लघुकथा : टाउको पचासलाखको

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।

खोलाको बालुवा खोस्रेर परिवार पाल्नुपर्ने उसलाई यो समाचारले उत्ति उत्साहित बनाएन । सित्तैं पाइने खोलाको बालुवासम्म लुकीलुकी चोरेर बेच्नुपर्ने देशमा कसरी यत्ति ठूलो राशि पाइने व्यवसाय ऊ जस्तो सुकुम्वासीको लागि हुनसक्थ्यो ? पेट्रोलको भाउमा केही राहत भयो रे तर उसले वास्तै गरेन किनभने ऊ पेट्रोलको उपभोक्ता थिएन । टेलीफोनको महशुलमा पनि केही राहतको व्यवस्था भयो रे त्यसमा पनि उसले कुनै वास्ता राखेन किनभने ऊ त्यसको पनि उपभोक्ता थिएन । नजीकै ठूलै नहर बन्यो रे, बिजुली पनि नजीकै टोलमा आयो रे, सडक पनि यतै आयो रे तर ती सबैमा उसलाई चासो भएन किनभने ती कुनैको पनि ऊ उपभोक्ता थिएन । त्यस्ता कुनैपनि अवसरहरूमा उसको चाख हुँदैन किनभने ऊ जस्तो निमुखाको लागि केही हुन्छ भन्ने उसलाई विश्वासै छैन । समाज र वस्तीबाटै टाढा ऊ बसेको छ खोलाको बगरमा । बस् बालुवा छ कि ऊ । आँखा छलेर खोलाबाट बालुवा चोर्न पाए उसको जीवनको सवैभन्दा ठूलो उपलब्धि भइहाल्ने । यो पचास लाख सम्मको अवसर पनि ऊ जस्तो निमुखाको लागि हुनै सक्दैन भन्दै उसले त्यो खबरलाई पनि अवज्ञा गर्žयो ।

एकै छिनमा एकहूल निमुखाहरू हातमा खुकुरी उठाउँदै यतै दौडदै आएका देखिए । ऊ आतङ्कति भयो- ‘मार्छन् कि क्या हो बजियाहरूले !’ ऊ बालुवाको डीलमा छलियो । त्यो हूल उसको छेउबाटै गयो तर त्यसले उसलाई मिचेन । हूलमा एउटाले भन्दैथ्यो- ‘शहरमा बम पड्काए रे आतङ्ककारीले तिनलाई भाग्न नपाउँदै छिनाउन पर्छ ।’

अर्कोले भन्दैथ्यो- ‘कस्सो दुइचारवटा काटेपछि एउटा न एउटा पचास लाखे नपर्ला ?

उसले सोच्यो- ‘हूलमा पसेपछि कस्सो भाग नपाइएला ? यो बालुवा बोक्ने जस्तो पुलिसको आँखी हुने जोखिमको काम गरिराख्नु पर्छ र ? काटमारको कुरो परेकोले पहुँचवालाहरूले यसमा अवश्यै प्रतिस्पर्धा गर्ने छैनन् । निमुखाहरूको लागि यत्रो अवसर आएको रहेछ, मैले मात्र किन छोड्ने ?

ऊ जुरुक्क उठ्यो र छाप्रोभित्र पसेर खुकुरी झिक्यो । उसले हावामा एकपल्ट सनसनी खुकुरी नचायो । स्वास्नीले आतङ्कपूर्ण विस्फारित आँखाले उसलाई हेरी । उसले सफाइ दियो- ‘धन्दा नमान् बुढी अव हाम्रो दिन आएछ ।’

ऊ हावामा खुकुरी नचाउँदै खुकुरी दलकै भीडमा बिलायो ।

भीड आतङ्ककारीको खोजमा शहरतिर जाँदैथ्यो । अन्यमनस्क उसकी स्वास्नीले टाढा बिलाउँदै गरेको भीडलाई हेरी । पश्चिमतिर ढल्कँदै गएको घामको टलकमा असंख्य खुकुरीहरू हावामा चमकचमक चम्किरहका थिए ।

‘अब के हुने हो ? त्यो आइमाई आतङ्कति भावले थाप्लोमा हात राख्दै उतै नियालिरही । शहरभने पचासलाखे खबरले ढुक्क थियो ।

साभार: रचना द्वैमासिक,काठमाण्डौं

(स्रोत : Nepalisahitya.webs.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.