छ वर्ष मात्रै अब लाग्छु भन्थेँ
कक्षा दुईमा अब जान्छु भन्थेँ
खुसी थिएँ जीवन खेल्न खान
म दंग पर्दै पनि घुम्न जान ।।
आमा बुबा संगत साथ खोज्थेँ
साथीहरूको मन पास रोज्थेँ
आकाश धर्ती मनमा सजिन्थ्यो
म बालिकाको तन रंग छर्थ्यो ।।
पुंसत्व कस्तो किन उर्लिइन्छ
उत्तेजनाको कति याम हुन्छ
कहाँ र कस्तोसित यौन जाग्छ
न बुझ्न सक्थेँ किन व्यक्ति थाक्छ ।।
न जान्दथेँ मानव सृष्टि के हो
को हेर्छ कस्तो कुन दृष्टि के हो
सम्भोगको मर्म कहाँ रहन्छ
म बालिकाको किन खोज हुन्छ ? ।।
के यौनचेष्टा अनि तुष्टि कस्तो
के हो बलात्कार सिकार कस्तो
नृसंस हत्या किन बन्न पुग्छ
सोच्दै नसोचे पनि आइलाग्छ ।।
ए क्रूरताका कण छद्मभेषी !
कलंक हौ मानव धर्म दोषी
काँपेन तिम्रो किन भित्री चेत
पुंसत्व बोक्ने नर दुष्ट प्रेत ।।
आत्मा कतै जीवितबाट यस्तो
हुनै नसक्ने किन आज यस्तो
मनुष्यको धर्म कहाँ छ भन्छु
म मृत्यु शैय्याबिच प्रश्न गर्छु ! ।।
(उपजाति)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )