~सुरेश प्रसाद अर्याल “कान्छो”~
बजुले पटक-पटक त्यो खुटि तिर हेरिन् तर खुटि खाली थियो।आँखालाई पटुकीको टुप्पोले पोछेर फेरि ठम्याउने प्रयास गरिन तर खुटि वास्तवमै खाली थियो।
“कता फालीस् त नाती केटा त्यो प्वाल परेको चाल्नो?”
उन्ले आगनमा खेल्दै गरेको नातीलाई सोधिन।
“बाबाले देशीलाई दिनु भयो।सप्पै बेची दिनु भयो थोत्रा जति,यतिका पैशामा…।”
नातीले सके जति हात फैलाएर देखाउने प्रयास गर्दै भन्यो।
साँझ सबै जाहान जम्मा भए।बजु खामोश रहिन्।बुहारीले पटक-पटक बोलाउदा नि बोलिनन्।
“जाबो प्वाल परेको चाल्नो त हो मैले बेचेको!गैरी खेत बेचे झै गरीन गाँठे।”
छोरोले प्वाक्क भन्यो।
“जेठाले ल्या’को हो त्यो,पहिलो छुट्टीमा।व्यापारी…हिजो तेरो बा ले मेरो जेठोलाई बेच्यो,लाउरेको खुन हो भन्दै।त नि के कम…आज दाईको चिनो बेचिस्,थोत्रो भन्दै…!!”
बजु भक्कानीदै ढल्छिन्।
“आमा…..”
छोरोको चित्कार विस्तारै बजुको कानमा हराउदै जान्छ…।
(गुल्मी)
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )