म स्थापित सपनाकार भैसकेको थिएँ
आफुले चाहेजस्तै सपना देख्थेँ
मुर्कट्टा भूतहरुलाई बोलाउँथे
सबैभन्दा डरलाग्दा राक्षसहरुलाई
मेरो निम्तो पुगेकै हुन्थ्यो
र म सपनीमा सँधै महाभारतभन्दा भयङ्कर
युद्धहरु लड्थेँ ।
एक याम यस्तो आयो कि
जो कोहि पनि मेरो सपनीमा आउनबाट तर्किन्थ्यो
म बाट पराजित भएर
सबै एकाएक आत्मसमर्पण गर्दथे
अन्तत : मसित सपना रहेन ।
सपनीहरुबाट वञ्चित भएर
म वगरको माछोजस्तै छट्पटाइरहेको थिएँ
यस्तैमा एक रात अँध्यारो निन्द्रामा
यौटी आकृति नेपथ्यबाट झुल्किइन्
उनी केवल यौटी आकृति मात्र थिइनन्
उनी मैले चाहेअनुरुपको सपनी पनि थिइनन्
उनी त मेरो कल्पनाको एक टुक्रा सपनी थिइन्
उसो र उनी मैले कुनैबेला रोपेको गुराँस थिइन् ।
(स्रोत : Arzose.blogspot.com )