कथा : हर्कबहादुरको भूत

~उदास विनायक~Prem Khadka 'Udas Binayal'

पोहोर परारको दशैंमाजस्तै यसपालिको दशैंमा पनि चाहिने जति लुगाफाटा र सरसामान भृकुटीमण्डपमा वर्षेनी लाग्ने दशैं मेलामै किनमेल गर्ने कुराको अञ्जलीप्रसादका घरमा सल्लाह भइसकेको थियो । शुरु–शुरुका एक–दुई दिन र अन्तिमका एक–दुई दिन त्यति राम्रो हुँदैन । पहलिा महङ्गो पनि हुने, त्यति सरसामानहरू पनि आइनसकेका हुँदा बीचका दिनहरू उपयुक्त हुन्छन् । तर अवस्था के कस्तो छ, पुराना साथीभाइ पनि भेट भइहाल्छ कि, सामानको मोलभाउ के कस्तो छ भनेर बुझ्न अञ्जलीप्रसाद भृकुटीमण्डपको प्रदर्शनीकक्षमा छिरेको थियो । पोहोर–परारभन्दा भिँडभाड बढी नै भइसकेछ । धेरै युवायुवतीहरूको भिँडभाड । विद्युतीय नयाँ–नयाँ सामग्रीहरूका स्टल । हरेक स्टल स्टलहरूमा मानिसहरूको ठूलै भिँड भए पनि सबैका हात खाली थिए, अञ्जलीप्रसादकाजस्तै । चिनेजानेका कोही छैनन्, सबै आ–आफ्नै धुूनमा हिंडिरहेका । तर अञ्जलीप्रसादलाई किन हो किन एक अपरिचित व्यक्तिले पछाइरहेको झैं लागिरहेको थियो । सबै स्टलहरूको सरसरती निरीक्षण गरिसकेर मूलद्वारमा आएपछि फर्केर एकपल्ट पछाडि हेर्न मन लाग्यो । नभन्दै त्यो अर्धबैंसे व्यक्ति सिधै उसतर्फ हेर्दै पछाडि–पछाडि आइरहेको थियो । अञ्जलीप्रसाद अगाडि बढ्यो । ‘जो होस्, अपरिचित व्यक्तिसँग के को वास्ता ?’ तर अगाडि बढ्दै जाँदा उसका मनमा लाग्यो, शायद त्यो अनुहार परिचित नै थियो । अनि अपरिचितै भए पनि एकपल्ट किन धेरै पहिलेदेखि पछाइरहेको हो भन्ने कुरा बुझ्नु उपयुक्त हुने ठानेर अञ्जलीप्रसादले पछाडि हे¥यो । त्यो अपरिचित अर्धबैंसे व्यक्ति नजिकै आइसकेको थियो । अञ्जलीप्रसादले फर्केर हेरेपछि त्यो व्यक्ति पनि उभियो । तर उसले अञ्जलीप्रसादमै आँखा तेस्र्याएर हेरिरहेको थियो ।

‘महाशय ! तपाईं पहिलेदेखि नै मेरो पछाडि–पछाडि आइरहेको जस्तो लागिरा’छ, यदि …….?’
‘हो, म अगिदेखि तपाईंकै पछाडि हिंडिरहेको छु । बोल्न खोज्छु, तर म पनि असमन्जसमा परें कि यदि मैले सोचेको व्यक्ति तपाईं हो कि होइन । फेरि …..।’ अञ्जलीप्रसादको कुरा नसकिंदै त्यो व्यक्ति बोल्यो । ‘तपाईं अञ्जलीप्रसाद होइन ?’ उसले एकछिन रोकिएर फेरि सोथ्यो ।
‘हो म अञ्जलीप्रसाद नै हुँ । तर मैले तपाईंलाई चिन्न सकिन नि ? हुन त उमेरसँगै स्मरणशक्ति पनि कमजोर भइहाल्दोरहेछ । तपाईं कतै मेरो ठूलो छोरा अमनको साथी हो कि …?’
‘होइन होइन …. एकछिन समय छ भने …यसो भनौं चिया खानलाई पैसा र समय छ भने सँगै बसेर कुरा गरौं न, हुन्न र ? मसँग चियाको अफर गर्नलाई पनि पैसा छैन । त्यसैले पैसा र समय दुबै छ कि भनेर सोधेको । पचास रुपैयाँ थियो, तपाईसँग भेट्न टिकट काटेर भित्र छिरेको ।’ –अपरिचित व्यक्तिले भन्यो ।
‘हुन्छ, त्यहाँ ब्लड बैंक बाहिरपट्टि चिया पसल छ, त्यहाँ गएर कुरा गरौं न, चिया खाँदै ।’ –अपरिचित व्यक्तिको प्रस्ताव स्वीकार ग¥यो अञ्जलीप्रसादले ।
‘होइन, त्यहाँ अलि भिँडभाड हुन्छ, बस्नलाई पनि राम्रो व्यवस्था छैन । बरु अन्त कतै जाऊँ, बसेर कुरा गरौंला, एकान्तमा ।’ –अपरिति व्यक्तिले भन्यो ।
दुबै जना भृकुटीमण्डपको प्रदर्शनी मूलगेटबाट बाहिर निस्केर पुलती सडकतिर लागे ।
अञ्जलीप्रसाद मनभित्र अनेक कुरा खेलाउँदै अगाडि–अगाडि हिंडिरहेको थियो भने अपरिचित व्यक्ति पछाडि–पछाडि । अपरिचित व्यक्ति के सोचिरहेको थियो, केही भन्न सकिन्न । टुकुचा पुलनिर आएपछि अञ्जलीप्रसाद उभिएर पश्चिमतिरको तरकारी बजारतिर हेर्न थाल्यो । बजार लगभग सुनसाथ थियो । अञ्जलीप्रसाद उभिए नजिकै गएर अपरिचित व्यक्ति पनि उभियो र भन्यो–
‘यहाँ त पहिला खसी बजार थियो होइन हजुर ?’
‘हो, पहिला यो खसी बजार नै हो । तर शहरको बीचमा भएर यहाँबाट हटाइयो । अहिले कलंकीमा सारिएको छ । अब आजभोलिदेखि खुल्ला हुन्छ । त्यसैले सबै खाली गरिएको होला । दशैं तिहारमा मात्र खसी बेचिन्छ यहाँ । हेर्नुभएन, दुई चार जना व्यापारीले पेटीमै खसी राखेर बसेका ? अब बढ्दै जान्छ । म खसी किन्न प्रायः यतै आउँछु । छोराहरू त छैनन्, छोरी ज्वाइँहरू आउँछन् । उनीहरूका लागि मात्र, हामी बूढाबूढीले त माछामासु खान छोडेको पनि दश वर्ष भइसक्यो । उमेर ढल्केपछि त्यति राम्रो हुँदो रहेनछ ।’ –यति भनेर अञ्जलीप्रसाद अगाडि बढ्यो ।
‘काठमाण्डु त पहिलाभन्दा फरक भएछ, ठूला ठूला घरहरू, बाटो पनि धेरै फराकिलो ।’ –अपरिचित व्यक्तिले भन्यो ।
‘गाडिहरू पनि त कति धेरै छन् हेर्नु भएन ? बाटो चौडा गरियो, व्यवस्थित गर्न सकेका छैनन् । धूलो धुवाँले दम घुट्छ । स्थीर सरकार आउन सकेको छैन, आए पनि सबैलाई कमाउन मात्र ठिक्क हुन्छ । करप्शनले देश नांगो भइसक्यो । हिजो खाली खुट्टा हिंड्ने नेताहरू आज महलमा बस्छन्, महङ्गा गाडी चढ्छन् । देश र जनताको भन्दा आफ्नै चिन्ता छ, नेताहरूलाई । त्यसैले त देशको ठूलो जनशक्ति विदेश पलायन भइरहेको छ ।’ –कुरै कुरामा चिया पसल पनि आइपुग्यो । दुबैजना कुनातिरको टेबुलमा गएर बसे ।
‘कुरै कुरामा बाटो काटियो, नढाँटीकन भनौ भने तपाईंलाई मैले साँच्चै चिन्न सकिन । तर तपाईं मलाई चिन्नु हुँदो रहेछ, खुशी लाग्यो । कृपा गरेर ……।’
अञ्जलीप्रसादको कुरा सकिन नपाउँदै अपरिचित व्यक्तिले बीचैमा सोध्यो– ‘दुई छोरा र दुई छोरी होइनन् र हजुरका ? के गर्दैछन् ?’
‘हो, दुइटै छोरा अमेरिकामा । यहाँ बसेर पो के गर्नु ? यहाँको अवस्था त तपाईले देख्नु भएकै छ । जेठो छोरा अमन इन्जिनियरिङ सकेर उता फर्दर स्टडी गर्न गएको उतै सेटल भयो । त्यसपछि कान्छो अमित पनि उतै गयो । दुबैजनाको उतै घरजम छ । जेठी छोरी अपेक्षा जापानमा छ ज्वाइँसँगै । कान्छी अप्रिताको यतै विहा भएको छ । व्यापार गर्छन् ज्वाइँले, ठूलै व्यापारी हुन्, यहाँका । यहाँ बुढाबूढी र एक दुईजना काम गर्ने मान्छे । –अञ्जलीप्रसादले भन्यो । ‘अनि तपाईंका बारेमा भन्नुस् न !’
‘हजुरले चिन्नु भएन अझै मलाई ? हामी सँगै काम गथ्र्यौं, एउटै अड्डामा ……….?’
अञ्जलीप्रसाद ठूलो सोचमा परेको जस्तो भयो । उसले आफ्नो विगत सिनेमाको फ्ल्यासब्याकजस्तै हे¥यो । तर उसले अझैं ठम्याउन सकेन । अञ्जलीप्रसाद मनमनै सोचिरहेको थियो ‘मसँगै काम गर्ने भए त उमेर पनि मजस्तै हुनुपर्ने हो । तर यो मान्छे अर्धबैंसे देखिन्छ । तर कुराहरू भने सबै हुबहु गर्छ ।’
‘के सोचिरहनुभएको हजुरले ? म को हो भन्ने द्विविधामा हुनुहुन्छ होला, हैन ? आज तपाईं यतै आउँदै हुनुहुन्छ भन्ने थाहा पाएर आएको । सानोतिनो सहयोग गर्नुहुन्छ कि भनेर ।’ –अपरिचित मान्छेले भन्यो ।
‘के सहयोग गरौं त ? भन्नुस् न । छोराछोरीको पढाइमा कतै सहयोग वा भन्सुन गरिदिनु प¥यो कि ? कि अरु नै केही सहयोग चाहिएको ?’
‘सहयोग त धेरै चाहिएको छ, तर ती सबै सहयोगका लागि अहिले नै के भनौं । तपाईंले मलाई चिन्नै सक्नु भएन ।’
‘त्यही त । स्मरण गर्ने प्रयास गरें, तर अँझै ठम्याउन सकिन । उमेरको दोष भन्छु म यसलाई ।’
‘हामीसँगै समर सिंहजी हुनुहुन्थ्यो लेखापाल, अनि अनिरुद्रजी खरिदार । झमरु चौधरी त हजुरलाई सम्झना होला । पियन क्या त ? हजुरको भान्सा अनि लौण्ड्रीको काम समेत गथ्र्यो नि ? बेलाबेलामा घरमा तयार भएको कुरा पनि टक्य्राउँथ्यो । अचेल त कार्यालय सहयोगी भन्दा रहेछन् । समर सिंहजी त पोहोर साल पारलोग सिधार्नु भएछ, हर्ट अट्याक भएर । अनिरुद्रजी सहसचिवसम्म पुगेर रिटाएर हुनु भएछ । तर उहाँ काठमाण्डू बस्दिन भनेर उतै गाउँमै बस्नुहुँदो रहेछ । छोरा बुहारी मात्र यता ।’
अपरिचित व्यक्तिको सविस्तार सुनेपछि अञ्जलीप्रसाद झन् ठूलो सोचमा प¥यो । ‘कसरी यस मान्छेलाई सबै कुरा हु–बहु थाहा भयो ? एक–एक कुरा साँचो गर्छ ।’ –सोच्दा सोच्दै उसको मुखबाट निस्क्यो– ‘अन्यथा नलिनु होला, अन्यथा भए माफ पाऊँ । मलाई तपाईंजस्तो कुनै व्यक्ति मेरो सहकर्मी भएर काम गरेजस्तो लाग्दैन । अनि म अपरिचित व्यक्तिलाई कसरी सहयोग गरुँ ?’
‘देख्नु भो ? तपाई फेरि मेरो आवरण देखेर धोका खानु भयो । खैर छोड्नुस् यो कुरा । ढुङ्गामा भएको भगवान कसले पो देखेको हुन्छ र ? तै पनि मान्छेले चढाउँछन्, भेटी भनेर ।’ –अपरिचित व्यक्तिले भन्यो ।
‘त्यो भनेको विश्वास हो, विश्वासमा मान्छेले सर्वस्व त्यागिदिन्छ ।’ –अञ्जलीप्रसादको तर्क थियो ।
‘त्यही विश्वासको त म कुरा गर्दैछु । मैले गरेको विश्वास मेरै लागि अविश्वास पनि त सिद्ध हुन सक्छ ? मन्दिरको ढुङ्गाले परलोक सुधार्ने विश्वास मान्छेमा हुन्छ भने म त ज्यूँदै तपाईंका अगाडि बसेको छु ।’ –अपरिचित व्यक्तले अञ्जलीप्रसादको विश्वास जित्न खोज्यो ।
‘ठीकै छ, आर्थिक सहयोग हो भने मेरो घर ….।’.
‘म हजुरको घरमै आउँछु । मलाई थाहा छ हजुरको घर । महाराजगञ्ज होइन निर्मल निवास पछाडिपट्टि ? –अपरिचित व्यक्तिले बीचैमा कुरा काट्दै भन्यो ।
‘होइन, त्यो त मेरो पुरानो घर हो । अहिले हामी बूढानीलकण्ठ बस्छौं । नारायणस्थान बसबाट ओर्लेर दाहिने लाग्नुभयो भने एउटा पीच बाटो आउँछ, अलि अगाडि गएर सोध्नु भयो भने जसले पनि भनिदिन्छ । बरु अहिले छुट्टिऊँ है ?’ –अञ्जलीप्रसाद आफ्नो मथिंगल झन् शिथिल बनाउन चाहन्नथ्यो । त्यसैले छुट्टिनु नै उपयुक्त ठान्यो ।
‘हुन्छ, म छिट्टै आउँछु हजुरको घरमा । तर सहयोग के कति गर्ने भन्ने कुरा सोचिरहनुहोला ।’
‘चिया पसलबाट बाहिर निस्केपछि दुबैजना आ–आफ्नो बाटो लागे । पुतलीसडकबाट आफ्नो कार पार्किङ गरेको स्थान भृकुटीमण्डप र भृकुटीमण्डपबाट बूढानीलकण्ठ पुगुञ्जेल अञ्जलीप्रसादका मनमा अरु केही कुरा देखेन । मात्र आफूलाई सहकर्मी भन्ने त्यो अपरिचित व्यक्ति । घरि त्यस अपरिचित व्यक्तिका शीरदेखि पाउसम्म र घरि आफूसँगै काम गरेका सम्पूर्ण व्यक्तिका शीरदेखि पाउसम्म हेरेर ठम्याउने कोसिश गथ्र्यो । तर अन्तिम निचोडका रुपमा एउटै प्रश्न आउँथ्यो, ‘त्यो मान्छे को हुन सक्छ ?’
घरमा पुगिसकेपछि सोफामा थकित बस्यो । एकछिनपछि बूढीले चिया ल्याएर अगाडि डेबलमा राखी दिई । अञ्जलीप्रसाद केही नबोली सिलिङतिर हेरिरह्यो ।
‘सन्चो छैन कि क्या हो ? यो उमेरमा गाडी नचलाउनुस् भन्दा मान्नु हुन्न । एउटा ड्राइभर राखे भइहाल्यो नि ।’ –बूढीले निधार छाम्दै भनी ।
‘होइन, आज एकजना मान्छेले मलाई ठूलो सोचमा डुबाइदियो । उसले आफू मसँगै काम गर्ने व्यक्ति हुँ भनेर परिचय दियो । कुरा सबै दुरुस्त ग¥यो, तर ऊ चालिसको हाराहारीको देखिन्थ्यो ।’ –अञ्जलीप्रसादले आफ्नो मन हल्का गर्दै भन्यो । ‘त्यही कुराले अहिलेसम्म मेरो मस्तिष्कमा युद्ध गरिरा’ख्या छ । जे होस्, त्यो मान्छे घरमा आउँछु भनेको छ, केही सहयोग चाहियो रे । त्यतिबेला कुरा गरौंला । हुन त कुनै कुनै मान्छे उमेरभन्दा धेरै कम र बढी पनि देखिन्छन् ।’ –अञ्जलीप्रसादले फेरि आफैलाई सान्त्वना दियो ।
अञ्जलीप्रसाद रात्री भोजन सकेर सयनकक्षमा पुग्यो । धेरै बेरसम्म आँखा नचिम्लिएरै सोचिरह्यो, आफूलाई सहकर्मी भन्ने त्यस अपरिचित व्यक्तिका बारेमा । धेरै अबेरसम्म निन्द्रा नआएपछि आँखा चिम्लेर निन्द्रा पख्र्यो, अmझै निन्द्रा लागेन । आफ्ना विगतका दिनहरू सबै नियालेर हेर्ने निधो ग¥यो र फेरि आँखा चिम्लियो ।

XXX

वर्षाको समय थियो, दुई तीन दिनदेखिको अविरल वर्षाले जताततै हिलाम्मे बनाएको थियो, तराई । रातको दश बजेको हुँदो हो, अचानक कसैले अञ्जलीप्रसादको क्वार्टरको ढोका ढोका ढकढक्यायो । केही समयपछि झमरुले ढोका खोल्यो । यति रातको समयमा सुब्बा सा’ब अचानक आएको देखेर कुनै जरुरी काम प¥यो होला भन्ने कुरा छुट्याउन झमरुलाई केही अप्ठ्यारो परेन । ‘हाकिम सा’ब भर्खर सुत्नुभा’छ, खाना खाएर । केही जरुरी काम आयो कि क्या हो सुब्बा सा’ब ?’ –झमरुले ढोकाबाट भित्र आउन संकेत गर्दै सोध्यो । भित्र आएर बत्ती बाल्यो । सुब्बा सा’बको अनुहार निन्याउरो र चिन्तित देखिन्थ्यो ।
अञ्जलीप्रसाद निदाइसकेको रहेनछ । ढोका खुलेको आवाज अनि झमरु र सुब्बा सा’बका बीचको कुरा सुनेपछि अञ्जलीप्रसाद लुङ्गी मिलाउँदै बाहिर आयो ।
‘किन यतिबेला आउनुपरेको सुब्बा सा’ब ? पानी परिरा’छ, रात धेरै भइसक्यो ।’
‘भोलिको कुरा कसले जानेको छ र हाकिम सा’ब ? भोलि केन्द्रबाट मान्छे आउने रे ! जाली तमसुक बनाएर लिएको त्यो पैसा कि सरकारी ढुकुटीमा राखिदिनुप¥यो, कि त्यही मान्छेलाई बोलाएर जे भो भैगो, हामीलई थाहा भएन, यो तपाईको पैसा लिनुस् भनेर दिनु बुद्धिमानी हुन्छ कि जस्तो लायो । खाना पनि खाएको छैन, निन्द्रा पनि लागेन र त्यसैले आएको म त । हजुरलाई आफ्नो मर्यादाप्रति आँच आउने डर छ भने मलाई भन्नुहोस्, म बैंकबाट झिकेर बुझाइदिन्छु । पीडित व्यक्तिले महाराजधिराजका स्वकीय सचिवकोमा सरकारमा बिन्ति टक्य्राइदिनुप¥यो भनेको छ रे ! नत्र भने हामी सबै फस्ने कुरा मैले झलझली देखिराख्या’छु हजुर । हजुरको के बिचार छ ?’ –सुब्बाले आफू यहाँ आनुको करण एकै सासमा बेलीबिस्तार लगायो ।
‘चिन्ता मान्नुपर्ने केही छैन । केन्द्रबाट आउनेहरूलाई पनि यसो चटाइदिएपछि पुग्छ । तपाईं निश्चिन्त भएर जानुस्, म हुँदा हुँदै तपाईंहरू किन चिन्ता मान्नु हुन्छ ?’ –अञ्जलीप्रसादले भन्यो ।
‘सबै डरले मलाई मात्र खाइरहेको छ । कतै सबैबाट म मात्र प्रयोग भएको हुँ कि जस्तो लाग्छ । सपनाजस्तै आउँछ हिंड्दा हिंड्दै र झस्याङ्ग हुन्छु आफै । बिन्ति हजुर ! यसपालि यो धेरै महङो पर्लाजस्तो छ । मैले भनेको मान्नुस् ।’ –सुब्बा धेरै डराएको थियो ।
‘त्यस्तो केही पर्दैन, सबै म मिलाइहाल्छु । यदि उस्तै प¥यो भने मेरो टाउकोमा हालिदिनु । तपाईंको बैंक खाताबाट सबै पैसा झिकेर मलाई दिइदिनुस्, त्यस्तै डर लाग्छ भने । म तपाईंहरूलाई फसाएर आफुू बच्न कदापि सक्दिन । बरु निश्चिन्त भएर जानुहोस्, रात धेरै भइसक्यो ।’
अञ्जलीप्रपादले यति भनेपछि सुब्बा निश्चिन्त भएर बाहिरियो ।
नभन्दै भोलिपल्ट निरीक्षण टोली आयो । कार्यालय साविकमा झैं चलिरहेको थियो । सबै आ–आफ्नो काममा व्यस्त थिए । कार्यालय प्रमुखको कक्ष भित्र धेरै समयसम्म चल्यो कुराकानी । त्यसपछि टोलि अञ्जलीप्रसादको कक्षबाट निस्किएर सिधै सुब्बा सा’बको कोठामा प्रवेश ग¥यो । सुब्बा काममा व्यस्त देखिन्थ्यो । ऊ हाकिमका कुराप्रति पूर्ण विश्वस्त थियो । उसले काउको उठाएर हेर्ने बेलासम्म टोलि कोठाभित्र प्रवेश गरिसकेको थियो ।
भोलिपल्ट खबर आयो, हर्कबहादुर सुब्बा सा’बले प्रहरी हिरासतमै आत्महत्या गरे भन्ने ।

XXX

अञ्जलीप्रसाद निन्द्राबाट झस्याङ्ग व्यूँझियो । जुरुक्क उठेर बस्यो र आँखा मिच्दै अगाडि हे¥यो । अगाडि त्यही अपरिचित व्यक्ति बसिरहेको थियो, ओछ्यानकै छेउमा ।
‘हो म त्यही सुब्बा हर्कबहादुर हुँ । अहिले त चिन्नु भयो ? मेरो घर खेत सबै लग्यो, त्यो काण्डले । मेरी ठूली छोरीले बीचैमा पढाइ छोडेर बिहे गरी, एक गाडीका खलासीसँग । ऊ कहाँ छ, केही थाहा छैन । छोरो घर चलाउन सकिन्छ कि भनेर मुग्लान लाग्यो । अर्की छोरी पनि गाउँमै बिहे गरेर बसेकी छ । आफ्नो परिवार भएपछि कसले पो हेर्छ र बाबुआमालाई ? तुलना गरेर हेर्नुस त तपाईं र मेरा सन्तानमा ? तपाईंका छोराहरू अमेरिकामा सुखमय जीवन बिताएर बसेका छन् । एउटा छोरी जापानमा, अर्की देशका गुनेचुनेका ब्यापारीसँग । तर मेरो………….? तपाईं र तपाईंकी पत्नी कस्तो महंगो ओछ्यानमा सुतिरहनुभएको छ, तर मेरी श्रीमती ……..? सबैलाई वर्षा शुरु भएन भनेर चिन्ता हुन्छ, मेरी श्रीमतीलाई वर्षा शुरु भयो भनेर चिन्ताले सताउँछ, किन होला ? उसले दुई छाक खान पाउँदिन, बिरामी भएपछि सिटामोल खानलाई अर्काको भाँडा माझ्नुपर्छ । छोराछोरीहरूको भविष्य डामाडोल भयो । तपाईं आफूलाई मेरो बर्बादीको जिम्मेवार ठान्नु हुन्छ कि ठान्नु हुन्न ?
अञ्जलीप्रसादका अनुहारमा आत्मग्लानीका भावहरू स्पष्ट देखिन्थे । ऊ पश्चात्तापको आगोमा पिरोलिइरहेको थियो । अचानक उसका मुखाट आवाज आयो– ‘मलाई माफ गरिदेऊ हर्कबहादुर !’
अञ्जलीप्रसादको चर्को रुग्ण आवाज सुनेपछि उसकी श्रीमती हठात् उठी । ‘के भो तपाईंलाई ?’ निधार छाम्दै फेरि भनी– ‘ज्वरो हनहन्ती आइरा’ख्या छ । नचाहिने कुराहरू मनमा खेलाएपछि चाहिने–नचाहिने सपनाहरू आउँछन् । सुत्नुस्, म फ्यामिली डाक्टर बोलाउँछु ।’
बूढी बैठक कोठातिर लागी, अञ्जलीप्रसाद पश्चात्ताप र आत्मग्लानीको तातो खरानीमा पल्टिएझैं पल्टियो ।

२२ असार, २०७०, वाफल, काठमाडौं

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.