हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;
हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
वसन्त कुमार गौतम
चुबु विश्वविद्यालय
खासुगाई, आइची
(स्रोत : INLS.Org