~सुधीर छेत्री~
सबैभन्दा पहिले तिमीले
मेरो तोते भाषा खोस्यौ।
त्यसपछि खोस्यौ
उघ्रेको भाग्य,
मेरो ढुङ्गाको देवता,
हिट्टीको पानीधारा,
चिन्डेको मुन्टा,
सिमरायोको पुरानो गन्ध,
मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु,
मेरा प्रिय लेउहरू,
काउलोको रुख,
भङ्गेराहरू,
ढुङ्गे आँगन, कटुस।
सबै खोस्यौ।
मेरो आख्यानै खोस्यौ।
पहिले मसिना ठट्टाका खुद्राखुद्री रेच्की खोस्यौ।
मिठो ढुक्क र कमलो भय खोस्यौ।
कुञ्जिनी लेख्ने मेरो एकराते सिर्जनात्मक अनिद्रा खोस्यौ।
*
तीनवटा काललाई मुठा पारेर
हिलेआलीछेउ उभिएकी
मेरी बुढी बज्यै-
चकमन्नताकी दार्शनिक हुन्,
भुमरीहरूकी साम्राज्ञी हुन्।
फर्काउन सक्छौ उसको आख्यानबाट
तिमीले चोरिलगेकी नायिका ?
फेरि कथामा राख्नसक्छौ
ठिक ठिक ठाउँमा चिउँचिउँहरू,
बुन्न सक्छौ झस्याङहरू, अबुइहरू?
लिप्नसक्छौ खित्काहरू ?
मेरा बाबै,
ऊ भरिलो अनभिज्ञताका प्राज्ञ हुन्,
अभेद्य गोरेटाहरूका आविष्कारक हुन्।
सुमसुम्याउन सक्छौ ?…
उसको कुप्रिएको ढाड़मा लागेका
अनुभवको पोटिला घोगा,
मेरुदण्डले उचालिरहेको दृढताको ढोँड।
फर्काउन सक्छौ, बाबैको जिब्रोमा फेरि
स्वादिष्ट उखानग्रन्थि ?
कसले लेख्यो मेरो लोकगीतको सिरानीमा
‘स्वार्गीय’ !
कसले गाँठो पाऱ्यो मेरा हत्केलाका रेखाहरू ?
फुटायो कसले पुर्ख्यौली सिपबाट
मसिना परिश्रमका ठेलाहरू – जसबाट बुनिए अधुरोमात्र
मेरा वर्तमानका थुन्सेहरू।
झिनो बायोडाटा पक्रेर
अहिले
गालामुनि दीर्घकालीन आख्यानहीनताको सुर्ती चेपेर
म तिम्रो गाउँको फारम भर्दैछु।
प्राइभेट लिमिटेड !
लैजाऊ, मेरो बुढी औँला ।
(स्रोत : संग्रहालयलाई ‘kriisangraha@gmail.com’मा पठाईएको । )