कथा : राजधानी सडक

~रमेश गिरी ‘आशा’~Ramesh Giri Asha

‘पिर्के तँलाई भोक लाग्या छैन ?’
पिर्केले टाउको हल्लायो । उसलाई भोक लागेको थियो ।
हर्केले भन्यो– ‘हेर पिर्के, भा’ पैसा सिद्धिगो आजलाई यस्तै दुःख सुख बिताउँ, भोलि त्यो दाह्रीवाला ड्राइभरलाई भनेर खलासी तीर जानुपर्छ बुझिस् ।’
‘को दाह्रिवाला ड्राइभर ?’ पिर्के बोल्यो ।
‘त्यै हाम्रो गाउँनिरका गोपी साउँ क्या ।’ हर्केले उत्तर दियो ।

हातखुट्टा जोडेर मुटुबाट भएभरको रगत फाल्दा पनि शरीर नतात्ने पुस, माघको जाडो चारैतिर व्याप्त छ, गरिबीको व्यग्रताबाट पिल्सिएर जीविकोपार्जनको निम्ति भौतारिँदै काठमाडौं आएका हर्के र पिर्के असमञ्जसमा पर्छन् । था छैन वरदान हो कि अभिशाप, दिनभरि काममा लादिएर पनि उनीहरूको निम्ति यतिखेर गाँस बासको बेठेगान बनेको छ राजधानीको नयाँ सडक जहाँ बासको लागि सडकका पेटी समेत असुरक्षित हुन्छन् । अहिले उनीहरू त्यहीं आइपुगेका छन् ।

राजधानीको सडक मनौं मानवीय अस्तित्वको मूल्य नभएको एउटा मरुभूमि हो, जहाँ हजारौं यस्ता बालबालिकाहरूको स्थिति जति दर्दनाक र कारुणिक छ । लाग्छ त्योभन्दा पनि पीडादायी स्थिति सम्भवत अर्को हुँदैन पनि ।
एक महिना पहिले नै पिर्केले रुँदै भनेको थियो, ‘हर्के, अब हामी गाउँमै चल्नुपर्छ । रातदिन यतिका भाडा माझेर पनि बासी भातदेखि अरु केही पाउने हैन, तँ भन्न ।’ तर हर्के अलि जिद्दिवाल थियो– ‘भगवानको बोली हो र तँलाई भन्ने बित्तिकै, रिझाउनुपर्छ, मालिकलाई पाइहालिन्छ नि’ प्राय ऊ यही कुरा दोहोर्‌थ्यो ।

उनीहरू दुवै एकै गाउँका थिए र एकै ठाउँका पनि प्रसंगवश यदि कसैले उनीहरूको परिचय माग्ने हिम्मत ग¥यो भने उनीहरू निर्धक्क भन्ने गर्थे– ‘हजुर हाम्रो घर सर्लाही जिल्लामा पर्छ, म हर्के अनि यो पिर्के, हामी दुवैको बाआमा कोही छैनन्, भा’को सप्पै कुरा परार साल त्यै निष्ठुरी बाढीले बगायो अनि त …..’ भन्दै मुखामुख गर्थे, हुनसक्छ यसोभन्दा उनीहरूमा एकप्रकारको आशा र उत्साहको मिश्रित भावुकता ह्दयभरि छचल्किएको हुन्थ्यो ।

अनि त्यो भन्दा पनि बढी केही हुन्थ्यो भने त्यो दुखान्त क्षण सम्झेर उनीहरूको मन भक्कानो फुटेर रुन्थ्यो । यसरी भन्नैपर्दा उनीहरूको स्थिति जे थियो त्यो अत्यन्त दयनीय थियो, ह्दयविदारक थियो ।
शनिबार बिहानको समय थियो, अन्धकारको साम्राज्यभित्र हुर्किरहेको त्यो कालो निस्तब्धता अझै टड्कारो देखिन्थ्यो । बिहानीको सिरेटोसंगै ती आवाजहरू कल्र्याङमल्र्याङ गर्दै चारैतिर गुञ्जयमान थियो । भौतिकताको सम्पन्नताभित्र कैद भएकाहरूलाई हेर्ने हो भने स्पष्ट छ, त्यतिखेर त्यो राजधानीको सडक भन्नु तिनै टुहुराहरूको विर्ता हो तर यो नसोचियोस् कि भविष्य समेतको जीवन धान्ने सम्पूर्ण आधार राजधानीको सडक नै हो भनेर ।

सदाझैं त्यो बिहान पनि कठ्याङ्ग्रिने जाडोको मादकतालाई निचोरेर बिहानीको उद्घोष गर्न सडकका साधनहरू भयातुर थिए अनि आफ्ना आवाजहरूले सुनसान वातावरणलाई चुनौती दिन भरमग्दुर प्रयास गर्दै थिए ।
यति नै बेला एउटा १०–१२ वर्षे केटो हातभरि अखबारको पोको लिएर– आजको ताजा खबर, आजको ताजा खबर’ भनी कराउँदैथ्यो । कतै त्यस्तै साना केटाहरू टेम्पु र गाडीको ढोकामा बसेर ‘रत्नपार्क रत्नपार्क, धुलिखेल धुलिखेल’ भनी कराएको सुनिन्थ्यो । संयोगको कुरो यी सम्पूर्ण स्वरहरूको गुञ्जाहटले हर्के र पिर्केलाई समेत एकाबिहानै उठाउन बाध्य पार्‌यो ।

‘साला बिहानको जाडोले भन्दा बेलुकाको जाडोले मुटु नै हल्लाउँदोरहेछ हगी पिर्के’ उठ्ने बित्तिकै हर्के बोल्यो ‘हो भन्या, रातिसम्म त भोक र जाडोले कस्तो भा थियो पछि त निद्रा आको पनि थाहै भएन’ पिर्के भन्यो ।
‘अब लाग्नु नि पर्छ, बुझिस् पिर्के’ हर्केले सुर ग¥यो, ‘लाग्ने भने नि लागौं आफूलाई भोकले ढुंगा चपाउँ कि माटो चपाउँ भइसक्यो ।’ पिर्केले दुखेसो सहित समर्थन गर्‌यो ।
विगतदेखि यी दुवैजना दुख सुखमा एकअर्काका परम् साथी थिए । जहाँ जान्थे संगसंगै जान्थे, जे खान्थे, बाँडीचुँडी खान्थे, जहाँ सुत्थे, एकै ठाउँ सुत्थे । कलकलाउँदो उमेरमै परिस्थितिको जञ्जिरभित्र बाँधिएका हर्के र पिर्के जन्मेदेखि नै दरिद्रताको पर्याय थियो ।

सम्पत्तिको नाउँमा रहेको प्लाष्टिकभित्रका थोत्रा कपडा काखीमा च्याप्दै दुवैजना सरासरी बाटो लागे । हुस्सुको ज्यादति क्षीण हुँदै थियो । सम्पूर्ण आकाश मौनतामा रोइरहेको थियो तर पढ्ने, हाँस्ने, खेल्ने उमेरमा बा–आमाको माया ममताबाट वञ्चित भएका ती असहायहरूलाई देखेर अँ हँ कहिल्यै कोही रोएन, न त रोयो रित्तो पेट र रित्तो शरीरमा बालश्रम लुटिरहेको त्यो निर्दयी राजधानी सडक त्यो मरुभूमि सडक ।

Feb 28, 2015

(स्रोत : Unn.com.np )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.