नारी मानव जीव हुन् प्रकृतिकी झन् सृष्टिकी बीज हुन्
आद्याशक्ति अथाह सृष्टि महिमा आफैँ लिई बस्दछिन्
इच्छाले उनकै विशाल धरती झन् व्याप्त वा पूर्ण छ
नारी कोमल भावना सुख दिने यो मन्त्र सम्पूर्ण छ ।।
नारीका कति रूप कर्म दुनियाँ यो बुझ्न गाह्रो कुरा
आमाको ममता जहाँ रगतमै पाइन्छ साँचो कुरा
सारा सृष्टि जहाँ रहन्छ जगमा मातृत्वकै देन हो
नारीको यदि भूमिका नरहँदो संसार कस्तो हँुदो ! ।।
प्यारी प्रेम मुहानकी हृदयकी ती प्रेमिका बन्दछिन्
क्रोधी दानवझैँ रुखा पुरुषका संस्कार ती हर्दछिन्
नारी पुष्प सुवासझैँ पुरुषको व्यक्तित्वमा साथ छ
बास्ना भिन्न रहन्न पुष्पहरूमा अन्योन्य आभास छ ।।
माता वा गृहिणी सुता विविधता ती रूप जे हुन् सबै
गाँसिन्छन् जब विश्वमा पुरुषकै सामीप्य आपस्तमै
माया स्नेह सदाशयी तरलता चम्कन्छ आफैँ जहाँ
ती नारी मृदु भावकी पुरुषकी हुन् शक्ति भित्री यहाँ ।।
बेला भिन्न कताकता भुवनमा देखिन्छ लज्जा कतै
दासीझैँ घरमा कयौँ पुरुषले राखेर बस्छन् अझै
आफ्ना यौनिक चाहना पुरुषले विस्फोट गर्ने थलो
नारी नै उपयुक्त ठान्छ, दिनहुँ यो लाजमर्दो कुरो ।।
सत्ता हात लिई अझै पनि यहाँ नारी विरोधीहरू
आफू नै बलिया भनी नियमझैँ लुट्छन् अझै आबरू
शिक्षा वंचित विश्वमा हक दिने अस्तित्व राख्ने कुरा
नारीमा अझसम्म छैन किन हो ! यो लाज मर्दो कुरा ।।
नारी ! मौन बनी बस्यौ जति बस्यौ लौ जाग एकै बनी
आफ्नो धैर्य लिई सह्यौ जति सह्यौ लौ तौड आफैँ पनि
पाइन्नन् कति वस्तु स्वार्थहरूका दुर्भावनाभित्रका
झम्टेरै पनि छिन्न आँट नगरे लुक्छन् निजी चित्रका ।।
(शार्दूलविक्रीडित)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )