कहिले उज्यालोले अँध्यारोलाई लखेट्थ्यो
कहिले अँध्यारोले उज्यालोको उछितो काढ्थ्यो
एकपल्ट हरियो रङ्गीएका वृक्ष-लतिकाहरु
स्वत: पहेँलो रङ्ग ओढ्दथे
र कुनैबेला नाङ्गै पनि बस्दथे ।
यस्तैमा मैले बुझ्न थालेको थिएँ
कि समय घडीमाजस्तै सर्कुलर घुम्दो रहेछ ।
मौसम फेरिँदा रहेछन्
ऋतु बदलिँदा रहेछन्
र पुन: मौसम फर्किँदा रहेछन्
ऋतु फर्किँदा रहेछन् ।
सायद तेसैले शिशिरहरुमा
म न्याना सिरकहरुले लुटुपुटु गुट्मुटिन्थेँ
ऊनीको टोपी , ज्याकेट र ट्राउजरहरु लगाएर बाक्लो बन्दथेँ
तेसताका म ती न्याना लुगाहरुलाई खुब प्रेम गर्दथेँ ।
फेरी समय पल्टिएर आउँथ्यो
कि घामले मलाई एक तमासले पोल्दथ्यो
गर्मीले रन्थनिएर म वेचैन बन्दथेँ
र तेसताका म वरफहरुलाई अधिक माया गर्न थालेको थिएँ
पङ्खा वरपरको जीवन मात्र बाँच्न सक्दथेँ ।
अहिले यो बडो विचित्र भएको छ
कि समयको नियम क्रमभङ्ग भएको छ
कतै घाम लागेजस्तो
कतै हावा चलेजस्तो
कतै पानी परेजस्तो
सबै एकैसाथ र एकनासले भोगीरहेछु
क्षण क्षणमा मौसमको राज्य बदलिन छोडेको छ
कि जीवन बहुरङ्गी भएको छ
उसो र सदावहार जीन्दगीमा तिमी छाएकी छ्यौ ।
(स्रोत : Arzose.blogspot.com )