कथा : अस्वभाविक मित्र

~बिकास घिमिरे~Bikash Ghimire

उसको कुरा गर्ने शैली बौलाहारुपी भएपनि तार्किक कुरा मात्रै गर्दथ्यो। बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन उ। धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव। कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता भएको उ। उसका विचारहरु कुनै पनि कोणबाट असान्दर्भिक हुदैन थिए तर पनि उ यस समाजको तिरस्कृत पात्र नै रह्यो मैले देखेसम्म। मान्छे उसलाई घृणा गर्दथे। शायद उसको पहिरन अस्वभाविक किसिमको भएर होला या त उसको शरीरबाट एकदमै नराम्रो गन्ध आउँथ्यो।
आज उसका धमिला, मैला पहिरन अनि तिरस्कृत मानिने अनुहार स्मरणका प्रिय विषय बनेका छन् मेरो निम्ति। ज्यादै एक्लोपनको आभाष गराएको छ उसको अभावले। उसको पुनरागमनको असफल कामना गर्दैछु। उसले उसको फोहोर हातले लेखेर दिएका जीवनदर्शनरुपी लेखहरु बारम्बार पढ्दैछु।
आजभन्दा करिब डेढ वर्षअघि एउटा चिया पसलमा देखेको थिए उसलाई। धेरै घीन लागेको थियो उसको म तर्फ टास्सिएर बस्ने प्रयास। माग्ने ठानेर पाँच रुपैया हातनेर फालेको थिए पर जाउ भन्दै। उसको प्रतिक्रिया देखेर अवाक् भए त्यसबेला।
“दिनभरी गरेको श्रमको पैसाले चिया किनेर खा न। किन मलाई दिन्छस्? अलि उता जा।”
उ पनि खाजा अथवा चिया खानको लागि आएको रहेछ। हेर्दा भीखारी झै लागेको थियो। पछि आत्मग्लानी भयो। उसको शरीरबाट पसिनाको दुर्गन्ध आइरहेथ्यो। मलाई साह्रै असह्य भयो। तापनी सहेर बसिरहे। उ छेउमा थियो। निस्किनको लागि उसलाई उठाउनु जरुरी थियो त्यसैले विकल्प अरु देखिन। गोजिबाट उसले पट्याएर राखेको पत्रिका निकाल्यो। चिया पिउदै पत्रिका पल्टाउन थाल्यो। सोझै विचारपृष्ठमा घोरिन थाल्यो। उसको गतिविधि हेरिरहे। बडो एकाग्र भएर सम्पादकिय, विचार, लेखहरु पढ्दै थियो। ठ्याक्कै मेरो झै रुची। अरु समाचारहरु शीर्षकमात्र सरसर्ती हेर्दै मुख बिगार्दै थियो। मलाई उसको क्रियाकलाप मन पर्यो। पत्रिका पढ्ने शैली, अखबारका विषय अनि पृष्ठ छनौट मेरो जस्तै रहेछ। उ सँग चिनाजानी गर्ने इच्छा जाग्यो। अघिसम्म उसका शरीरबाट निस्केका दुर्गन्ध अहिले महशुस भएन। उसका हेर्दै टिठलाग्दो पहिरनप्रति कुनै वितृष्णा रहेन। शायद मान्छेको स्वभाव यस्तै हुन्छ। आफ्नो चाह रहेको चिजको नकरात्मकताले कुनै असर नपार्ने। त्यसका राम्रा पक्ष मात्र औल्याउँछौ हामी।
“तपाईको नाम के होला, जान्न सक्छु?” मैले नम्र भावमा सोधे।
“नाम र पहिचान जानेर के गर्छस्? आफ्नो कामँग वास्ता राख।बेकारको सम्बन्ध बढाउनुको कुनै अर्थ छैन।”
उसको कठोर जवाफ सुनेर साह्रै रिस उठ्यो। यस्ता बौलाहासँग शत्रुता बढाएर पनि के फाईदा भनेर चुप लागे त्यसक्षण। “के म निस्किन सक्छु, महाशय?” आफुभित्र उम्लिरहेको क्रोध दबाउने प्रयास गर्दै भने। शालीन मुस्कान फर्काएर उसले बाटो छोड्यो। कस्तो विचित्रको मान्छे रहेछ। यस्ताको बारेमा दिमाग खेलाएर मस्तिष्क थकाउनु उचित लागेन। आफ्नो डेरातिर लागे।
दुई­-तीन दिन त्यस चिया पसल नपसी सिधै कोठा आउने गरे। चौथौ दिन साह्रै चियाको तलतल लागेर अफिसबाट फर्किदा छिरे सोहि पसलमा। टेबलमा बसेको मात्र के थिए, त्यहि विचित्रको मान्छे छिर्यो। छेउको टेबलमा बसिरहेको एउटा भर्खरको केटो बोल्यो “साहुनी, एउटा अर्को पनि चिया बनाउनुस त त्यो माग्नेको लागि।” केटाले चुरोटको धुवा अस्वभाविक तरिकाले उडाउदै शानका साथ भन्दै थियो। त्यो मान्छे सरासर उ भए छेउ आइपुग्यो। “साले तँ जस्तो फटाहाले चिया खुवाउँछ कि भनेर यहाँ ढुक्न आको’ जस्तो लाग्छ? बाउको पसिना चुसेर ल्याएको पैसाको चिया खान्छु म? आफै कर्म गर्छु। आफ्नो लागि आफै बाच्छु। तिमीहरु जस्तो बाउ­-आमाको रगत सोस्ने मान्छे होइन म।” उ साह्रै क्रोधित देखिन्थ्यो त्यसबखत। उसका विचार, बोली फेरी पनि प्रिय लाग्यो।
आज पनि अलि पर जा भन्दै म सँगै बस्न आयो। फेरी उही शैली। उ पत्रिका हेर्दै थियो। म उसलाई नै नियाल्न लागे। साच्चै उ माग्ने पक्कै होइन। उ कतै ग्रील कारखानामा काम गर्छ भनि अनुमान गरे। हो, मेरो अड्कल सहि थियो। उसका कपडामा फलामका खिया र ‘वेल्डिङ’ गर्दा परेका छिद्राहरु प्रशस्त थिए।
“यो अन्तर्वार्ता पढिस् तैले?” उ मलाई सोध्दै थियो। म झसङ्ग भए। मैले मित्रता गाँस्न खोज्दा झपार्ने मान्छेले आज यसरी म सँग कुरा गर्ला भन्ने मैले सोचेको थिइन।
“मैले घुस खाएकै छैन रे। नैतिकता हराएपछि जे बोलेपनि हुने रहेछ आजका मान्छेले। देशको जिम्मेवार मानिस यसरी गिरेपछि राष्ट्रको गति कस्तो हुन्छ? सम्पूर्ण प्रमाणका साथ पर्दाफास भईसक्दा पनि कुनै हिनताबोध छैन साले कुकुरलाई। सारा सम्पत्ति, विदेशी बैंकको खातामा राखिएको नगद, ठाँउ­-ठाँउमा भएको जग्गा, तीनवटा महल सबै पुर्ख्यौली धन रे। यसका पुर्खा कुन विकट ठाँउमा दश नङ्ग्रा खियाउँथे होलान्। मिथ्या धनले पुर्न खोज्छ मरिसकेका हरुलाई। विलिन आत्माहरुलाई। आत्मग्लानी पटक्कै छैन। यसका सन्तानले कस्तो शिक्षा लिने अपराधी बाबुबाट? यस्तै विकृति, विसङ्गतिले असमानता र विभाजन जन्मन्छ। परिणाम के त? द्वन्द चर्कन्छ बुझिस ‘कन्फ्लिक्ट’। देश टुक्राउँछन् यिनीहरुले हेर्दै जा।” उसका यथार्थपरक कुराले म भावुक हुन पुगे। उसका वचन सम्मानयोग्य लाग्यो। बाहिरबाट फोहोर देखिएपनि उ एक स्वच्छ मानव थियो। अरुद्वारा अस्विकृत भएपनि मेरो अन्तरमनले उसलाई सम्मानित पात्रको रुपमा लियो।
त्यसपछिका साझहरुमा हाम्रो भेट हुने गर्न थाल्यो चिया पसलमा। नियमितरुपमा हामी साझ ६ बजे त्यही भेट्थ्यौ। चियाको पैसा सधै आफ्नो आफैले तिर्नुपर्ने नियम राखेको थियो उसले। न मेरो तर्फबाट कुनैदिन चिया खुवाए न त उसले नै आग्रह गर्यो। हामी देशको राजनैतिक स्थिति, सामाजिक परिवर्तनप्रति विचार विमर्श गर्थ्यौ। उसका तर्कहरु समयसान्दर्भिक हुन्थे। उसलाई म मित्र भनि बोलाउथे। उसले आफ्नो नाम भनेको थिएन। आजसम्म पनि उसको नाम मलाई थाहा छैन। उ कहिल्यै आफ्नो जीवनको बारेमा भन्दैनथियो। तर म सधै उत्सुक रहे उसको बारेमा जान्न। एकदिन साह्रै जिद्धि गरेपछि उसले मेरो अनुरोध स्विकार्यो। भन्यो “तँ मलाई ठिक लाग्छ। मेरो बारेमा जान्नु म आवश्यक देख्दिन। म कुनै प्रसिद्धि कमाएको प्रतिष्ठित मान्छे त होइन। तैले लहड गरिस र मात्रै। नत्र मलाई आफ्नो जीवनमा घटित व्यथाहरु सुनाउदै हिड्ने रहर छैन।”
“मेरो जन्म सुर्खेतमा भएको हो। परिवारको मायाले सुखमा हुर्किए। पढ्नमा जेहेन्दार थिए। एस.एल.सी. पास गरेपश्चात काठमाडौँ पढ्न आए। सरकारी क्याम्पसमा परिवारले पठाइदिने पैसाले पढ्दै गरे राम्रैसँग। अलिपछि आफैपनि सानोतिनो काम गर्न थाले। समाजशास्त्र तथा मानवशास्त्रमा डिग्री गरेको छु। पढाइ सकेर गैर सरकारी संस्थामा जागिर खान थाले। कमाइ राम्रो थियो अनि जीवन राम्रै सँग चलेको थियो। अचानक एकदिन गाउँमा पहिरो गयो। त्यसमा मेरो घर­-परिवार सबै सिध्धिए। धेरै दु:ख लाग्यो। दुखी हुनु शिवाय अरु केही गर्न सकिएन। एउटीसँग तीन वर्षपछि बिहे भयो। प्रेम विवाह भनौ। त्यसले पनि छाडेर गई। बहुला जस्तो भएर हिड्न थाले। जागिर पनि छाडिदिए। रक्सी खाएर लडि हिड्न सुरु गरे। स्मृतीपटमा त्यो पहिरो अनि पोइल गएकी स्वास्नीको झल्को आइरहन्थ्यो। शायद सहनशीलता विकराल रहेछ ममा। बिस्तारै सम्हालिदै गए। भक्तराज आचार्यको गीत सुन्थे­-
‘हजार सपनाहरुको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरी भएर आउँछ’
साच्चै सपना त हजारौ हुन्छन्। एकदुई सपना तुहिदैमा जिजिविशा लत्याउने कुरा त भएन। एकाध सपना हराएपनि बाकी तमाम सपनाहरुको मायाले बाच्ने रहर जाग्दोरहेछ बुझिस्। आज हेर् मलाई। जीवन बाचिरहेकै छु। खुशी छु आफैसँग। पसिना बगाउँछु, दुई छाक मेहेनतले खान्छु। आङ नाङ्गो राखेको छैन। यति हो मेरो जीवन, ल म गए। त पनि जा।” यति भनेर मित्र हिड्यो।
मलाई धेरै दु:ख लाग्यो उसलाई नियतीले गरेको प्रहार सुनेर। उसका विचार सम्झदै शान्त हुने कोसिस गरे। उ खुशी छ त मैले उ प्रति दयावान विचार पालेर शोक लिएर के अर्थ रहन्छ? म जस्तै बाच्नका लागि उ पनि संघर्ष गर्छ। फरक यति हो उ म भन्दा कडा परिश्रम गर्छ। सुकिलो कपडा लगाउदैन। उसको पसिना गन्हाउँछ। त्यहि पसिनाले गर्दा हातमुख जोड्छ भने किन घृणा गर्छन् मान्छेहरु। उसलाई त्यस्ता घृणा र तिरस्कार भरिएका नजरप्रति कुनै वास्ता छैन। कति निश्छल छ मित्रको मन। लाग्छ, कुनै किसिमको जटिलता नरहेको शान्त जीवन। खोक्रो आडम्बर अँगाल्दै धाक लगाउँदै असत् जीवन बाचेर आफैलाई ढाटेर हिड्छन आजका मान्छे। उ ठीक विपरित बाचिदिन्छ।
कोठाछेउकी डेरावालसँग नजर जुध्थ्यो कहिलेकाही। एकदिन ठाडै प्रेमपत्र थमाएर थमाएर भागी। मलाई मन पराउँदी रहिछ। राम्री त मलाई पनि लाग्थ्यो पहिले देखि नै। तापनि त्यस्ता संवेगहरु सल्बलाएनन्। न त कुनै मोह नै थियो उसको सुन्दरताको। पत्र सरसर्ती पढे। केही गम्भीरझै भए। निर्णय केही लिन सकिन। बेलुका मित्रसँग सल्लाह गरे। सुझावको अपेक्षा राखेको थिए। उ खित्का छाडेर हास्यो पहेलो दात देखाउदै। व्यर्थै भनेछु यसलाई जस्तो लाग्यो एकक्षण।
“अनि त्यो केटीप्रतिको धारणा के छ? त्यो केटीको बारेमा के जान्दछस्?” मित्रले मलाई पो प्रश्न गर्यो।
“हेर्दामा केटी राम्री छे। रुपवान छे। हिड्ने शैली भुतुक्कै पार्ने खालको छ। तर हिजोसम्म कुनै भाव थिएन उ प्रति। देखेर पनि नचिने झै लाग्थ्यो। आज ख्याल भयो मनका कुरा।” आफ्नो त्यो केटीप्रतिको हेराई उसलाई भनिदिए।
“तँ भित्र वासना शिवाय केही रहेनछ त्यो केटीप्रति। तैले प्रेम गर्न सक्दैनस त्यसलाई, खाली भोग्न सक्छस्। सुन्दर छे भन्छस्। कुरुप भएकी भए तैले यो पत्र पहिल्यै च्यात्ने थिइस। मलाई अवगत गराउने थिइनस। तेरो यो चञ्चलता देख्ने थिइन मैले। तँ भित्र एउटा पशु अझै जीवित रहेछ।” उसले कुराले नै मेरो एउटा विकार निकालिदियो। एकतमास रुपले भयको आभाष भयो। साच्चै खराब नियतको त म पनि रहेछु। त्यो केटी भर्खरकी। पढ्दै गरेकी। मानसिक उथलपुथल अनि झिनो आकर्षणले प्रताडित। म त्यो उमेर पार गरिसकेको मान्छे। तर पनि आफै भास्सिने सुरमा थिए। आफैदेखि घृणा लाग्यो एक हिसाबले।
सो केटीलाई त्यस्तो केही जवाफ दिइन। अझ भनौ उसको अगाडि नै परिन कति दिनसम्म। पछि एक­-दुई फेर झुक्किएर जम्काभेट भयो। उसले कुनै प्रतिक्रिया जनाइन। मित्रले भने झै क्षणिक आकर्षण शिवाय केही रहेनछ। उ पूर्णतया सामान्य थिई। न कुनै अस्विकृतिको पीडा न त प्रत्युत्तरको अपेक्षा। मित्र यस्तै कारणले मेरो प्रिय पात्र थियो। जीवनका हरेक भोगाई उ बुझ्न सक्थ्यो। परिस्थितिसँग जुध्न उ सक्षम थियो।
त्यसपछि कोही केटीप्रति अनावश्यक मोह जागेन। सम्मानित हिस्सा हुन् नारी, यस जगतको भन्ने बुझे। नारीको महत्त्व के कति रहन्छ एउटा पुरुषको जीवनमा, ती सब­- सब कुराहरु मित्रबाट बुझ्ने अवसर पाए। यसको मतलव जीवनर ब्रह्मचारी भएर बस्नु होइन। बस्, नारीको इज्जत गर्न, अनावश्यक तृष्णा नपाल्न जाने। कुन चाहि पुरुष असामान्य अवस्था बाहेकको स्थितिमा नारी बेगर रहन सक्छ र? त्यसैले आफ्नै अफिसकी सहपाठीसँग प्रेम गरे। उ योग्य थिइ। उमेरले योग्य अनि जीवन बाच्न सक्ने साहस भएकी। उ पनि कमाउथी, मेरो भरमा बाच्ने परनिर्भर हुन चाहन्नथी। सम्पूर्ण गुण प्रिय लागेर बिहे गरे।
बिहेमा निम्त्याइएका सबै आए तर मेरो विशेष प्रतिक्षित मित्र आएन। आउदै आएन। धेरै कुरा जितेको भानमा थिए म। उसको अनागमनले आफूलाई रित्तो महशुस गरे। आश सँगालिरहे तर आशा निराशामै मिसिन तत्पर रहे। दबिएका आशा डेढ वर्षसम्म संचित राखेको छु आजसम्म। धेरै कुराहरु परिवर्तनतर्फ अग्रसर भएपनि ती आशाहरु विलिन हुन चाहेनन्। सामाजिक रुपमा वा दृश्यात्मक हिसाबले उच्च सफलता हासिल नगरेपनि परोक्ष रुपमा पाएको सुक्ष्म सफलताहरुमा सन्तुष्ट हुन सिकेको थिए मित्रबाट। त्यसैले त म जीवनप्रति एकदमै सन्तुष्ट हुन सके। जीवनप्रति केही गुनासो रहेको छैन। मात्र एउटा चाहनाको जागरण भइरहन्छ बेलाबेलामा। तब आशाहरु विलिनताको घेरा तोडेर म सामू यावत प्रश्न बनि तेर्सिन्छन्। यसरी मित्रको सम्झनामा उसका चिनोरुपी लिपीहरु पढ्ने गर्छु। उसलाई देख्न, हेर्न तीव्र इच्छा जाग्छ। उसका तस्विरसम्म हेरेर पनि धोको पुर्याउन सक्दिन। उसले कुनै दिन तस्विर खिचेन। मैले पनि कुनै दिन एउटा फोटो लिउ भनि आग्रह गरे।
त्यो परिचयस्थल अर्थात चिया पसल दिनको दुई पटकसम्म धाउथे। डेढ वर्षसम्म उ त्यहाँ मलाई भेट्न नभएपनि चियाको निम्ति पनि आएन। सोधखोज गर्ने कोसिस गरिन। उपेक्षित थियो उ अरुको निम्ति। एकदम घृणित। आफै धाउथे चिया पसल। एकदिन साह्रै गाह्रो मान्दै साहुनीलाई उसको बारेमा केही थाहा छ कि भनेर सोधे। कुनै त्यस्तो उत्तर पाउन सकिन, जसले मेरो व्यग्र आशाले फल पाउन सक्थ्यो। उसलाई देख्ने, भेट्ने कुनै उपायहरु बाकी थिएन। छैन। तापनी आजसम्म चियापसल बिहान बेलुका धाउन भने छाडेको छैन।

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.