म प्रत्येक दशैँमा गाऊँ फर्कँदा
उनी छाँया रङको मजेत्रो ओढेर
थुम्काको चौतारीमा बसिरहेकी भेटिन्थिन्
उनी चौतारी छलेर अगाडी बढ्ने
हरेक यात्रुका अनुहार पढ्दथिन्
यति विघ्न व्यस्त देखिन्थिन्
कि उनलाई आँखाको कचेरा फाल्ने फुर्सद हुँदैनथ्यो
शरीरमा भन्किएका झिँगाहरु धपाउन भ्याउँदिनथिन्
र जब उनलाई कसैले सोध्थ्यो-
” बज्यै ! यो पल्ट पनि छोरो फर्केन ? ”
तब उनको मुहारमा अनेकौँ प्रश्नचिन्ह उदाउँथे
उनका आँखा झरेर वैलिएका सुन्तलाजस्तै अमिलिन्थे ।
तर अहिले दशैँमा गाऊँ फर्कँदा
चौतारी एक जोडी वर-पिपलु मात्र समेटी बसेको छ
सायद यो पल्ट युद्ध सकेर
बुढीआमाको छोरो गाऊँ फर्किएछ क्यार !
DECEMBER 4, 2011
(स्रोत : Arzose.blogspot.com )