कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।
उसो त उहाँलाई भुइँतलाको कोठामा सर्न मन नलागेको पनि होइन । तल्लो कोठामा आफू र माथिल्लो कोठामा आफूभन्दा साना तहका कर्मचारी सार्ने विचार गर्नुभएको थियो एक पटक । आफ्नै शीरमाथिको कोठामा आफू भन्दा साना तहका कर्मचारीहरु कसरी राख्नु ? फेरी दिनभर आफ्नै टाउको माथि ति कर्मचारीहरुको जुत्ताको टक् टक् सुन्नु पर्ला भनेर दिक्क हुनुभयो । जे भए पनि सरौं न त भन्दा आफू अघिका हाकिमहरुले यसो नगरेकोले यस्तो निर्णय लिन सकिहाल्नु भएन । आफूलाई यो अवस्थामा पाउँदा उहाँ निकै चिन्तित हुनभयो ।
हाकिमको चिन्तित मुद्रा देखेर कमाउ धन्दामा सिपालु केही कर्मचारीहरु एका-एक खुशी भए । उनीहरुले कार्यालयलाई समयानुकुल आधुनिकिकरण गर्दै लैजानु पर्ने र त्यसबाट प्राप्त हुने कमिशन लगायतका अन्य फाईदाका कुराहरु हाकिमलाई बुझाए । हाकिमलाई त्यो कुरा साह्रै चित्त बुझ्यो ।
त्यसपछि कार्यालयलाई समयानुकुल आधुनिकिकरण गर्ने नाममा प्रथम चरणमा कार्यालयमा लिफ्ट ( स्वचालित भर्याङ ) जडान गरियो । लिफ्टको प्रयोगले त्यस कार्यालयका कर्मचारीहरुमा परिवर्तन देखापर्न थाल्यो । घुमाउरो तथा साँघुरो त्यो झन्झटिलो भर्याङ चढ्नु भन्दा लिफ्ट चढेर सिधै माथि हाकिमकहाँ छिन्- छिनमा पुग्नु छिटो छरीतो र आनन्ददायी लाग्न थाल्यो उनीहरुलाई ।
त्यसपछि अधिकांश कर्मचारीहरु लिफ्ट प्रयोग गर्नमा होडबाजी गर्न थाले । अधिकांश समय उनीहरु माथिल्लो तलामा रहेको हाकिमकै कोठा र ढोका वरपर बारम्बार देखिन्थे । केही समयपछि लिफ्ट प्रयोग गर्न सिपालु कर्मचारीहरुमा झन् ठूल-ठूला परिवर्तन देखिन थाल्यो ।
उनीहरुको पद, पैसा र पहुँच एकाएक बढ्न थाल्यो । तर लिफ्ट चढ्न डराउने तथा परम्परागत भर्याङ प्रयोग गर्ने कर्मचारीहरु चाहीँ उही पद र अवस्थामा थिए । आफ्नो यो अवस्था देखेर उनीहरु निराश भए । त्यसपछि उनीहरु हाकिमका सामु गएर लिफ्टको बिरोध गरे ।
“समयानुकुल परिवर्तन हुन नसक्ने बज्र स्वाँठ” भन्दै हाकिमले उनीहरुलाई बेस्सरी झपारे । बिचराहरु लुखुर-लुखुर पुनः उही पुरानो भर्याङ हुँदै तल उत्रे ।
(स्रोत : मधुपर्क, काठमाण्डौं, २०५१ )