बाबा नघुर्नू किन घुर्नुभा’को
आवाज त्यस्तो किन गर्नुभा’को
सुनेर मेरो मन काँप्छ बाबा
डराउँदै बस्छु लुकेर, बाबा ! ।।
‘जु’ हेर्न जाँदा किन सिक्नु’भाको
बाघै छिरेझैँ किन गर्नुभा’को
कस्तो डराएँ जब घुर्नुहुन्छ
त्यो रात निद्रा सब चोर्नुहुन्छ ।।
सुन्छन् अरूले तर मौन बस्छन्
रातै घुरे तापनि चैन सुत्छन्
सकिन्न बाबासित सुत्न साफै
छोड्नू न बाबा बरु घुर्न आफैँ ।।
कपास राखूँ कि त कानभित्र
बाँधेर सुतूँ शिरसम्म भित्र
कसो गरूँ खै कसरी निदाऊँ
बानी छ घुर्ने कसरी छुटाऊँ ! ।।
कि टेप टालूँ मुख थुन्न बाबा
बुझो घुसारूँ कि ठुलै हँ बाबा !
उपाय केही अब गर्नुपर्छ
बाबासँगै राति म सुत्नुपर्छ ।।
(उपजाति)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )