~शिशिर शर्मा~
माथि
धर्तीभन्दा माथि
बादलभन्दा माथि
बादलहरुकै बस्ती छ ।
बादलसित कुरा गर्दै
विवाद गर्दै–
बादलहरु चर्काचर्की गर्छन्,
भनाभनमा कुरा नटुङ्गिएपछि
बादलका बीचमा हानाहान हुन्छ,
बादलहरु रिसैरिसमा
बादलमै आगो सल्काउन खोज्छन्
‘धुवाँ’ को मुस्लोमा
फेरि धुवाँ थप्न खोज्छन्
बादलहरु भयंकर विस्फोट गराउँछन्
धर्तीलाई कम्पायमान गर्दै
अहँ,
त्यसपछि तिनका बीचमा
एकाएक मनमुटाव बन्द हुन पुग्छ
झगडामा पश्चात्ताप गर्दै बादलहरु
बर्बरी आँसु खसाउन थाल्छन्,
बादलका बीचमा फेरि एकता हुन्छ
बादलहरु फेरि बादलसित मिलिरहेका हुन्छन्
धर्तीभन्दा माथि बादलहरुको बस्तीमा
बादलहरु
आराम गर्छन् धर्तीका मित्र बादलहरु
तिनको आ“सुमा जीवन पाउँछन् धर्तीका प्राणीहरु
बादलहरु कहिल्यै हत्या गर्दैनन् बादलहरुको
हतियार उठाउँदैनन् असन्तोषको ।
बादलको बस्तीमा देखिन थाल्छ
बादलसित बादलको एकता
बादलको पहाड देखिन थाल्छ सद्भावको ।
बादलजस्तै हल्का हुने रहेछ मन
बादलको बस्तीमाथि बादलको पहाड हेर्दा
बादलमाथि उड्दै
बादलको पहाड हेर्दै गरेको
एक सहयात्रीले धर्तीमा ओर्लेपछि भन्यो—
“नीलो आकाशमा झुण्डिएको
सेतो बादलको पहाड
आहा,
मान्छेको मनको आकाशमा पनि
यस्तै शान्ति र सद्भावको
पहाड उभिने भए ।
काठमाडौं नेपाल
Issue : 2005
(स्रोत : Pardesh.com)