नयाँवर्षको दिन विद्यालयबाट वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सवै साथीहरु पिकनिकको लागि तयार भइरहेका थिए । सुमन भने निन्हाउरो अनुहार लगाएर टुलुटुलु हेरिरहेको थियो ।
‘के भयो सुमन ! तिमी किन तयार नभएको ?’ गुरुआमाले सोध्नुभयो ।
‘मिस् म त नजाने ।’सानो स्वरमा बोल्यो ऊ ।
‘कसले के भन्यो र तिम्लाई, किन तिम्लाई जान मन छैन ?’ गुरुआमाले फेरी सोध्नुभयो ।
‘मसँग राम्रो लुगा छैन त्यहीभर रोहितहरुले भनेको म गए भने सबैलाई लाज हुन्छ रे ।’ उसका आँखाबाट बरर आशु झरे ।
‘रोहित !’ गुरुमाका प्रश्नसुचक आँखाहरु रोहितमाथी परे ।
‘हो त मिस् यस्ता माग्नेलाइ लग्यौ भने अरुले के भन्लान् ?’उल्टो गम्कियो रोहित ।
‘तिमी के भएका रोहित ! साथीलाइ भन्ने कुरा यहि हो ?’ केही रिसाउदै हप्काउनुभयो उहाँले। सुमन रुदै भित्र पस्यो ।
नयावर्षको उपलक्ष्यमा रमाइलो गर्न जान लागेका केटाकेटीविच रुल्लटुल्ल परे ।’सुमनले गर्दा आफू पनि जान नपाउने भए’ भनेजस्तै केही फन्किए । गुरुमाले सबैलाइ आफू तयार हुन अह्राउनु भयो र सुमनलाइ पनि खुरुक्क हिंड,यस्ता कुरा सुन्नुहुन्न भनेर फकाउनुभयो । एकैछिनमा पिकनिकको गाडी नगरकोट तर्फ हुइकियो । रोहित र उसका साथीहरु हेय भावले सुमनलाई हेर्दै थिए । केहीबेर मै मादल बज्न लाग्यो । मादलुको ताल, गितगुञ्जनमा हराउदाँ–हराउदैं पिकनिक स्पट आइपुग्यो ।
सलक्क उदाएको घाम, खुलाचौर वातावरण साँच्चैको रमाइलो थियो । केटाकेटीहरुको आफ्नै झुण्ड बनाउदै आफू–आफूमा रमाउन लागे । गुरु–गुरुमा केही सहयोगीको साथ लिएर खाना बनाउन र रमाइला कार्यक्रम तयार गर्न ब्यस्त हुनुभयो ।केही बेरमै नास्ता तयार भयो, नास्तापछि नाचगान पनि शुरु भयो । सबैजना पिकनिक सफल बनाउन प्रयत्नरत थिए ।
दिउसको खानापछि प्रतिभा प्रर्दशन राउण्डको पालो थियो । जस अन्तरगत विद्यार्थीहरुले आफूले जानेका कुराहरु सवैको सामु प्रस्तुत गर्नुपर्ने हुन्थ्यो र उत्कृष्ठ हुनेलाइ आकर्षक उपहारको समेत ब्यवस्था गरिएको थियो । कसैले गीत गाएर, कसैले नाचेर ,कसैले भाषण गरेर, कसैले अभिनय त कसैले कविता सुनाएर आफ्नो प्रतिभा पस्कदै थिए । यसैवीच सुमनको पालो आयो । कुनामा बसेर सबैलाइ नियालिरहेको सुमन आफ्नो नाम एक्कासी बोलाइएकोमा अक्क न बक्क प–यो । भीडमा हाँसो फैलियो । रोहितले मौकाको फाइदा उठाउदै बोलिहाल्यो ।’च्यातिएको लुगाभित्र कहाँको प्रतिभा हुन्छ र ?मैले त पहिल्यै भनेको यस्तालाइ लिएर आउँदा हामीलाई समेत बोर हुन्छ भनेर ।’ रोहितसँग लागेर खान पल्किएका केहीले ‘हो मा हो ‘ मिलाए ।
सुमन रुन थाल्यो । दिनभरीको रमाइलो एकैछिनमा धुमिल भयो । ‘यस्तो बानी राम्रो होइन, बास्तविक साथीले कसैलाई पनि हैप्दैन रोहित ‘ वातावरण सामान्य बनाउनतिर गुरुहरु लाग्नुभयो । पाँच कक्षा पुग्दासम्म पनि नबदलिएको रोहितको छुल्याहा प्रवृतिले सबैलाई हैरान बनाएको थियो ।
बाँकि एउटै कार्यक्रम बीचैमा छिन्नभिन्न भयो । आकाश गड्याङगुडुङ गर्न थालेको र साँझ पनि ढल्नै लागेकोले घर फर्कने तयारी हुन लाग्यो । हर्दाहेर्दै हुरुरु बतास चल्न थाल्यो, पानी बर्सन त बेरै लागेन । सबैजना हतारिदै बसभित्र छिरे । सुमन पनि सवैको पछि–पछि लाग्यो, केही पर पुगेपछि केही सम्झिए झै आफ्नै सुरमा फर्कियो । कसैलाइ थाहै भएन ऊ किन र कहाँ जादैछ भनेर । रोहितका केही साथी त ऊ छुटोस् भन्ने नै चाहन्थे त्यसैले देखेपनि कसैलाई केही भनेनन् ।
बस हिड्नै लाग्दा गुरुहरुले सवैजना जम्मा भए नभएको गणना गर्न थाल्नुभयो । सुमन देखिएन, ‘खै त सुमन ?’ रोहितका साथीहरु कुनापट्टि फर्किएर हाँस्न लागे । केहीबेरमा पत्तो लाग्यो ‘ला रोहित पनि त छुटेछ ।’ केटाकेटीहरुका बीच खैलावैला मच्चियो |
‘ऊ……….ऊ………. उनीहरु आउदैछन् ‘राजु चिच्यायो । सबैका जिज्ञासु नजर ती दुई माथी परे । रोहित खोच्याउदै हिडिरहेको थियो, गोडाबाट रगत पनि बगिरहेको थियो । रोएर होला आँखा राता भएका थिए ।
बदमासै भएपनि रोहित सुमन भन्दा सानो थियो, घाइते पनि उही थियो । बिहानदेखी नै ठाकठुक पर्दै आएकोले पक्कै एक्लै भएको मौका छोपेर सुमनले पिटेको हुनुपर्छ, सबैले लख काटे ।
‘के गरिस् हँ, तैले रोहितलाइ ?’
‘आफ्नो हैसियत देखाएर छाडिस् हैन, माग्ने ?’
केही केटाहरु त जाइ लागिहाले । गुरुहरु कसलाई के भन्नु र गर्नुको स्थितिमा हुनुहुन्थ्यो,सुमन चुपचाप उभिइरहेको थियो । के भएको हो कसैलाइ थाहा थिएन, अन्दाजै–अन्दाजमा सुमनलाई दोषी देख्नेहरु थपिदैं थिए । यो सब सुनिरहेको/हेरिरहेको रोहित मौनता चिर्दै बोल्यो ‘उसलाई जे पायो त्यो नभन, मेरो असल साथी त ऊ(सुमन) पो रहेछ ।’
‘हँ ……’ सवै जिल्ल परे । रोहितले बेलीविस्तार लगायो ।
पिसाब फेर्न गएको ऊ, पाकेको ऐंसेलु देखेर त्यतै भुलेछ । पानी पर्न लागेपछी फर्कन लाग्दा झ्याङमा अल्झिएर उठ्नै सकेनछ । पछि रुझ्दै भिज्दै आएर सुमनले उसलाई उठाएछ अनि काडाले दर्फराएको घाउमा आफ्नो सर्ट च्यातेर बाधिदिएछ । उसले सबैकुरा एकै सासमा सुनायो, आफुले सुमनलाई गर्ने गरेको ब्याबहारप्रति ऊ साह्रै लज्जित थियो । ‘मेरो यो गोडामा लागेको घाउँ त सुमनको मायालु सद्भावले नीको भइसक्यो तर उसको मनमा मैले लगाइदिएको घाउँ कसरी बिसेक होला?’ बोल्दा-बोल्दै गला अवरुद्द भयो ।
सुमनले हाँस्दै साथिको सहयोग गर्नु आफ्नो कर्तव्य भएको र आफ्नो मनमा रोहितप्रति कुनै गुनासो नरहेको उल्लेख ग–यो । सुमनलाइ तल्लो दर्जाको व्यवहार गर्नेहरु लाजले भुतुक्क भए । ‘धन्यवाद सुमन, धन्यवाद तिमीलाई’ सवैले ताली बजाए, सरर बस हुइकियो । अब रोहित र सुमन मिल्ने साथि भैसकेका थिए । बाटोभरी उनीहरुले एकसाथ गित गाए –
मन नै हो आफ्नो भन्ने, मनै हुन्छ सधै माथी
ठूलो सानो, धनि गरिब, केही पनि हुन्न साथी
……………………………………………………..।।
अघि भनाभन भएर त्यतिकै रोकिएको प्रतिभा प्रदर्शन राउण्ड अन्तरगतको पुरस्कार राम्रो गीत गाए बापत रोहित र सुमनलाइ सयुक्तरुपमा प्रदान गरियो । नयावर्षको शुरुवात उमङ्गपुर्ण र प्रेरणदायी सुरुवातबाट भएकोमा दंग पर्दै सबैजना आ–आफ्नो घरतिर लागे ।
आज बाल दिवस_ सम्पूर्ण भाइबहिनीमा शुभकामना स्वरूप यो मेरो पुरानो कथा
Sept 18, 2011
(स्रोत : Google Site )