आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो प्रतिविम्ब कस्तो देखिन्छ ? उहाँलाई केही पनि थाहा थिएन सायद । जिन्दगीको लामो हिस्सा उहाँले ऐना नहेरेरै बिताउनुभयो ।
ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी वा त्यस्तैत्यस्तै जलविम्बहरुमा हेरेर पूरा गर्नुभयो । उहाँ आफ्नो अनुहार हेर्नुपर्यो भने तिनै स्थलहरुको चयन गर्नुहुन्थ्यो ।
एकदिन उहाले साच्चै नै ऐना हेर्न पाउनुभयो । त्यतिखेर उहा बुढ्यौलीका दिनहरु नाप्दै हुनुहुन्थ्यो । ऐनामा आफ्नो अनुहार हेरिसकेपछि उहाँले चाउरी परिसकेको आफ्नो गाला मुसार्दै यतिमात्रै प्रतिक्रिया दिनुभयो, म जवान छँदा यो ऐनामा हेरेकी भए कस्ती देखिन्थे हुँला ?
उहाँ भावुक बन्नुभयो । हामी पनि भावुक भयौं ।
(स्रोत : NepaliLaghukatha.com )