~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
दृष्टिभ्रम
फुला परेको आँखालाई निकालेर
ऐन,कानून र नियम बदल्ने सोचमा छु ।
देशकै निम्ति सोच्ने एक जङ्ग बहादुरको खोजमा छु ।
दिन दहाडै
हाम्रो अस्मितामा धावा बोल्छन्
आफ्नो स्वार्थको रोटी हाम्रो तावामा पोल्छन्
ठाडो आदेश लिदै,
सत्ता,सरकार र सदन उतै तलुवा मोल्छन् ।।
निरिह
निर्दोष
तीन करोड नेपालीको हड्डी घोट्दै
रगत पसिनामा दाइँ गरेको बर्षौ भो ।।
हाम्रो आँखाबाट
हाम्रो ह्रदयबाट
चित्कार,तिरस्कारको
अन्तर्बेदनाको आँशु झरेको धेरै भो ।।
अझै सङ्घर्ष,आदर्श र नयाँ युद्धको लडाईंको जोसमा छु ।
छिमोली कुसंस्कारको झाडी बस्ती बसाउने एक जङ्ग बहादुरको खोजमा छु ।
पिलन्धारे
राग अलाप्दै मुर्कुट्टाहरु सत्ताको खेती गर्छन् ।
टिक्न र टिकाउन कहिले माथि सर्छन मौका नपरे तल झर्छन
सलह हुन यी जहाँ जहाँ फुल्नै हुन्न,फल्नै हुन्न अघि बढ्छन
सोझा
सिधा
सरल
हामी नेपालीको भाग्यलाई बक्ररेखा कोर्दै
टेडोमेडो हिडाएको थुप्रै काल भयो
परिवर्तनको रङ्गिन चश्मामा
मैदानमा आफन्तलाई भिडाएको बर्षौ भयो ।
आफ्नै नजरबाट विश्वसामु गिराएको धेरै भयो ।।
पुछ्दै आँशु
टेक्दै पैतला
समाउदै राँको,छर्दै उज्यालो
नवयुगको आव्हान बोक्ने थालनीको आशमा छु ।
बिडो थामी अघि अघि पथपर्दशक एक जङ्ग बहादुरको खोजमा छु ।
मिती:०६७-१२-१८
(स्रोत : Shabdahar Creations )