म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम
दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम
न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर
म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।।
अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै
सुनिन्छ नित्य मृत्युको यथार्थ झन् कुमार्गझैँ
सकिन्न जान जोसले खुलेर मृत्युमार्गमा
रहन्न चैन त्यो कुनै विशाल राजमार्गमा ।।
पहाड छन् जहाँसुकै सुमार्ग चित्र सुन्दर
देखिन्छ सर्पझैँ कतै प्रशस्त मार्ग दुस्तर
मधेसका हराभरा होलान् सबै मनोहर
चाहिन्न राजमार्ग नै हिँडेर जान्छु लौ घर ।।
म नाक थुन्न सक्छु है हिँडेर गन्धकै घर
म काम गर्न सक्छु है लुकेर साउदी पर
म हाँक धाक जेसुकै गरेर डुल्न सक्छु नै
हिँडेर लाख कोस होस् म पाउ चाल्न सक्छु नै ।।
म ढाँट्न सक्छु विश्वको कुनै विकास योजना
म छक्क पार्न सक्छु झन् गरेर भक्ति भावना
हिमाल चढ्न भन्नुहोस् म चढ्छु नित्य नै बरु
म राजमार्ग जान्नँ है जहाँ छ मृत्युको चरु ।।
म गर्न सक्छु ठप्प नै विशाल राष्ट्र यो पनि
गरेर आम बन्दले प्रभाव पार्छु जो पनि
म छेक्छु बाघ भालु नै हुँदैन कष्ट यातना
म थाम्न सक्छु लौ अझै नृशंस क्रूर ताडना ।।
कुरा अरू सबै यहाँ सकिन्छ ढुक्कले बरु
नितान्त गोप्य त्यो कुनै अदृश्य शक्तिले बरु
रहन्न त्रास वा कतै भविष्यको कुराप्रति
विशाल राजमार्ग नै छ मृत्युमार्गझैँ अति ! ।।
(पंचचामर)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )