केही पाउन जीवनमा, मैले धेरै गुमाएँछु
जिन्दगीको जोडघटाउमा, थोरै कमाएँछु
बेहिसाब चल्यो जिन्दगी, हिसाब गरिन
हिसाब गर्दा घाटा, मैले धेरै कमाएँछु
जीवनको टाँगा तान्दा तान्दै, अरुकै लागि
प्रवासको वासमा बाटा, मैले धेरै विराएँछु
दिन ढले,रात ढले, कयौ वर्ष त्यसै ढले
यौवनका ती गाढा रंगहरु, धेरै सुकाएँछु
उदास- उराठ, निरास दिन, नजोडे पनि
छट्पटीका ती रातका साथ, धेरै बिताएँछु
एकबारको जिन्दगी यो, बन्धकी बनाएँछु
जिन्दगी बिनाको जिन्दगी, धेरै बिताएँछु ।
साधरणतया गजल विधा अति मन पर्ने र प्रायशः पढ्ने गर्छु, तर मन परे पनि आफैले भने लेखेको थिइन। यो मेरो पहिलो गजल हो लेखनयात्रामा ।
गजलका सामान्य निमय र सिद्धान्तभित्र बस्ने र बाँधिने प्रयत्न गरेको छु , तै पनि यो सिकारू गजल लेखनमा त्रुटि पक्कै हुन सक्छ, औल्याइ दिनु हुनेछ, त्यसका लागि आभारी हुने छु ।
2010-06-18
(स्रोत : नेपाली गजल गुगल ग्रुप )