धेरै जन्तुहरु एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुलीँ साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरु हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान पनि डरमर्दो थियो । उनिहरु आफा आफैमा त दाह्रा हान्दै थिए भने हामी अर्का जातिकालाई के बाँकी राख्लान् ?
टाढैबाट रमिता हेरेँ । ङारङारङुरङुर, तँछाड मछाड, धकेलमधकेल- जात्रै थियो त्यहाँ ।
धकेलम धकेलबाट उछिट्टिएको एउटा जन्तु मेरै छेउमा पछारिन आइपुग्यो । मद्दत चाहिने हो कि म ट्वाल्ल उभिएँ । उसले मलाई हकार्यो ‘के जात्रा हेरिरहेको ? बाँदरको मुख कहिल्यै देखेका छैनौ ?”
स्पष्ट भयो यिनीहरु बाँदर रहेछन् ।
अर्कै क्षण उसको व्यवहारमा परिवर्तन आयो – “अहो पत्रकारज्यू ! मैले त नचिनेको । चिन्नु पनि कसरी आफ्नो त ध्यानै खान्कीमा थियो । हेर्नुहोस् न बजियाहरुले बाजेको पालाको रुखको विजोगै गर्यो । पहिले सबै मिलेर फल खाइँदैथ्यो । पाकेको फल सकिएपछि काँचैमा सुरु गरे केही हन्तकालेहरुले । आफू मात्र किन पछाडि पर्ने मैले छाडेँ भने त्यो बच्ने वाला थिएन । यसैउसै नवच्ने भए पछि मैले पनि काँचै फल चिथोर्न लागेँ । त्यो पनि सकिएपछि त्यसको फूल नै खाइयो । फूल पनि सकिए पछि पातमा शूरु गरियो । पात पनि सकिए पछि हाँगातिर लागियो । हाँगा पनि सकिँदै गएपछि फेदतिरै लागियो । सन्तान यतिका छौँ मुख गाड्न पनि ठाउँ नै भएन त्यसैले फेद र जरामा एकैचोटि लागियो । तै पनि सवैले मुण्टो जोत्न ठाउँ नपाएर मारमार भइरहेको छ । गाँठे ! बलियाहरुकै मात्र दिन आएछ । हेर्नोस् त मलाई कसरी फालेका ।”
उदेखि मलाई माया लाग्यो- “तपाईहरु पनि कस्ता त बेलैमा फलको नयाँ विरुवा रोपे हुन्थ्यो नि !”
उ दाह्रा देखाउँदै झोँक्कियो- “तिमी पनि मूर्खै रहेछौ बाँदरले रुख रोपेको कतै देखेका छौ ? कि जिस्काएको हो हँ ? खोजेको हो ?
उसको डरलाग्दो दाह्रा देखेर म त थरर । झम्टिहाल्यो भने रेविज लाग्नेछ । बाँदर भनेर जान्दाजान्दै मैले उसलाई मान्छेको कोटीमा उकालेर व्यवहार गर्न नहुने । उसलाई व्यङ्गय दिएको अनुभुति भएछ । यत्तिखेर उन्मत्त बाँदरहरुकै हैकम छ । यो जात बडै सम्वेदनशील हुँदैन । क्या फसियो ! क्या सँकट ! म अकमकिएँ ।
उ ढलेको ढल्यै थियो । उठ्न सकिरहेको थिएन । करङै भाँचिएको हो कि ? मेरो मानवताले उसलाई हात दिन अह्रायो । त्यसो मात्र होइन हात नदिँदा पनि उबाट हुने खतरा आफ्नै ठाउँमा थियो । हात त दिनै पर्ने भयो । तर उसको डरलाग्दो दाह्राले चिथरीनै हाल्ला कि भन्ने डर मनमा कतैनकतै भइ नै रह्यो । हात बढाउँ कि नबढाउँ संकोचमा म यसै उभिएर रहेँ । त्यो अशक्त बाँदरले हैकमी ओकल्यो- “के जात्रा देखिस् यहाँ ? भाग्छस् कि ठीक गरुँ ?”
“तपाईँ” बाट “तिमी” अनि तिमीबाट “तँ”- अब त मेरो मानवतावादले पुरै हावा खायो । धन्य ! भाग्ने बाटो उसैले खोलीदियो “भाग्छस् कि ठीक गरुँ” भनेर । ठोकेँ कुलेलम आफ्नो समवेदनशीलतालाई कुल्चेर । पछाडि फर्केर हेर्दै हेरिनँ ।
किन मैले रेवीजको घर बाँदरहरुको चासो लिइराख्न पर्छ ? त्यो मरोस् कि बाँचोस् । त्योसँग म अब पूर्ण असबद्ध रहने भएँ । बाँदरहरुबाट मुक्त मान्छेको समाज किन हुन सक्दैन ? के तपाई हुनुहुन्छ मेरो साथमा मान्छेहरुको समाज निर्माणको लागि ? बुझ्नुहोस् बाँदरहरु आफ्ना घर बनाउँदैनन् । खेति गर्ने त कुरै छाड्नुहोस् । आउनोस् बुख्याँचा उठाएर टीन ठटाउँदै बाँदरहरुलाई खेदौँ । यसै समयदेखि शूरु गरिहालौँ यो शुभ कार्य । अब त अचाक्ली नै भइसकेको छ- यो बाँदरे रोग सरेर भोलीका हाम्रा सन्तान पनि यस्तै विजोगको मरणमा नमरुन् ।
हाल: भर्जिनिया, अमेरिका
(स्रोत : KhassKhass.com )