छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी
प्यारी यस्ती हृदय तलकी प्राणझैँ कल्पनाकी
चिन्ता मेरो झटपट सबै जादुझैँ दूर गर्छिन्
नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।।
हेर्दा हेर्दै सुजन सुखकी मूल भै उम्रिइन्छिन्
नौरंगीका छविसित उनै रूपमा मस्किइन्छिन्
खानी नै हुन् सुहृद सुखकी स्नेहकी स्निग्ध धारा
छर्छिन् बास्ना घरभरि सधैँ दिव्य लावण्य सारा ।।
पैलो माया सरस मनले पोखियो सिर्जनामा
वासन्तीका मधुर रसले पूर्णताको दिशामा
मानौँ सारा सरस मनकी स्नेहकी पुंज बन्दै
हाँस्दै खेल्दै शिशु सरह नै बस्दछिन् छोरी भन्दै ।।
शोभा मेरी भवन सुखकी मात्र हैनन् यी छोरी
नाता जोड्ने प्रणय रसकी स्रोत हैनन् यी छोरी
झर्ना हैनन् अगम गिरिकी शीत हैनन् नदी नै
यी हुन् मेरी अमर वयकी मात्र छोरी परी नै ।।
नाता मेरो भुवन तलमा छोरी नै जे रहे नै
छाया यस्तो नवनव कला देख्छु सारा भएझैँ
आभा यस्ती तरल मनसा भाव मातृत्व देख्छु
छोरी हैनन् सुख सयलकी सृष्टिकी मूल देख्छु ।।
लक्ष्मी हुन् रे सुयश कुलकी दीपझैँ चम्किइन्छिन्
हाँसो शोभा पुलकित अहो धप्प भै फक्रिइन्छिन्
को होला त्यो मृदुमुख हँुदा हाँस्न सक्दै नसक्ने
हाँसी हाँसी सब कलह नै ढाक्न सक्दै नसक्ने ।।
सक्छिन् पक्कै अवनि तलको रातको शून्य हर्न
नौलो आभा भुवनभरिमा प्रेमले सृष्टि भर्न
दुष्टात्माका कुमन सपना प्रेमबाटै पगाल्न
सक्छिन् पक्कै मनुज सुखको मूल खोजी निकाल्न ।।
(मन्दाक्रान्ता)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )