायद यसै भन्दै मैले उसलाई मेरा अन्तरमनबाट पूर्वाग्रह बिना हास्दै खेल्दै निस्किएका भावनाहरूले उसको टाउको मुसारेको थिए l मलाई नभाग्नु भन्ने आज आफै जीवन र जिन्दगीसँग डराएर सदाका लागि भागेर काठको बाकसभित्र लुकेर आएको छ l उसले सुन्ने भए मैले भन्ने थिए -“देख्यौ लाछीहरु मात्र भाग्छन जीवन र जिन्दगीका संघर्षहरूबाट l” तर ऊ सुन्दैन l
विवाहमा पनि लाउन पाइन् मैले मेरो मनले चाहेको बनारसे साडी l उसले बुझेको थियो मेरो इच्छालाई त्यसैले पटक पटक हुने फोन वार्तालापमा दोहाराइ तेहराई भन्थ्यो – “म आउदा बनारसे साडी ल्याइदिउला |” म प्रतिको उसको माया देखेर उसले नदेखे पनि खुसीका आँशु भक्कानिएर तुरुक्क चुहाई दिन्थे lआज भन्न मन लागेको छ -“बनारसे साडी ल्याइदिने तिम्रो सपनाले जीवन भरि अब म सेतो साडीमा बेरिने भए l “
तर भन्दिन किनकि उसले सुन्दैन l उसले सुन्ने र देख्न सक्ने भए यसरी लाछी भएर निर्जीव काठको बाकस भित्र लुकेर कदापि आउने थिएन l ऊ त लाछी मात्र होइन भगौडा पनि हो भाग्यो मेरो जीवन र जिन्दगीबाट l
मैले विवाहको लागि मण्डप रोजिन l आमा बाउको आशीर्वाद थापिन l मैले उसको जात धर्म पनि रोजिन l रोजे केवल उसको अन्तर आत्मालाई l शहरमा भौतारिदै भबिष्य खोजिरहेको युवक प्रतिको मेरो आशक्तिले ऊ गलेको थियो निमेष भारको मेरो मायामा l मैले उसको औला काटेर उसको रगतको सिन्दुर लगाएकी थिए l जीवन जिउने कलामा ऊ अधकल्चो अल्लारे थियो म पनि दुरुस्त ऊ जस्तै थिए l ऊ यौवनको पाइन थप्दै थियो म भर्खर बल्दै गरेको आगो जस्तै जल्दै थिए l भविष्यका अप्ठ्यारा यात्राका काहाली लाग्दा चढाई उसले देखेन त्यसैले त उसले मलाई भगाएको थियो र म भागेकी थिए l सुन्दर संसारको स्वच्छन्द बस्तीमा लैला मजनु भएर सँगै मरौला सँगै बाचौला भन्ने कसम विवाहको मण्डपमा नभए पनि उसले बिच्छाएको बिछौनामा बसेर हामी दुवैले खाएका थियौ l आज भन्न मन लागको छ -” तिम्रो कसम फगत देखाउनका लागि मात्र रहेछन l तिमी भगौडा हौ l ” तर म भन्दिन किनकि यसरी व्यक्त गर्ने मेरा आक्रोसयुक्त शब्दहरूअब उसले सुन्दैन l
अन्तिम रात हामी धेरै रोएका थियौ l बिपना सपना देखे जस्तो रहेनछ l उसले मेरा खातिर ढुङ्गा बोक्यो l मैले उसका लागि गिट्टी कुटे l जसरी उसले बोकेका ढुङ्गाहरु मैले कुटेर चकनाचुर पारिदिन्थे त्यसै गरी मैले बोकेका सपनाहरू आज उसले चकनाचुर पारी दिएको छ l उठ्ने भए एक पटकको लागि उसलाई उठाउन मन छ र अंगालोमा हालेर उसले मेरा लागि खुइलाएको ढाड धित मरुन्जेल मुसार्ने मन छ तर ऊ उठ्दैन l बोल्ने भए एक पटक बोल्ने मन छ उसले गरेका बाचाहरू कतै सम्झिन्थ्यो कि भनेर तर ऊ बोल्दैन l उसले बुझेन उसका आकांक्षाहरू कसरी मेरो जिउमा सल्बलाइरहेका छन् भनेर l ऊ त फिस्स हस्यो जुनबेला मैले फोनबाट मेरो खुसी उसलाई जानकारी गराएकी थिए l मैले ठाने उसले बुझ्पचाएको छ तर होइन रहेछ l उसले त उसको फिस्स हसाइसँग मेरा रहरको खुसीलाई पनि त्यही हासोसँग उडाई दिएको रहेछ l होइन भने ऊ आज जिउदो आएर सोध्नु पर्थ्यो -खै मेरा आकांक्षा ? भनेर l उसका मुलायम हातहरूले सुम्सुमाउनु पर्थ्यो उसका आकांक्षाहरूलाई तर उसले चाहेन l ऊ लाछी हो भगौडा हो त्यसैले त जीवन र जिन्दगीबाट भागेर लम्पसार परिरहेको छ मेरो अगाडि चिसाम्मै भएर l
यही घर अनि यही आँगन हो जहा मैले पहिलो पाइला हाल्दा मेरो स्वागतमा शुन्य हावा मात्रअँध्यारो कोठाभित्र खुसीले मडारिएको थियो l न अन्माउने कोही थिए न अँगालो हाल्ने कोही थिए l टुकीको धिपधिपे बत्तीको उज्यालोमा मेरा हात समाएर उसले मलाई भित्र हुलेको थियो l ओच्छ्यानमा पल्टाएर बडो नम्र भावमा भनेको थियो –
” अब देखि तिमी नै यो घरकी ज्योति हौ जति सक्छौ बल निर्धक्क भएर अनि उज्यालो बनाउ यो घरलाई /”
काठको सानो सन्दुस बाट उसकी आमाले साचेको रातो पोते सहितको तिलहरी मेरो गलामा झुन्ड़ाई दिएको थियो अनि खुसीमा मलाइ बेस्सरी अंगालोमा हालेर निचोरेको थियो l मेरा भावुकतामा निस्किएका नुनिला आँशु हरु अपनत्वले पिएको थियो l मैले थाहै पाइन त्यो रातको निचोराइमा उसले आफ्नो रगत मेरो शरीरको रगत संगै मिसाइदियो भनेर l रित्तो घर ,रित्तो आँगन अनि रित्ता करेसा बारीमा छुन्मुनाउदै खेल्ने आफ्नो बंश उसले मेरो मनको आँगनमा रोपिदिएछ l दिनभरिको कामको थकाइले जब उ ओच्छ्यानमा पल्टिनथ्यो मैले उसको रगत निचोरिएको मुहार एकनासले हेरी रहन्थे l उ आफ्ना हातका पन्जाहरुले आफ्नो बंशको फूलबारी सुम्सुमाइ रहन्थ्यो अनि भन्थ्यो -“हे भगवान आज मेरो यो घरमा मेरी आमा भैदिएकि भए!” खै किन हो उसले कहिल्लै पनि लिएन उसको आफ्नो बाबाको नाम र मैले पनि सोधिन उसको बाबाको बारेमा l
खरले छाएको फुसको सानो घर अनि करेसाबारीको जमिन उसले मलाइ चिनायो l भविष्यमा झुल्किने आफ्नो बंशको लागि सात समुन्द्र पारि उडेर गयो l समाजको हेराइमा म अर्कै संसारबाट आएकी बिजातकी आइमाई थिए l मेरो जात र धर्म यो समाजले कहिल्लै स्वीकारेंन l यो घरभित्र हुलिदा मैले भोगेको अपहेलत्वले गर्दा पनि म कहिल्लै विक्षिप्त भईन किनकि म समाजको लागि होइन मेरो उसको लागि आएकी थिए l उसले मलाइ खुसिखुसिमा स्वीकारेको मात्र थिएन मानबिय भावनाका सबै मिठासहरु खुसिखुसिमा बाढेको पनि थियो l म थाक्दा उसले मेरा थकाइ बाढ्यो; म रुदा मेरा आँशुहरु पिई दियो ; म दुख्दा उसले मेरा दुखाइहरु पनि खोसेर आफुले लियो l सायद त्यसैले पनि होला मैले यो समाजले लगाएका तगाराहरुलाइ नाघ्ने चेष्टा पनि कहिल्लै गरिन l
“दौलत र सम्पत्तिमा मात्तिएको यो संसारले गरिबी र पिडाहरुको मलम उत्पादन गर्दैन ‘काली’ l “
बारम्बार यसै भन्दै मलाइ ढाडस दिई रह्यो अनि सात समुन्द्र पारी भएर पनि मेरो विश्वासलाई गाँठो पारेर आफुले बाधी राखेको प्रेमको डोरीमा लुकाई राख्यो l
“अझै फूल फुल्ने बेला भएन काली ?”
एक हप्ता अगाढी उसले प्रेमपूर्ण भावमा सोधेको थियो l मैले हास्दै भनेको थिए – ” कोपिला बनिसक्यो अब केहि दिनमा फूल्नेछ छिट्टो आउनुस अनि सुगन्ध लिनुस आफ्नो फूलको भनेर l “
उ खुसीले चिच्चाएको थियो l मैले मेरा शरीरका रक्त संचारबाट मालीको खबर पुर्याई दिएकि थिए उसको फूललाई l मेरो करेसा बारीमा रोपिएको फूल हरेक रात मै सग जिस्किन्थी खेल्थी अनि फक्रिन्थी अनि आतुरतामा हौसिन्थी पनि l म सम्हाल्थे उसलाई अनि पर्खाउथे उसको आफ्नो रक्षक आगमनको समय सम्मको लागि l
वर्षौसम्मको मेरो मेहनत र उसको पसिनाले झलमल्ल परेको घर आज फेरि उसै गरी अँध्यारो भएको छ l घरको यही आँगन जहा हाम्रो भबिष्य छुन्मुनाउदै खेल्ने छ उफ्रिनेछ भनेर हरेक दिन लिपपोत गर्दै सिंगारे l त्यही आँगनको एक छेउमा रातो काठको बाकस तेर्सिएको छ l बिगतमा परेका हरेक आपद र बिपत्तिमा मन्टो बटार्ने आफन्त र समाजले घरको आँगन र दलान भरिभराउ भएको छ l बिजातकी भनेर अपहेलना गर्दै प्रकृतिबाट सित्तैमा उपहार स्वरुप पाएको पिउने पानीमा समेत जातीय गन्ध मिसाउनेहरू मेरो रहरमा मेरो सौन्दर्यताको लागि लगाइएका गहना छिदाल्न,फुटाउन अनि धोएर पखाल्न आतुर भएका छन् l म चाहन्न मेरा सौन्दर्यताहरू फुटालीउन र पखालिउन भनेर l किनकि मेरो शरीरमा सिङ्गारिएका सौदार्यताका यी गहनाहरू मैले मेरा खुशीका लागि लगाएकी हु र मेरो आफ्नो मान्छेको खुसीको लागि सिंगारेको हु l समाज र आफन्तले त मलाई हिजो पनि चाहेन जबकि म यही समाज र आफ़न्तकि परिवारको सदस्यको एउटा अङ्ग भएर यो घर भित्र पसेकी थिए l अहिले के अधिकार छ र मेरो सौदार्यतालाई भताभुङ्ग पारेर फेरि अर्को उपमा दिएर जिउदै मार्नलाई ? बरु मलाई भन्ने मन छ मेरो आफ्नो मान्छेलाई जो यतिखेर रातो बाकसमा लम्पसार भएर घरको आँगनमा तेर्सिएको छ l
“खै मेरो रातो बनारसे सारी अनि मेरा चाहनाका पोका पन्तुराहरू जुन तिमीले आफ्नो घरको आँगनदेखि सात समुद्र पारीको देशमा रहुन्जेलसम्म पनि सपनामा देखाइरह्यौ l” तर भन्दिन किनकि ऊ मेरो यिनै चाहना र आवश्यकता पुरा गर्नु पर्ला भनेर नै सदाका लागि मबाट भागेर गए जस्तो भान भै रहेको छ l बरु म चाहन्छु एकपटक ऊ सुतेको बाकसमा हेर्न l के? अँझै पनि उसको आशक्ति माया र मानवीयता म प्रति उस्तै छ l भो म हेर्दिन किनकि अब मैले उसको शरीरमा मेरा भावनाहरू बाचेको छ भनेर विश्वास गर्न सक्दिन l मलाई थाहा छ अब केही क्षणमै मेरो मान्छे मबाट भौतिक रुपमै सकिने छ l उल्टो शंख बजाउदै उसलाई लगिने छ अनि जलाइने छ उसको शरीरलाई खरानी पारेर l
बरु म भन्न चाहन्छु –
“हे मेरो मान्छे तिमीले जे मलाई दियौ त्यसको लागि म ऋणी छु तर अलिकन दुखी पनि छु किनकि तिमीले आफैले रोपेको बिरुवा अब मैले यो समाजमा कसरी हुर्काएर फूलाउ जुन समाजले हुर्किएर फूलिसकेको फूलमा भेदभाव गर्छ भने l र म कसरी हरेक पाइला पाइलाहरूमा तिखा र अपाच्य बचनहरूको प्रतिवाद गरु जहाँ तिमी असल जातको मान्छे भन्नेबाट भित्राएको बिरुवामा पनि बिजातको गन्ध देखाएर लज्जित गराइन्छ भने l भो भन्दिन किनकि तिमीलेअब सुन्दैनौ र देख्दैनौ मेरा भावनाका चोटहरू l बरु म सम्हालिने कोशिस गर्छु अब म माथि लगाइने अति घृणित अपाच्य र सुन्न पनि डर लाग्ने ‘बिधवा’उपमाको पगरिबाट l “
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको ।)